१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

पुनःर्निर्माण ढिलाइप्रति बेलायतमा गहिरो चिन्ता

लण्डन– बेलायतस्थित व्यवसायी, बुद्धिजीवी तथा गैरआवासीय नेपाली संघका वरिष्ठ पदाधिकारीहरुले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। स्थानीय तहमा लामो समयदेखि जननिर्वाचित निकाय नभएका कारण पुनःर्निर्माण काममा गम्भीर असर परिरहेको भन्दै उनीहरुले भूकम्पबाट अत्यधिक प्रभावित जिल्लाहरुमा जतिसक्दो चाँडो स्थानीय निर्वाचन गराउन आह्वान गरेका छन्।

सहभागीहरुले विश्वभर छरिएका गैर आवासीय नेपालीहरुको सीप, पूँजी र दक्षता भूकम्प पछिको पुनःर्निर्माणको काममा लगाउन एउटा संस्थागत संयन्त्र बनाउन नेपाल सरकार र नेपाल राष्ट्रिय प्राधिकरणलाई आह्वान गरे।

भूकम्प गएको १५ महिनापछि पनि भूकम्प पीडितहरुको आवास निर्माण लगायत पुनःर्निर्माणको काममा भैरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै पुनःर्निर्माणका लागि बृहत् राष्ट्रिय सहमति कायम गर्न आह्वान गरे।

नेपाल ब्रिटेन डटकमको ९ औं वार्षिकोत्सवको अवसरमा आइतबार लण्डनमा आयोजित एक भेलाले सात बुँदे लण्डन घोषणापत्र जारी गर्दै त्यस्तो आह्वान गरेको हो। 

घोषणापत्रमा कार्यक्रमको पहिलो सत्रमा ‘नेपालमा भूकम्प पछिको पुनर्निर्माणका चुनौती र अवसरहरु’ विषयक कार्यशाला गोष्ठीमा भूकम्प पछिको वैदेशिक सहयोगको स्थिति, भूकम्पका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको असर तथा सुरक्षित पूर्वाधार निर्माणबारे चारवटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। 

सोसाइटी अफ नेप्लीज हाइलीस्किल्ड पर्सन्स युकेले कार्यपत्रहरुको संयोजन गरेको थियो भने गैरआवासीय नेपाली संघका पूर्व प्रवक्ता डा. हेमराज शर्माले ‘मडरेटर’ को भूमिका निर्वाह गरेका थिए। कार्यशाला गोष्ठीमा भूकम्पपछि नेपालको शिक्षा क्षेत्रमा परेको प्रभावबारे डा.तेजेन्द्र फेरारीले आफ्नो कार्यपत्र पेश गरे।

उनको कार्यपत्रमाथि हरिस ज्ञवालीले टिप्पणी गरेका थिए। सो कार्यपत्रमा इन्जिनियर श्याम थापा, रामकृष्ण सिटौलाले आआफ्नो धारणा राखेका थिए। यस्तै रिकन्ट्रक्सन अफ ड्यामेज स्टक्चरसम्बन्धी कार्यपत्र लेखनाथ खरेल र रामकृष्ण अधिकारीले प्रस्तुत गरे। भूकम्पपछि नेपालको स्वाथ्य क्षेत्रको प्रभावका सम्बन्धमा डा. एन्जल मगरको कार्यपत्रमाथि डा. कपिल रिजालले आफ्नो धारण राखे। सोही कार्यशालामा कम्प्लेश अफ इन्टरनेश्नल एण्ड च्यारिटेवल एड टु सपोट रिबिल्डिङ सम्बन्धी कार्यपत्र डा. कृष्ण उपाध्याय र डा. कृष्ण अधिकारीले प्रस्तुत गरे । 

सो कार्यक्रममा पुनःर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले काठमाडौंबाट भिडियो लिङ्कमार्फत सहभागीहरुका प्रश्नहरुको जवाफ दिए। उनले पुनर्निर्माणको काम दोस्रो चराणमा प्रवेश गरेको बताउँदै प्राधिकारणले अढाइलाख भन्दा बढी घरधनीहरुसँग सम्झौता गरिसकेको जानकारी दिए। ज्ञवालीले ५ बर्षको पुनःर्निर्माणको रोडम्याप अघि सारिएको उल्लेख गर्दै रोजगारका लागि बिदेश गएका नेपालीहरुलाई स्वोदेश फर्केर पुनःर्निर्माणमा योगदान दिन आह्वान गरे। एक प्रश्नको जवाफ उनले सरकार परिवर्तन भए पनि प्राधिकरणको काममा कुनै असार नपर्ने बिश्वास लिएको बताए ।

सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीबा लामिछानेले संघले बाचा गरेअनुसार भूकम्प पीडितहरुका लागि एक हजार वटा घर कुन ठाउँमा बनाउने भन्ने निधो भैसकेको र त्यसका लागि संघको विश्वव्यापी सन्जालबाट आवश्यक रकम उठिसकेको जानकारी दिए। उनले पुनःर्निर्माणको काममा स्थानीय समुदाय र स्थानीय स्रोतलाई अत्यधिक उपयोग गर्नुपर्ने बताए। लामिछानेले भूकम्पपछि हाइटीमा प्राप्त विदेशी सहयोगको दुरुपयोग भएको उदाहरण दिंदै नेपालमा भने सञ्चारमाध्यमको सजगता र स्थानीय समुदायका कारण पनि त्यस्तो स्थिति नदोहोरिने विश्वास व्यक्त गरे।

गैरआवासीय नेपाली संघका पूर्व प्रमुख संरक्षक रामप्रताप थापाले समाजमा राम्रो काम गर्नेहरुको पहिचान गर्न र उनीहरुलाई सम्मान गर्न कन्जुस्याईं गर्न नहुने बताउँदै सन्चार माध्यमहरुलाई समाजलाई बाटो देखाउने उद्देश्यले समाचारहरु लेख्‍न सुझाव दिए।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संसारभरि फैलिएका गैरआवासीय नेपालीहरुलाई नेपालको विकास र समृद्धिका निम्ति योगदान पुयाउने पुस्ता बन्न आह्वान गरे। त्यस्तै गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले विदेशमा बसेपनि गैरआवासीय नेपालीहरुको मनमुटु नेपालमै रहिरहने र मातृभूमिका लागि सक्दो सेवा गर्न जतिबेला पनि तत्पर रहेको आफुले पाएको बताए।

कार्यक्रमका प्रमुख अतिथि, बेलायतकालागि नेपालका कार्यवाहक राजदूत शरदराज आरनले भूकम्पपछि ऐन, नियम र अन्य संरचनाहरु तयार गर्न समय लागेको तर अब पुनर्निर्माण तथा पुनर्स्थापनको काम छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे। उनले भूकम्प लगत्तै  ब्रिटेन लगायत संसारभरिबाट प्रवासी नेपालीहरुले गरेको भौतिक तथा नैतिक सहयोगकालागि धन्यवाद पनि दिए।

कार्यक्रममा एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, कुल अाचार्य, पत्रकार सुमन खरेल, लगायतका वक्ताहरुले पनि मन्तव्य तथा शुभकामना दिए ।

नेपाल ब्रिटेन डटकमका अध्यक्ष चिरन्जीवी ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको दोश्रो सत्रमा नेपाल ब्रिटेन डटकमद्वारा सन् २०१५ तथा २०१६ मा ‘मिडिया पर्सनालिटी अफ दि इएर’ को रुपमा छनोट गरिएका समाजको विभिन्न क्षेत्रमा योगदान पुराएका २० जनालाई सम्मानित गरिएको थियो।

सम्मानित व्यक्तित्वहरुको तर्फबाट बोल्दै १३ वर्षीया पौडी खेलाडी गौरिका सिंहले आउँदो महिना रियोमा हुन गैरहेको ओलिम्पिक्समा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाएकोमा आफु अत्यन्तै खुसी भएको बताइन्। उनले जहाँबसेपनि नेपालकालागि योगदान दिन सबैलाई आग्रह पनि गरिन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App