१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

गहनाका रूपमा घडी

काष्ठमण्डप- मोबाइल फोनको लोकप्रियतापछि धेरैले अनुमान गरेका थिए- 'अब मानिसले घडी लगाउन छाड्नेछन्।' धेरैले अनुमान गर्दैमा बजार त्यतैतिर कहाँ मोडिन्छ र? अधिकांशको अनुमान विपरित अहिले पनि धेरैका नाडीमा घडी बाँधिएका छन्, त्यो पनि फरक-फरक ब्रान्ड र मोडलका। 

दुई वर्षअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको घडीको खुबै चर्चा भयो। उनले लगाएको 'फिटबिट सर्ज' घडीले धेरैको ध्यान तान्यो। ओबामाले लगाएको घडी निकै महँगो र अत्याधुनिक भएकाले चर्चाको चुलिमा चढ्यो। हुनत उनले लगाएका घडीबारे उनको कार्यकालभर नै चर्चा भयो।

समय हेर्नकै लागि घडी बाँध्ने कतिपयले मोबाइल फोन आउनेबित्तिकै घडी बिर्सिसके। यद्यपि घडीका सौखिन भने अझैपनि यसलाई शानकै रुपमा लिन्छन्।

ओबामा मात्र होइन, अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको घडीप्रेमको चर्चा पनि हुने गर्छ। उनले त एक दशकअघि 'ट्रम्प' 'सिग्नेचर्ड' हाते घडीको 'कलेक्सन' नै निकालेका थिए।

समय हेर्न घडी बाँध्ने कतिपयले मोबाइल फोन आउनेबित्तिकै घडी बिर्सिसके। यद्यपि घडीका सौखिन भने अझै पनि यसलाई शानकै रूपमा लिन्छन्।

त्यस्तै घडीका सौखिन हुन्, भक्तपुरका प्रकाश श्रेष्ठ। उनी एक–दुई वर्षमा घडी परिवर्तन गरिरहन्छन्। हातमा हरदम रहने स्मार्टफोनले उनको घडी मोहलाई केही असर गरेको छैन। 'सानै उमेरमा हजुरबुबाले प्लाष्टिकको घडी किनिदिनुभएको थियो,' उनी भन्छन्, 'त्यसबेलादेखि घडीको सोख कहिल्यै हटेन, स्मार्टफोन बोक्दाभन्दा बढी घडी लगाउँदा स्मार्ट भएको महसुस हुन्छ।'

उनी समय मात्र हेर्न त अनेकौं विकल्प अपनाउन सकिने बताउँछन्। 'अरुलाई सोधेर पनि समय थाहा पाउन सकिन्छ। तर, घडी लाउँदाजस्तो आत्मविश्वास अरुमा हुँदैन,' उनी भन्छन्। आफ्नो नाडीमा ब्रान्डेड सिको घडी बाँधिँदा निकै आत्मविश्वास बढेको उनको अनुभव छ।

स्मार्टफोनमा झुण्डिरहने युवाको समेत घडीमा आकर्षण नघटेको व्यापारीहरु बताउँछन्। ब्रान्डेड घडी खोज्दै आउने ग्राहकदेखि न्युरोडमा लोरस र सिको घडीको शोरुमकी रविना थापा छक्क पर्छिन्।

'मानिसको घडी सोख देखेर म त छक्क पर्छु, हामीसँग १५ हजारदेखि ७० हजार रूपैयाँसम्मको घडी किन्ने ग्राहक आउँछन्,' उनी भन्छिन्। अहिले मानिसले घडी समय हेर्नभन्दा गहनाका रूपमा प्रयोग गर्ने रविनाले बताइन्। घडीका सौखिनले घडी पहिरिनुका साथै उपहारका रूपमासमेत रोज्ने गरेका उनी बताउँछिन्। सौखिनको इच्छाअनुसार कम्पनीले पनि  डिजाइनलाई समयसमयमा परिमार्जन गर्ने गरेका छन्।

न्युरोडमा घडी व्यापार गर्ने दामोदर पुरीको पसलमा अहिले पनि बिक्री घटेको छैन। उनको पसलबाट तीन हजारदेखि ५० हजार रूपैयाँसम्मको घडी बिक्री हुने गरेको छ। 

पुरीका अनुसार आफ्नो स्तर कायम राख्न मानिस घडी लगाउने गरेका छन्। 'स्ट्यान्डर्ड मेन्टेन गर्न लगाउने भएकोले घडीको व्यापारलाई स्मार्टफोनले छुँदैन,' उनी भन्छन्, 'नयाँ पुस्तामा स्टाइल र फेसनका रूपमा पनि घडी बाँध्ने चलन छ।'

पुरीको पसलमा टाइटान, सोनाटा, क्यासियो, फास्ट्रयाकलगायत ब्राण्डका विभिन्न मोडलका सस्तादेखि महँगा घडी छन्। युवाले अचेल धेरै सुई भएको 'स्पोर्टी' अनि ठूलो डायल भएका घडी रोज्ने गरेको उनले बताए।

प्रकाशित: २ असार २०७४ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App