१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिआइबीका नाममा अपहरण र फिरौती, बन्दी ‘सई’, गुन्डा नाइके ‘डिएसपी’

काठमाडौं- उपत्यकामा शृंखलाबद्ध रूपमा व्यवसायी अपहरणमा पर्ने र छुट्ने क्रम जारी थियो। निर्माण व्यवसायी, कन्टेनर व्यवसायी, न्युरोडका व्यवसायीमात्रै हैन, नेपालस्थित अमेरिकी दूतावासका कर्मचारीसमेत अपहरणमा परी फिरौती तिरेर मुक्त भएका थिए।

अपहरण गर्नेहरू थिए प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली । डिएसपी, सई, असई, जवानसमेत रहेको टोलीले प्रारम्भमा व्यवसायी चयन गथ्र्यो । उनीहरूलाई युवतीमार्फत कोठामा बोलाउँथ्यो र नियन्त्रणमा लिएर अनुसन्धानका लागि गोप्य स्थानमा लग्थ्यो ।

हत्कडी र पेस्तोलसहितको टोलीले नियन्त्रणमा लिएकालाई एक स्थानबाट अर्को स्थानमा लैजाँदा प्रहरीकै शैली अपनाएर कालो चश्मा लगाइदिन्थ्यो जसको सिसा भित्रबाट कालो टेपले बन्द गरिएको हुन्थ्यो ।

प्रहरीको सिआइबी र स्पेसल ब्युरोले अनुसन्धानको गोपनीयताका लागि गम्भीर अपराधको आरोपमा पक्राउ परेकालाई सिधै कार्यालय नलगेर प्रारम्भिक अनुसन्धानका लागि सेफ हाउसमा राख्ने गर्छन् ।

सो टोलीले पनि नियन्त्रणमा लिइएका व्यापारीलाई अनुसन्धानका लागि यस्तै सेफ हाउसमा पु¥याउँथ्यो र पैसा लिएर मुक्त गर्ने गर्दै आएको थियो ।

उनीहरूले २०७३ मा अनुसन्धानका लागि भन्दै यसरी नै अमेरिकन एम्बेसीका कर्मचारी, सिन्धुलीका निर्माण व्यवसायी, न्यूरोडका एक व्यापारी र सिन्धुपाल्चोकका एक कन्टेनर व्यवसायीलाई सहयोगी महिला आसिका परियारमार्फत नियन्त्रणमा लिएर सेफ हाउसमा पु¥याएर रकम असुलेपछि मुक्त गरेका थिए ।

गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको ब्युरो टोली नै असुलीमा संलग्न रहेको सूचना पाए पनि आफ्नो पनि पोल खुल्ने भएकाले पीडित प्रहरीकोमा गएनन् । किनकी उनीहरु आसिकाको सुन्दरताको मोहमा फसेर उनको पछि लाग्दा फन्दामा परेका थिए ।

आफ्नै संगठन सदस्यले व्यापारी नियन्त्रणमा लिने र पैसा असुलेर छाड्ने गतिविधिमा लागेको सूचना आएपछि ब्युरो गम्भीर भयो । उसले यस्तो गतिविधिमा संलग्नहरूको पहिचानका लागि प्रारम्भमा आफ्नै कर्मचारीमाथि शंका गरेको थियो ।

शुक्रबार बत्तिसपुतलीमा सिआइबीका  नक्कली ‘प्रहरी जवान’ कोलबहादुर थापा मगर फेला परे । उनकै सूचनाका आधारमा आसिकासमेत फेला परिन् । यी दुवैका सूचनाका आधारमा ब्युरोका डिएसपी शुक्रे तामाङ रहेको खुल्यो । प्रहरीले फेला पार्नअघि नै उनी फरार भए । सई कोमानन्द खड्का र हबल्दार नवीनकुमार राई दुवै नक्खु कारागामा रहेको खुल्यो ।

अनुसन्धानमा खुल्यो, यी कोही पनि प्रहरीका कर्मचारी हैनन् । सिआइबीका डिएसपी भनिएका शुक्रे कहलिएका गुन्डा हुन् जो हत्या अभियोगमा १० वर्ष जेल बसाइपछि मुक्त भएका थिए ।

सई र हबल्दार बनेका खड्का र राई अपहरण  तथा हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका र दुवै प्रहरी नभई आपराधिक समूहका नाइके रहेको खुल्यो ।

डन बने डिएसपी, व्यापारी फसाउन हनीट्रयाप

हत्या अभियोगमा डिल्लीबजार कारागारमा रहँदा प्रहरीलाई प्रयोग गरी जेलबाट भागेका शुक्रे पुनः २०६६ मात्र पक्राउ परेर जेलमै पुगेका थिए । अदालतले तोकेको १० वर्षको सजाय काटेर मुक्त भएपछि उनले आफूलाई पक्राउ गर्दा प्रहरीले अपनाएको शैली अपनाएर व्यापारीसँग पैसा असुल्न नक्कली सिआइबीको टोली र व्यापारीलाई आफूसम्म ल्याउन हनीट्रयापको रूपमा सुन्दर युवतीको प्रयोग गर्ने योजना बनाएका थिए ।

कोमानन्द ठेकेदार प्रकाशबाबु पन्तको अपहरण र हत्या अभियोगमा जेल परेर छुटेका थिए । ब्युरोकी एसपी चौधरीका अनुसार वैदेशिक रोजगारीमा जान काठमाडौं आएको बेलामा कोमानन्द र परियारको भेट भएको थियो ।

‘कोमानन्दले यतै काम पाइन्छ भनेर परियारलाई विदेश जान नदिएको देखियो,’ चौधरीले भनिन्, ‘पछि उनीहरूले व्यापारी फसाउन उनको प्रयोग गर्न थाले ।’

एसपी चौधरीका अनुसार उनकै योजनाअनुसार घोराहीकी १९ वर्षीया सरु केसी उर्फ आसिका परियार हनीट्रयाप बनिन् । शुक्रेलगायतका समूहले परियारलाई व्यापारीको फोन नम्बर उपलब्ध गराउँथे र उनले फोन गरेर उनीहरूसँग सम्पर्क बढाएर डेरासम्म ल्याउँथिन्।

उनको सुन्दरताको मोहमा फसेर डेरासम्म आइपुग्ने कर्मचारी र व्यापारीलाई शुक्रेसहितको टोलीले नियन्त्रणमा लिएर सेफ हाउसमा पु¥याएर विभिन्न अपराधको आरोप लगाउँदै बार्गेनिङ सुरु गर्थे।

कारागारभित्र रहेकाहरूले त्यतैको फोन प्रयोग गरेर उनीहरूलाई पैसा दिने कि मुद्दा चलाइदिने भन्दै धम्क्याउँथे । हत्कडी र पेस्तोलसहित सेफ हाउसमा रहेको टोलीको बोल्ने शैली प्रहरीकै झैं देखेपछि कर्मचारी र व्यापारी उनीहरूको मागअनुसार रकम भुक्तानी गर्थे र मुक्त हुन्थे।

 

प्रकाशित: ५ असार २०७४ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App