१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘आफ्नै सहरमा सबैथोक छ’

नम्रता श्रेष्ठ, नायिका

तपाईंलाई सबैभन्दा मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर काठमाडौं र पोखरा हुन् । यसबाहेक हिमाली क्षेत्रमा सहर पनि उत्तिकै राम्रो लाग्छ । मैले घुमेकामध्ये यी सहरको विषेशता र संस्कृति फरक पाएँ । यहाँको हावापानी र भौगोलिक बनावट अरु कुनै देशका सहरमा पाउन सकिँदैन । यहाँका साना सहरमा नपाइने केही छैन, नेपालीपन झल्काउने सबैथोक यहाँका सहरमा पाइन्छ । सेवा सुविधाको हिसाबले अन्य सहर भन्दा काठमाडौं राम्रो छ । तर, सरकारका नीति नियम र कानुन फितलो भएका कारण सहर व्यवस्थित हुन सकेको छैन । व्यवस्थित मात्रै गर्ने हो भने काठमाडौं उपत्यका सबैको सपनाको सहर बन्न सक्छ । यहाँका हावापानी, वरपरका डाँडाकाँडा, मठमन्दिर सबैले लोभ्याउँछ ।
काठमाडौं कसरी राम्रो बन्ला ?
नेपालका हरेक सहरका आफ्नै खालका विशेषता छन् । यहाँका सहरमा प्राकृतिक विविधता मात्रै नभएर सांस्कृतिक विविधता छ । यी विविधताले नेपालका सहरको सान छुट्टै छ । तर, प्राकृतिकले विविधताले भरिपूर्ण सहर भए तापनि सरकारको कार्यशैली कमजोर भएका कारण हाम्रा सहर व्यवस्थित हुन सकेका छैनन् । भएभरका सेवा सुविधा काठमाडौंबाट मात्रै दिँदा यहाँ जनसंख्याका चाप देखिएको छ । त्यसैले यहाँ भएका सेवा सुविधालाई देशभित्रकै अन्य सहरमा पनि विकेन्द्रीकरण गर्न जरुरी छ । सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाममा ध्यान दिने हो भने काठमाडौं राम्रो बन्न सक्छ ।
उपत्यकाको सबैभन्दा मन पर्ने र मन नपर्ने कुरा के हो ?
उपत्यकाको सबैभन्दा मन नपर्ने पक्ष ट्राफिक जाम हो । सडक फराकिलो बनाउने नाममा जताततै भत्काइएको छ । तर, निर्माण कार्य सुस्त भएका कारण सहरवासीले दुःख पाउनु परेको छ । सरकारले भएका नियम बेवास्ता गरेको छ । सडक विभाग, ट्राफिक प्रहरी, विद्युत प्राधिकरणलगायत सरकारी कार्यालयबीच समन्वय नभएकोले उपत्यका बिगँ्रदै गएको छ । यहाँको अर्को समस्या पार्किङको पनि हो । मनपर्ने पक्ष पुरानो शैलीका मन्दिर र पुराना बस्ती हुन् ।
काठमाडौंको प्रमुख बन्न पाए के गर्नुहुन्थ्यो ?
म मेयर बन्न पाए काठमाडौंलाई समस्या नभएको सहर बनाउथें । सबैभन्दा पहिले त भएका नियमको कार्यान्वयनतर्फ लाग्थे । त्यस्तै, यहाँका सेवा सुविधा विकेन्द्रित गर्थें । सहरवासीका सबैखाले समस्या समाधान गरी उहाँहरूलाई सहरमा बसेको छु भन्ने अनुभूति दिलाउथें । त्यो बाहेक सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाममा ध्यान दिएर विकास निर्माणका कार्य अघि बढाउथें ।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: ५ असार २०७४ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App