१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘वडा नमुना बनाउँछु’

राजु खड्का

वडाध्यक्ष, बुढानिकण्ठ नगरपालिका  वडा नं ४ 

तपाई वडाध्यक्ष भएपछि के–के गर्नुभयो ?

जनप्रतिनिधी नआउँदासम्म वडामा कर्मचारी नै खोज्नुपर्ने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । कर्मचारी नियमित कार्यालयमा बस्न थालिसकेका छन् । जसले सेवाग्राहीले सरल र सहज ढंगले सेवा पाइरहेका छन् । कर्मचारी पनि नियमित बिहान १० बजेदेखि ५ बजेसम्म काममा जुटिरहेका छन् । केही कर्मचारी अझै अपुग भइरहेका छन् । त्यसको व्यवस्थापनका लागि तयारी थालिसकेको छु । कार्यालयलाई जनमैत्री साथै विकास निर्माण र सरसफाइको कामलाई अघि बढाइरहेको छु ।

तपाईको वडामा फोहोरमैला उठाउनै आउँदैनन रे नि ?

वडामा जताततै फोहोरमैला थुप्रिएर दुर्गन्ध भइरहेको थियो । पदभार ग्रहण गरेसँगै वडामा नियमित फोहोरमैला उठाउने काम धमाधम भइरहेको छ । हाम्रो वडामा फोहोरमैला संकलन गर्ने ६ वटा संस्था छन्  । कहिलेकाहीँ ती संस्थाले नियमित फोहोरमैला संकलन नगरेको गुनासो जनस्तरबाट आइरहेको छ । ६ वटै संस्थालाई कार्यालयमा बोलाएर नियमित फोहोरमैला संकलन र व्यवस्थापनका लागि निर्देशन दिइसकेको छु । उनीहरूले नियमित  नगरेमा अर्काे विकल्प खोज्नेछौं ।

बाटो पनि भत्किएर भताभुङ छन् त ?

लामो समय जनप्रतिनिधि नहुँदा व्यवस्थित बाटो अभाव भइरहेको साँचो हो । वर्षात्अघि नै भत्किएका सडकका खल्डाखुल्डी पुर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु । नगरपालिकासँग समन्वय गरेर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । पाशीकोट सडक खण्डमा ४६ लाख रूपैयाँको बजेटमा ढल राख्नुको साथै सडकमा ग्राभेल ओछ्याउने काम भइरहेको छ ।

खानेपानी व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

हाम्रो वडामा खानेपानीको पुरानै समस्या हो । वडामा ५ लाख ६० हजार लिटरका दुई वटा रिजर्भ पानीका ट्याङ्की छन् । जसबाट झण्डै १ हजार घरधुरीका स्थानीय जनतालाई बिहान–बेलुका खानेपानी वितरण भइरहेको छ । मेलम्ची खानेपानी पानीको वितरण सञ्जाल अझै बन्न सकेको छैन । त्यसका लागि ताकेका गरिरहेका छौं । त्यसको अलवा मनपोखरी र विष्णुमति खोलाबाट पानी ल्याएर वितरण गर्ने योजना बनाएका छौैं ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?

बुढानिलकण्ठदेखि चण्डेश्वरी मन्दिरसम्मको सडकलाई बहुवर्षीय योजनामार्फत झण्डै दुई किलोमिटरको बाटो बनाउने योजना बनाएको छु । सडक बनेसँगै वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्न सकिन्छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणसँग समन्वय गरेर काम अगाडि बढाउने तयारी थालिसकेको छु । बुढानिलकण्ठदेखि चण्डेश्वरी मन्दिर क्षेत्रसम्मलाई समेटेर पर्यटकीय स्थल बनाउने योजना छ । वडामा खानेपानी, सरसफाइ महिलालाई उद्यमशीलतातर्फ अग्रसर बनाएर नमुना वडा बनाउने प्रयत्न गर्नेछु ।

प्रस्तुतिः हिमाल लम्साल

 

 

 

 

 

 

प्रकाशित: ५ असार २०७४ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App