१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उड्डयन सुरक्षामा सरोकारवालाको चासो

काठमाडौं – मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन सरोकारवालाले जोड दिएका छन् । राजधानीमा सुरु भएको चौथो उड्डयन सुरक्षा अभियानमा सहभागीले सरकारी निकाय, वायुसेवा सञ्चालक तथा सरोकारवाला सबै यसमा जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले उड्डयन सुरक्षा विषयलाई सरकारले गम्भीरताका साथ लिइरहेको बताए । उड्डयन सुरक्षासम्बन्धी विभिन्न नीति, नियम कार्यान्वयनमा सरोकारवालाबीच सहकार्य जरुरी रहेको उनले बताए । 

‘मन्त्रालय, नियमनकारी निकाय, वायुसेवा सञ्चालकलगायत सरोकारवाला सबैको सहकार्यमा मात्र यो सम्भव छ,’ सचिव अधिकारीले भने । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को विज्ञ समूहसँग पनि मन्त्रालयले काम गरिरहेको उनले बताए । नेपालमा हवाई मार्गबाटै सबैभन्दा बढी पर्यटक भित्रिने हुँदा यो क्षेत्रलाई सुरक्षित बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भौगोलिक जटिलताका कारण मुलुकको उड्डयन क्षेत्र जोखिमपूर्ण बन्दै आएको बताए । प्राधिकरणले सरोकारवाला निकायसँग सहकार्य गरेर सुधारका लागि पहल गरिरहेको उनले जानकारी दिए । ‘पछिल्ला वर्षमा केही सुधार देखिएको छ तर अझै सन्तोषजनक भएको छैन,’ उनले भने, ‘दक्ष प्राविधिक जनशक्ति उत्पादन र आधुनिक प्रविधि प्रयोगमा जोड दिन जरुरी छ ।’

निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको उड्डयन सुरक्षामा भएका कमीकमजोरी र समस्या पहिचान गरी सुधार गर्न यो कार्यक्रम प्रभावकारी बन्दै आएको बताए । ‘नागरिक उड्डयन प्राधिकरण, वायुसेवा सञ्चालक संघलगायत सरोकारवालाबीचको समन्वयमा सन् २०१३ देखि यो अभियान सञ्चालन गर्दै आएका छौं,’ उनले भने । 

उड्डयन सुरक्षासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड लागू गराउन कार्यक्रमबाट सहयोग पुग्ने उनको भनाइ छ । ‘आइकाओ र युरोपेली आयोगले नेपालको उड्डयन सुरक्षा जोखिमपूर्ण रहेको भन्दै चेतावनी दिँदै आएको छ । उनीहरुको मापदण्डमा पुर्याउनुपर्ने दबाब हामीलाई छ,’  कार्कीले भने, ‘यो कार्यक्रमको मुख्य उद्देश्य ‘सेफ्टी अवेरनेस’ मार्फत नेपाललाई सेफ जोनमा परिणत गर्ने हो ।’

कार्यक्रममा उड्डयन सुरक्षामात्र नभई कार्यालयमा काम गर्ने संस्कृति कस्तो हुनुपर्छ, पाइलटले कस्तो दबाबमा रहेर काम गरिरहेका हुन्छन् भन्ने विषयमा कक्षा पनि समावेश गरिएको उनले बताए । ‘बाहिरबाट आएका विज्ञ प्रशिक्षकले दिएका सुझाव कार्यान्वयनमा ल्याउन हामीले पहल गर्दै आएका छौं । पछिल्ला वर्षमा धेरै सुधारसमेत भएका छन्,’ उनले भने । 

त्यसैगरी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले उड्डयन सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्नेमा जोड दिए । नेपालमा विशेषगरी आन्तरिक उड्डयन संवेदनशील बन्दै आएको उनले बताए । निगमले यात्रु सुरक्षालाई पहिलो प्राथमिकतामा राखी सुरक्षा मापदण्ड लागू गरेको उनले दाबी गरे ।

राजधानीको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आइतबार सुरु  कार्यक्रम मंगलबारसम्म चल्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञले विभिन्न विषयका कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रकाशित: ५ असार २०७४ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App