१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ को महानगर र उपमहानगरमा जित्ने रणनीति बनाउँदै कांग्रेस

इटहरी- प्रदेश नं. १ मा पर्ने एउटा महानगरपालिका र दुईवटा उपमहानगरपालिकामा राजनीतिक दलले विभिन्न रणनीति बनाएर चुनाबी अभियान तिब्र पारेका छन्। प्रदेश नं. १ मा महानगरपालिका विराटनगर पर्छ भने उपमहानगरपालिका इटहरी र धरान पर्छन्। यी तीनवटा निकायमा यतिबेला सबैको नजर परेको छ।

'विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने नै मेरो प्रमुख चुनाबी एजेन्डा हो। विराटनगरलाई आर्थिक क्षेत्र बनाउँदा रोजगारीको वातावरण सिर्जना हुनेछ।'

नेपाली कांग्रेसले विराटनगरमा आफ्नो वर्चस्व गुम्न नदिने गरी रणनीतिमा लागेको छ। इटहरी र धरानमा कांग्रेस आशावादी भएर नयाँ फड्को मार्ने दाउँमा छ। विराटनगर, इटहरी र धरानका मेयर–उपमेयरका उम्मेदवारलाई डाकेर नेपाली कांग्रेसको प्रचारप्रसार विभागले सोमबार इटहरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश नं. १ का महानगर र उपमहानगरमा बिजयी हासिल गर्ने गरि रणनीति बनाएर अघि बढेको जनाइयो।

विराटनगरमा एउटा गठबन्धन एमाले र लोकतान्त्रिक फोरम नेपालबीच तालमेल भएको छ। अर्को गठबन्धनमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भएको छ। विराटनगरका मेयरका उम्मेदवार भीम पराजुलीले पत्रकार सम्मेलनमा भने, 'नेपाली कांग्रेस तालमेलबिना नै चुनाव जित्छ।' अन्य दलमा तालमेल गर्दा पनि पार्टीभित्रबाटै अन्तरविरोध सुरु भइसकेकाले छट्पटाइरहेको उनले जिकिर गरे। 'महिलाको सम्मानका लागि प्रमुख वा उपप्रमुखमा महिलालाई उम्मेदवार बनाउनुपर्ने भए पनि एमालेले महिला आन्दोलनप्रतिको अपमान गरेको छ,' उनले भने, 'विराटनगरमा कांग्रेसको वर्चस्व कुनै हालतमा गुम्न दिने छैनौं।'

उनी विराटनगरमा नेपाली कांग्रेसको दोस्रो कार्यकाल पार्टी सभापति हुन्। उनको राजनीतिक पृष्ठभूमि विद्यार्थीबाट सुरु भएको हो। महेन्द्र मोरङ कलेजमा स्ववियु सदस्य, कोषाध्यक्ष, सचिव हुँदै सभापति पदमा विजयी भएका थिए। सभापति पदमा भने पूरै प्यानल नै बागी उम्मेदवारी दिएर जितेका हुन्।

मेयरका उम्मेदवार पराजुलीले पत्रकार सम्मेलनमा चुनाबी एजेन्डाबारे समेत प्रस्ट्याए। 'विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने नै मेरो प्रमुख चुनाबी एजेन्डा हो। विराटनगरलाई आर्थिक क्षेत्र बनाउँदा रोजगारीको वातावरण सिर्जना हुनेछ।' उनका अनुसार, बन्द रहेको पुरानो जुट मिल सञ्चालनमा ल्याइनेछ। जुट मिल सञ्चालनमा ल्याउँदा दस हजारले रोजगारीको अवसर पाउनेछन्।

'विराटनगर विमानस्थललाई दस वर्षभित्रमा अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ। साथै विराटनगर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गरिनेछ,' उनले भने, 'शहीद मैदान दलहरुको कार्यक्रम गर्ने स्थल बन्दो छ। यसलाई विशुद्ध खेल स्थानको रुपमा विकास गरिनेछ।' उनका अनुसार, सिंगिया र केसलिया खोलामा ड्याम बनाएर पर्यटकीय क्षेत्र बनाइनेछ।

'अहिले विराटनगरमा सञ्चालित एडिबीको प्रोजेक्ट राजनीतिक नेतृत्व नहुँदा लथालिङ्ग भएकोमा त्यसलाई सुधार गरेर अघि बढिनेछ,' उनले भने, 'विराटनगरको समग्र विकास, समृद्धि र उन्नतिमा लाग्नेछु।'

उनले सडक कालोपत्रे, ग्राभेल, सबै वडामा सहकारी संस्था स्थापना गरी गरिब तथा विपन्न परिवारलाई ऋण, शैक्षिक हब, कोशी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालसँगै मेडिकल कलेजमा स्तरोन्नति गरिने, दातृ संस्थासँग भगिनी सम्बन्ध स्थापना गरि ठूला आयोजना भित्रयाउने, महिला, जेष्ठ नागरिक केयर स्थापनालगायतका एजेन्डा रहेको सुनाए।

इटहरीका मेयरका उम्मेदवार रोहितकुमार प्रसाईंले पटकपटक अरु दलले नेतृत्व गर्दा रुप नबद्लिएकाले गर्दा यसपटक कांग्रेसको नेतृत्व इटहरीबासीले चाहेको जिकिर गरे। उनले आफ्नो चुनाबी एजेन्डा प्रस्तुत गर्दै इटहरीलाई प्रदेश नं. १ को राजधानी बनाउन पहल गर्ने, २५० शय्याको अस्पताल निर्माण गर्ने र इटहरीलाई पूर्वाञ्चलकै व्यापारिक हब बनाउने बताए।

'मैले इटहरीलाई समृद्ध शहर बनाउनका लागि नौलो कुरा केह गर्छु भनेको छैन्। केवल जनताका न्यूनतम आवश्यकतालाई पूरा गरेर छाड्छु।' उनका अनुसार इटहरी बजारबाट दक्षिणी क्षेत्रमा समस्या रहेको डुबानलाई सधैंका लागि रोक्ने, बजारभन्दा भित्रि वस्तीका जनताका निम्ति शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानीलगायतका आधारभूत आवश्यकता सहजै पूरा गरेर छाड्ने बताए।

'इटहरीलाई ननिदाउने शहर बनाउनुका साथै ५ वर्षभित्र यहाँका सबै कच्ची सडकहरुमा ड्रेन निमार्ण गरिसडकको स्तर उन्नति गरि सकिनेछ,' उनले भने, 'काम गर्नका निम्ति चुनौती पनि छन्। तर, मैले जे गर्छु भनेको छु त्यही पूरा गर्न असम्भव छैन्।'

उनले उपमहानगरपालिकाको अलगै स्थानमा व्यवस्थित भवन निर्माण, अपाङ्ग, एकल महिला, वृद्धवृद्धालगायतका लागि विशेष कार्यक्रम ल्याइने पनि सुनाए। इटहरीको अहिलेसम्मको विकास स्वतःफूर्त भएको जिकिर गर्दै सही नेतृत्व पाउन नसकेको बताए। 

धरानका मेयरका उम्मेदवार तिलक राईले अहिलेसम्म धरानमा उपमहानगरपालिका र अन्य दलले ल्याएका योजनाप्रति जनताले विश्वास गर्ने वातावरण नभएकाले गर्दा यसपटक कांग्रेसको विकल्प नभएको जिकिर गरे।

'अहिलेसम्म एकीकृत सम्पति कर, बसपार्क, एअरपोर्ट, खानेपानीलगायतका योजना सञ्चालनमा जनता हतोत्साही भएका छन्,' उनले भने, 'अहिलेसम्म धरानमा नेतृत्व गर्नेले सफलतापूर्वक कार्य गर्न नसकेकाले गर्दा यसपटक कांग्रेसले जित्नुपर्छ।'

उनले धरानलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासयी बन्दै गएकाले गर्दा सुधार गर्ने, सुकुम्बासी समस्यालाई पूर्णरुपमा समाधान गर्ने, सेउती-सर्दुको दोहन भइरहेकोमा त्यसलाई व्यवस्थित गर्ने, केबलकार सञ्चालन गर्नेलगायतका चुनाबी एजेन्डा सुनाए।

त्यसो त विराटनगर, इटहरी र धरानमा अन्य दलले पनि जित्ने रणनीति बनाएर युद्धस्तरमा चुनाबी कार्यक्रममा सक्रिय छन्।

दलहरुले जित्ने दाबी गरेपनि तीनवटै निकायमा कुनै पनि दलले सहजै जित्ने अवस्था छैन। यी तीनवटै निकायमा यसपटकको निर्वाचनमा प्रतिस्पर्धा बडो रोमाञ्चक हुने निश्चित छ।

प्रकाशित: ५ असार २०७४ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App