१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'प्रेमगीत भन्दा प्रेमगीत २ गाह्रो'

काठमाडौं- डेब्यु फिल्म 'स्केप' व्यावसायिक रूपमा फ्लप भए पनि दोस्रो फिल्म 'प्रेमगीत'बाट नायक प्रदीप खड्का आम दर्शकमाझ चिनिए। फिल्ममा 'प्रेम'को भूमिकामा देखिएका उनले फिल्मबाट  राम्रै तारिफ पाए। यिनै प्रदीप झन्डै दुई वर्षपछि आगामी साउन १३ गतेबाट 'प्रेम'कै भूमिकामा फिल्म 'प्रेमगीत २'मार्फत दर्शकमाझ आउँदैछन्।

अघिल्लो फिल्म 'प्रेमगीत'मा काम गर्दा भन्दा 'प्रेमगीत २'मा अभिनय गर्दा उनले निकै गाह्रो महसुस गरेका रहेछन्। 'अघिल्लो फिल्ममा काम गर्न त्यति गाह्रो लागेको थिएन। तर, यसपटक भने निकै गाह्रो महसुस भयो,' फिल्मको ट्रेलर सार्वजनिक गर्न राजधानीमा आयोजित कार्यक्रममा पत्रकारमाझ प्रदीपले भने, 'फिल्मको स्त्रि्कप्ट अनि वकसर्प गर्दा यति गाह्रो होलाजस्तो लागेको थिएन। फिल्मको फाइटमा निकै गाह्रो भयो। यस्तो गाह्रो हुन्छ भन्ने जानेको भए फिल्ममा काम नै गर्दिन थिएँ।'

फिल्ममा प्रदीपको अपोजिटमा नायिका अश्लेषा शाही ठकुरी छिन्। यसै फिल्मबाट फिल्मी अभिनयमा डेब्यु गरेकी उनले आफू दर्शकको प्रतिक्रिया सुन्न आतुर रहेको बताइन्। फिल्ममा खलपात्रको भूमिकामा देखिएका निर्माता सन्तोष सेनले आफ्नो भूमिका फिल्मका लागि आवश्यक भएर नै अभिनय गरेको दाबी गरे। 'म लगानीकर्ता भएर फिल्ममा अभिनय गरेको होइन। फिल्मको कथाले नै मलाई मागेको हो,' सेनले भने, 'तर, मेरो भूमिका फिल्ममा हेर्दा प्रदीपका फ्यानले पक्कै गाली गर्लान्।'

निर्देशक रामशरण पाठकले आफूले समाजभित्र आम मानिसले देखेको चरित्रलाई फिल्मको प्रेमकथामा प्रस्तुत गरेको जनाए। 'फिल्मका पात्रहरु सबै समाजसँग जोडिएका छन्। यहाँ थाइल्यान्डको प्रेम नेपालसँग छ र नेपालको प्रेम म्यानमारसँग छ। हरेक पात्रको उद्देश्य प्रेमसँग गाँसिएको छ र द्वन्द्व प्रेमबाटै सुरु छ,' उनले भने।

फिल्मको ट्रेलरमा रोमान्टिक र एक्सन दुवै फ्लेबरलाई देखाइएको छ। आशुसेन फिल्मस् को ब्यानरमा निर्माण भएको फिल्ममा राजाराम पौडेल, कविता रेग्मीलगायतको पनि अभिनय छ। साउन १३ गते रिलिज हुने फिल्ममा बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, निर्देशक पाठककै पटकथा र संवाद छ।

प्रकाशित: ६ असार २०७४ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App