१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा फेरि देखियो स्क्रब टाइफस, चारजनामा सङ्क्रमण

रत्ननगर- चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ। गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिएर उनका अनुसार सङ्क्रमित हुनेमा चारैजना महिला छन्। तीनजना चितवनका र एकजना नवलपरासीका बिरामी हुन्। 

चितवनमा वैशाख २५ र २९ तथा जेठ महिनाको १ र १२ गते टाइफस रोग लागेको बिरामी फेला परेको हो। असारको प्रतिवेदन भने आइसकेको छैन। चारैजना बिरामी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भेटिएका हुन्। 

चितवनमा गएको वर्षदेखि स्क्रब टाइफस रोग देखिएको थियो। गएको वर्ष वैशाखदेखि पुस महिनासम्म यहाँ कुल ५३३ जनामा टाइफस रोग देखिएकामा पाँचजनाको मृत्यु भएको थियो। 

अघिल्लो वर्ष देशभरि ४७ जिल्लामा देखिएको यो रोगबाट सङ्क्रमित कुल ८३० जना बिरामीमध्ये १४ जनाको मृत्यु भएको इपिडिमियोलोडी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिए।

अब पुनः चितवनमा रोग देखिन थालेकाले देशभर ७५ वटै जिल्लामा परिपत्र गरेर आवश्यक तयारीका साथ रहन निर्देशन दिइएको लामिछानेले जानकारी दिए। देशका अन्य क्षेत्रबाट प्रतिवेदन आउन बाँकी छ। 

नेपालमा २०७२ सालमा पहिलो पटक पूर्वी नेपालमा यो रोग देखिएको थियो। त्यो बेला १०१ जनामा सङ्क्रमण हुँदा आठजनाको मृत्यु भएको थियो। 

माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको सङ्क्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन। 

मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ। यो रोग लागेमा १०४ डिग्री जति ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ। 

मुख्यगरी मुसाको नियन्त्रण गर्ने, झारका काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। 
चितवनमा गएको वर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोगको सङ्क्रमण पुष्टि भएको थियो। 

रोग पत्ता लागेमा उपचार सहज हुने जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका निमित्त प्रमुख नरहरि शर्माले जानकारी दिए। रासस

प्रकाशित: ६ असार २०७४ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App