१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भालिबल खेलाडी माली  र राईलाई अवार्ड

काठमाडौं- राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली र प्रशिक्षक कुमार राई 'शेरबहादुर खड्का स्मृति खेलकुद अवार्ड' बाट सम्मानित भएका छन्। भलिबल र पढाइमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको भन्दै प्रतिभालाई सम्मान गरेको आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बतायो। प्रतिभाले यसै साता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा(एसइई) जिपिए ३.५ (ग्रेड 'ए') ल्याएर उत्तीर्ण गरेकी छिन्। कुमार राई प्रतिभाका प्रशिक्षक हुन्।

राईले नेतृत्व गरेको न्यु डायमन्डले महिला भलिबलमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ। प्रशिक्षक राईले सम्मानले महिला भलिबलमा नयाँ उपलब्धि हासिल गर्न ऊर्जा दिएको बताए। 'ससाना नानीलाई भलिबल सिकाएर राष्ट्रिय टोलीको नम्बर एक खेलाडी बनाउन सहज छैन। धेरैले खिल्ली उडाउँथे। अहिले डायमन्डका खेलाडी राष्ट्रिय टोलीको पहिलो रोजाइमा पर्छन्,' राईले भने, 'भलिबल खेलेर के हुन्छ भन्नेहरू पनि धेरै छन् हाम्रो समाजमा। नियमित प्रशिक्षण गराउन सहज छैन। धेरै गुनासा र आरोपलाई पार गर्दै मेहनत गरिरहेका छौं। मैले सोचेजस्तो मेरा खेलाडीले त्यो हासिल गर्न सकेका छैनन्। प्रतिभाले अहिलेको भन्दा ५० प्रतिशत बढी भलिबल र पढाइमा राम्रो गर्न सक्छिन्। उनले कडा मेहनत गर्ने बानीको विकास गर्नुपर्छ।'

प्रतिभाले घरेलु प्रतियोगिता न्यु डायमन्ड एकेडेमीबाट खेल्ने गर्छिन्। डायमन्डले घरेलु भलिबलमा विभागीय टोली सशस्त्र, नेपाल पुलिस र त्रिभुवन आर्मीलाई चुनौती दिँदै दर्जनभन्दा बढी महिला भलिबल प्रतियोगिताको उपाधि जितिसकेको छ। १३ वर्षको उमेरमा राष्ट्रिय टोलीमा प्रतिभाले डेब्यु गरेकी थिइन्। प्रतिभाले यसै वर्ष माल्दिभ्समा व्यावसायिक रूपमा महिला लिग भलिबल खेलेर फर्किएकी थिइन्।  प्रतिभाले माल्दिभ्स लिगमा उत्कृष्ट आउटसाइड अट्याकर र उत्कृष्ट विदेशी खेलाडीको पुरस्कार जित्न सफल भएकी थिइन्।

बुधबार प्रतिभा र प्रशिक्षक राईलाई प्रतिष्ठानकी संरक्षक गमली खड्का, कन्साई निरोल्याक पेन्ट जापानका कन्ट्री डाइरेक्टर मनोज मिश्र, शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयल र प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सम्मान गरेका थिए।

सम्मानले आगामी नयाँ पिढीलाई भलिबलमा सफलता हासिल गर्न हौसला थप्ने प्रतिभाले बताइन्। प्रतिभाले भनिन्, 'सम्मान गरेकोमा प्रतिष्ठानलाई धन्यवाद। आगामी दिनमा थप मेहनत गरेर भलिबल र पढाइमा राम्रो नतिजा निकाल्ने प्रयास गर्छु।'

प्रतिष्ठानले सम्मानस्वरूप प्रतिभालाई ५० हजार र प्रशिक्षक राईलाई २५ हजार प्रदान गरेको थियो। प्रतिष्ठानका अध्यक्ष खड्काले प्रतिभाजस्तो प्रतिभाशाली खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए।

उनले भने, 'खेलाडीको उद्देश्य खेल्ने मात्र होइन। खेलाडीले हरेक क्षेत्रमा उत्कृष्ट काम गर्न सक्नुपर्छ। हरेक संघसंस्थामा खेलक्षेत्रबाट गएको व्यक्तिले अरूले भन्दा राम्रो नतिजा निकाल्न सक्छ। प्रतिभाले त्यस्तै असाधारण नतिजा पढाइ र भलिबलमा हासिल गरिरहेकी छिन्। प्रतिभाजस्ता खेलाडी उत्पादन गर्ने गुरु सम्मानको हकदार हुनुहुन्छ।'

प्रकाशित: ८ असार २०७४ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App