१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चर्चा हराएको रस

कुनै समय, नेपाली साहित्यमा घोषित रूपमै रसको प्रयोग हुन्थ्यो । भारत वर्षका प्राचीनशास्त्रमा प्रयोग हुने नवरसलाई नाट्यसम्राट बालकृष्ण सम, कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना रचनामा निकै महत्व दिए ।

सम, पौड्याल र देवकोटा कालमा रसको उद्घाटन गरेरै साहित्य सिर्जना भए । त्यसबेला आफ्ना रचना कुन रसमा लेखिँदै छ भनेर सुरुमै उल्लेख गर्ने चलन समेत थियो । शास्त्रीय छन्द र नवरस प्रयोगका हिसाबले सम, पौड्याल र देवकोटा काल उर्वर थियो । 

‘पहिले साहित्य सिर्जनामा घोषित रुपले रसको प्रयोगबारे उल्लेख हुन्थ्यो, उत्तरआधुनिकताले त्यो मान्यतालाई विखण्डित गरिदियो ।’
अभि सुवेदी 

नेपाली साहित्यमा आधुनिक र उत्तरआधुनिक विचारधाराको प्रवेशसँगै नवरसको चर्चा सेलाउन थाल्यो । साहित्यमा रसको प्रयोग भए पनि स्वयं सर्जकलाई नै आफ्नो सिर्जनामा कुन रसको प्रयोग भइरहेको छ भन्ने पत्तो हुन छाड्यो । 

साहित्यकार तथा समालोचक अभि सुवेदी उत्तरआधुनिक विचारधाराको प्रवेशले रसको घोषित प्रयोगलाई विखण्डन गरेको बताउँछन् । ‘पहिले साहित्य सिर्जनामा घोषित रुपले रसको प्रयोगबारे उल्लेख हुन्थ्यो,’ सुवेदी भन्छन्, ‘उत्तरआधुनिकताले त्यो मान्यतालाई विखण्डित गरिदियो ।’ 

साहित्यमा आलंकारिक विभाजन समाप्त हुनुका पछाडि नयाँ साहित्यकारले पुरानाबाट सिक्न नखोज्नु प्रमुख कारण रहेको सुवेदी बताउँछन् । ‘नयाँ साहित्यकार र कविले अग्रजबाट सिक्नै छाडे,’ उनी भन्छन्, ‘यसले साहित्यमा आलंकारिक रुपमा रसको प्रयोग अन्त्य भयो ।’ पछिल्लो समय एउटै रचनामा फरक–फरक रस प्रयोग हुन थालेको सुवेदी बताउँछन् । एउटै रचनामा धेरै रसको प्रयोग लेखकले बुझेर भन्दा पनि सिर्जना गर्दै जाँदा थाहै नपाई भइरहेको सुवेदीको आकलन छ । 

‘विगतमा रसलाई आधार मानेर सिर्जना गर्ने गरिन्थ्यो, यसको अर्थ वर्तमानमा पनि रसलाई नै आधार मानेर लेख्नुपर्छ भन्ने बाध्यता छैन ।’
सरुभक्त 

पछिल्लो पुस्ताका कतिपय साहित्यकारलाई त रसबारे सामान्य जानकारी समेत नरहेको सुवेदीको बताउँछन् । ‘पहिलेका कवि–साहित्यकार कुशल थिए,’ उनी भन्छन्, ‘पछिल्लो पुस्ताले सूत्रमा किन बाँधिने ? भनेर पुरानो नियम तोड्न थाले ।’ अहिले पनि नाटक लेखनमा भने नवरसको प्रयोग सचेत किसिमले भइरहेको सुवेदी बताउँछन् । ‘नाटकमा हामी सचेत रूपमा सबै रसलाई प्रयोग गर्छौं,’ उनी भन्छन् । 

साहित्यमा जानेरै कुनै रसको प्रयोग नगरिए पनि भावअनुसार कुनै न कुनै रस भने प्रयोग भइरहने सुवेदी बताउँछन् । उनका अनुसार अचेल विशेषगरी ‘करुण’ रसको प्रयोग बढी हुने गरेको छ । 

साहित्यकार सरुभक्त रस शास्त्रीय कुरा भएको बताउँछन् । विशेष गरी नाटक र अभिनय कलामा यसको प्रत्यक्ष प्रयोग हुने सरुभक्तको भनाइ छ । उनी जीवनका विभिन्न भावना, संवेदना र विचारले शरीरमा जुन प्रतिक्रिया दिन्छ, त्यो नै रसको रूपमा अभिव्यक्त हुने बताउँछन् । प्राचीन शास्त्रमा रसलाई आधार मानेर रचना गर्ने गरिए पनि वर्तमानमा यसैलाई आधार मानेर सिर्जना गर्नुपर्छ भन्ने नरहेको उनको तर्क छ । 

‘विगतमा रसलाई आधार मानेर सिर्जना गर्ने गरिन्थ्यो,’ सरुभक्त भन्छन्, ‘यसको अर्थ वर्तमानमा पनि रसलाई नै आधार मानेर लेख्नुपर्छ भन्ने बाध्यता छैन ।’ रसकै आधारमा सिर्जना नगरिए पनि साहित्यमा कुनै न कुनै रस भने प्रयोगमा आइरहेको उनको भनाइ छ । 

समका नाटकमा नवरसकै प्रयोग हुने गरेको उनी बताउँछन् । ‘समले नाटकमा नवरसको प्रयोग गर्थे,’ उनी भन्छन्, ‘कतिसम्म भने उनले नवरसमै अभिनय समेत गर्थे ।’

सरुभक्त अहिले पनि रस जीवनको शक्तिका रूपमा जोडिएको बताउँछन् । रसमा शरीर विज्ञान र समाज विज्ञान अन्तर्निहित रहेको उनको दाबी छ । रसको प्रयोग सन्दर्भअनुसार हुने भएकाले कुन रसको प्रयोग बढी र कुन रसको प्रयोग कम भन्दा पनि यसलाई सामूहिक रुपमा हेर्नुपर्ने सरुभक्तको तर्क छ । 

‘अहिले शास्त्रीय सिद्धान्तको अध्ययन निकै कम छ, यसै कारणले रस चेतना कम हुँदै गएको हो ।’
राम लोहनी 

समालोचक राम लोहनी साहित्यिक वृत्तमा नवरसको चर्चा र महत्व कम हुनुका पछाडि शास्त्रीय सिद्धान्त अध्ययनको सीमिततालाई प्रमुख मान्छन् । ‘अहिले शास्त्रीय सिद्धान्तको अध्ययन निकै कम छ,’ लोहनी भन्छन्, ‘यसै कारण रस चेतना कम हुँदै गएको हो ।’ लोहनीका अनुसार, पहिलेका लेखक–साहित्यकार शास्त्रीय साहित्य अध्ययनको पृष्ठभूमिबाट आउने भएकाले रसलाई आधार मानेर प्रयोग गर्न रुचाउँथे । देवकोटा र पौड्यालका बेला सबैखाले रसको प्रयोग गरेर सिर्जना गर्ने चलन रहेको उनी बताउँछन् । नवरसको प्रयोग विशेष गरी छन्द साहित्यमा बढी हुने गरेको तर पछिल्लो समय छन्द साहित्य नै छायामा परेकाले रसको चर्चा र अध्ययन पनि सेलाउँदै गएको लोहनीको विश्लेषण छ । 

अचेलको नेपाली साहित्यमा भावना केन्द्रित सिर्जना बढिरहेकाले धेरैखाले रसको प्रयोग भइरहेको लोहनी बताउँछन् । उनका अनुसार यसप्रतिको चासो, अध्ययन र चेतना भने कम हुँदै गएको छ । 

नेपाली साहित्यमा अहिले केही रसको अत्यधिक प्रयोग र केही रसको प्रयोग नै नहुने अवस्था आएको लोहनीको विश्लेषण छ । शास्त्रीय ज्ञानको अभावले यस्तो भए पनि रसको महत्व भने कम भएको भन्न नमिल्ने लोहनीको तर्क छ । ‘रसको अध्ययन, विश्लेषण र सचेत प्रयोगमा कमी आयो भन्दैमा यसको महत्व पनि घट्यो भन्न चाहिँ मिल्दैन,’ लोहनी भन्छन् । अहिलेको नेपाली साहित्यमा दुःख, माया, स्नेहलगायत कुरा बढी आउने गरेकाले करुण रसको प्रयोग अधिक भइरहेको लोहनी बताउँछन् । 

पछिल्लो पुस्ताका कृतिको समेत अध्ययन गरिरहेका लोहनी करुण रसको तुलनामा भयानक र विभत्स रसको प्रयोग भने एकदमै कम भइरहेको बताउँछन् । रस साहित्यको भाव भएकाले थाहै नपाई यसको प्रयोग भने भइरहने लोहनीको तर्क छ।  

अचेल रसको प्रयोगबारे रचनाकार मात्र होइन, पाठक र अध्येता समेत सचेत हुन छाडेको लोहनीको विश्लेषण छ । रसबारे जानकारी लिने र त्यसको खोजी गर्ने पाठक समेत नहुँदा रसमाथिको विमर्श खासै हुन नसकेको लोहनी बताउँछन्।

नवरस 
साहित्यमा प्रयोग हुने रसको शाब्दिक अर्थ हुन्छ– आनन्द । साहित्यिक रचना पढ्दा वा सुन्दा जुन आनन्द प्राप्त हुन्छ, त्यो नै रस हो । रसलाई रचनाको प्राण वा आत्मा पनि भनिन्छ । 

सबैभन्दा पहिले रसको व्याख्या तेस्रो शताब्दीमा भरत मुनिले ‘नाट्यशास्त्र’मा गरेको मानिन्छ । उनले ‘नाट्यशास्त्र’मा आठ प्रकारका स्थायी भावको चर्चा गरेका थिए । नवौँ भाव अर्थात् रस भरतपछिका आचार्यले थप गरेर नवरसका रुपमा विकास गरेको इतिहास छ । पछि शास्त्रीय साहित्य रचनामा भारतसहित दक्षिण एसियाभर नवरसलाई महत्व दिन थालिएको हो । 

साहित्यमा प्रयोग हुने हरेक भावले कुनै न कुनै रसलाई प्रतिनिधित्व गर्छ । अर्थात् साहित्यमा प्रकट हुने भाव आफैँमा एउटा रस हो । साहित्यमा अभिव्यक्त हुने भावका आधारमा रस प्रकट हुन्छ । नेपाली साहित्यमा विभिन्न नौ किसिमका रस प्रयोग हुँदै आएका छन् । तीमध्ये शृंगार, रौद्र, वीर तथा विभत्सलाई मौलिक रस भनिन्छ । यी चार रसबाटै अन्य रसको उद्भव भएको मानिन्छ । 

रसका प्रकार  
श्रृङ्गार :
 यसलाई रसराज पनि भनिन्छ । यो पुरुष र स्त्री बीचको प्रेम र त्यसको परिणामसँग सम्बन्धित हुन्छ । श्रृङ्गार रस दुई किसिमका हुन्छन्, ती हुन संयोग र विप्रलम्भ । संयोगमा सुखद पक्ष आउँछन् भने विप्रलम्भमा प्रेममा हुने नकारात्मक पक्ष अभिव्यक्त हुन्छन् । 

हास्य : विलक्षण विषय जसले साहित्यमा हाँसो भाव प्रकट गराउँछ, त्यसलाई हास्य रस भनिन्छ । 

करुण : मानिसको मनमा उत्पन्न हुने शोकभाव करुण रस हो । आफन्तको मृत्यु, धन नोक्सानी, दुर्भाग्य जस्ता कुराले करुणा रस उत्पन्न गराउँछ । ठूलो स्वरले रुनु, अलापविलाप जस्ता भाव करुण रसमा पर्छन् । 

रौद्र : यो क्रोध नामक स्थायी भावबाट उत्पन्न हुन्छ । सामान्यतः राक्षसी स्वभाव वा खराब मानिसमा रौद्र भाव उत्पन्न हुन्छ । बदलाको भावना वा आवेगमा अभिव्यक्त हुने भाव नै रौद्र रस हो । 

भयानक : भयको स्थायी भाव पुष्टि हुनु नै भयानक रस हो । अर्थात् कुनै जन्तु, घटना वा दृश्यले मनमा जुन भय सिर्जना गर्छ, त्यसपछि अभिव्यक्त हुने भाव भयानक रस हो । 

विभत्स : कुनै वस्तु वा दृश्यप्रतिको घृणाभाव नै विभत्स रस हो । जस्तो कुनै वस्तु वा दृश्य देखेर थुक्नु, नाक थुन्नुलगायत भाव विभत्स रसमा पर्छन् । 

वीर : पराक्रम, प्रशंसा वा उत्साह भाव प्रकट हुने रस वीर  रस हो । राष्ट्रियता वा वीरता प्रदर्शन गर्दा वीर रस प्रकट हुन्छ।

अद्भूत : आश्चर्यजनक वा विचित्रको वस्तु देख्दा वा सुन्दा प्रकट हुने भाव अद्भूत रस हो । 

शान्त : संसारप्रतिको वितृष्णाबाट उत्पन्न हुने भाव अर्थात् वैराग्य नै शान्त रस हो । तत्व ज्ञानको प्राप्तिपछि मनमा जुन शान्ति मिल्छ, त्यो नै शान्त रस हो । 

रसका रङ 
भारतीय सौन्दर्य चिन्तनसँग सम्बन्धित मानिने नवरसको वर्णनका लागि विभिन्न रङको प्रयोग समेत गरिन्छ । पहिलो रस अर्थात् श्रृङ्गार रसलाई हरियो रङले संकेत गरिन्छ । रौद्रका लागि रातो, वीरका लागि सुनौलो, विभत्सका लागि नीलो, हास्यका लागि सेतो, करुणका लागि कोरा कपडा, भयानकका लागि कालो र अद्भूतका लागि पहेँलो रङको प्रयोग हुन्छ । 

प्रकाशित: १० असार २०७४ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App