१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

द्वन्द्वको अँध्यारो पक्ष काजोल खातुन

प्रकाश थाम्सुहाङ 

एकपटक एन्टोन चेखभले म्याक्सिम गोर्कीलाई भनेछन्, ‘लेखनमा चन्द्रमा बुझाउन पूरै पूर्णिमाको बखान गर्नु जरुरी छैन । एउटा बोतलमा सानो हँसिया आकारको अर्ध चन्द्रमा बनाए पुग्छ ।’ चेखभले गोर्कीका कथामा आउने वर्णनात्मकतालाई इंगित गर्न यसो भनेका थिए । कवि तथा पत्रकार फुलमान बलको कथासंग्रह ‘काजोल खातुन’ पढ्न मन बनाउँदा मलाई गोर्कीमाथि चेखभको उक्त टिप्पणी याद आयो । किनकि कथाकार फूलमान बलमाथि पत्रकार फुलमान बल हाबी भएर कथामा अनावश्यक वर्णनात्मकता र रिपोर्टाज शैली छ कि ? आशंका थियो । जसै काजोल खातुनमा समाविष्ट सबै कथा पढिभ्याएँ, मेरो आशंकाले कुलेलाम ठोक्यो । 

केही नयाँ र अधिकांश पुराना १३ थान कथाको संग्रह हो, काजोल खातुन । पुराना यस अर्थमा कि यहाँ समाविष्ट प्रायः कथा करिब डेढ दशकअघि नै संग्रहको रूपमा प्रकाशित भइसकेको थियो, ‘काजोल खातुन’ संग्रह शीर्षकमै । तसर्थ अहिले बजारमा आएको ‘काजोल खातुन’ केही कथा थप गरिएको नयाँ संस्करण मात्र हो । नयाँ प्रकाशक र आकर्षक साजसज्जामा प्रकाशित काजोल खातुन पठनीय छ । कथाहरूले पाठकलाई आकर्षित गर्ने क्षमता राख्छ । कथामा प्रयुक्त शिल्प चल्तीको छ । एउटा तामाङ भाषा मातृभाषा भएको कथाकारको नेपाली खस भाषामा पकड निश्चय नै लोभलाग्दो छ । भाषा काव्यिक छ र पठनीय बनेको छ । कथाको अनिवार्य सर्त पठनीय हुनुपर्छ । नत्र कथाले पाठकलाई आकर्षित गर्ने सामथ्र्य राख्दैन । पाठकले कथा पढ्न सुरु गरेपछि बीचैमा झिजो मानेर नछाडोस्, यो खुबी कथाकारमा हुनुपर्छ । यो मानेमा कथाकार फुलमान बल खरो दरिएका छन् । 

द्वन्द्वले नेपाली समाजलाई लामो समयसम्म प्रभावित गरेको कटु यथार्थ हो । उक्त यथार्थलाई आख्यानीकरण गर्न थुप्रै लेखक तदारुकतासाथ लागिपरेको पनि सत्य हो । नेपाली आलोचक नारायण वाग्लेको ‘पल्पसा क्याफे’लाई द्वन्द्वको आख्यानीकरण गर्ने सुरुवाती जस दिन्छन् । तर, पल्पसा क्याफेभन्दा अघि नै फुलमान बलको द्वन्द्वमा आधारित कथासंग्रह प्रकाशित भएको देखिन्छ । त्यसो त काजोल खातुनलाई नै नेपाली द्वन्द्व साहित्यको प्रारम्भ मान्दा अत्युक्ति नहोला । 
काजोल खातुन मूलतः द्वन्द्वबाट प्रभावितको कथा हो । द्वन्द्वको चेपमा परी आफ्नो परिवार र थातथलो गुमाएकाको कथा हो । दश वर्ष छापामार युद्ध लडे पनि सेना समायोजनमा अयोग्य घोषित लडाकुको कथा हो । युद्ध लड्ने क्रान्तिकारीको स्खलन र अन्तर्राष्ट्रिय आतंकवादबाट पीडित युवतीको कथा हो । युद्धले फगत पीडा दिन्छ, आँसु दिन्छ र गर्छ विध्वंस । काजोल खातुनमा समाविष्ट प्रायः कथाको मूलमन्त्र यति हो । 

संग्रहमा पहिलो कथा छ– पेमासाङ थिङ । तामाङ समुदायकी पेमासाङ युद्धरत राजनीतिक दलसँग आबद्ध छिन् । उनलाई पार्टीले उपत्यका हेर्ने जिम्मा दिएको हुन्छ । त्यसो र विद्यार्थीको आवरणमा भूमिगत राजनीतिक गतिविधि गर्छिन् । कलेजमा कथाको म पात्रसँग उनको गहिरो प्रेम बस्छ । तर, पार्टी हेडक्वार्टरको निर्णय शिरोपर गर्दै प्रेम र पढाइ परित्याग गर्दै युद्धमोर्चामा लाग्छिन् । युद्ध रोकिन्छ । युद्धरत पार्टी शान्ति प्रक्रियामा आउँछ । जब सेना समायोजनको बेला हुन्छ, युद्धमा पति गुमाएकी र हरदम काँधमा बन्दुक भिरिरहने लडाकु युवती अयोग्य ठहरिन्छिन् । अन्त्यमा ती अयोग्य लडाकु विदेश पलायन हुन्छिन् र छुट्टीमा घर फर्केका बेला भूकम्पमा धरहरा ढलेसँगै त्यही पुरिएर हराउँछिन् । यसरी युद्धमार्फत समाज रूपान्तरणको सुन्दर सपना देख्ने लडाकु युवतीको दुखः अवसान हुन्छ । युद्धले पेमासाङ थिङझैँ असख्य कथा कोरेको सत्यलाई हामीले नकार्न मिल्दैन । कि युद्धको उचित अवतरण भएन, कि त सेना समायोजनको प्रक्रिया नै गलत थियो । नत्र सुन्दर समाज निर्माणको आदर्श विचारमा जीवन उत्सर्ग गर्न हिँडेकी युवतीलाई अयोग्यको ट्याग भिराइनु कति न्यायसंगत थियो ? मानिसलाई योग्य हुन विचार पनि चाहिन्छ कि शारीरिक बनावट मात्रै ? यसको जवाफ त कसै न कसैले खोज्नैपथ्र्यो । पेमासाङ थिङ त्यही जवाफको खोजी हो । 

संग्रहको शीर्षकथा ‘काजोल खातुन’ अफगानी युवतीको कथा हो । युद्धले परिवार, घर सर्वस्व गुमाएर शरणार्थी जीवन बाँचिरहेकी काजोलको कथा हो । युद्धमा सबथोक गुमाए पनि मानवता र प्रेम फैलाउने उनको अठोट मनन योग्य छ । संग्रहका अरु कथा कम्युनिस्ट केटी, फूलमायाको देश, माइगाउँकी डोल्मा पनि पठनीय छन् । अनि प्रेमको हुरी चल्यो कथामा शान्तिपूर्ण नागरिक आन्दोलनको प्रभावलाई कथाकारले देखाउन खोजेका छन् । 

माथि नै भने फुलमान बल कवि पनि हुन । उनको ‘महाभारतकी मैच्याङ’ नामक कविता कृति प्रकाशित छ । कवितामा झैँ उनको कथामा तामाङ सौन्दर्य पटक्कै भेटिँदैन । पात्रहरूको नाम तामाङ भाषामा राखे पनि तामाङको जीवन पद्धति र समाजको सूक्ष्म चित्रण गर्न बलले अरुचि देखाएका छन् । कथाहरूमा तामाङ गाउँको चित्रण त छ तर त्यो गाउँ द्वन्द्वको मारमा कान्तिहीन छ । गाउँको जीवन पद्धति नै बिथोलिएको छ । ‘महाभारतकी मैच्याङ’ को पहिचानवादी धार काजोल खातुनमा फितलो भएको छ । कथाकारको मानवतावादी धारले द्वन्द्वलाई विद्रूपीकरण गर्न ठूलो कसरत गरेको छ । तसर्थ कथाकारको दृष्टिकोण एकपाटे भएको आलोचकले लगाउने आरोप सत्यको नजिक छ लाग्छ । 

साहित्य लेखन समयको दस्तावेज पनि हो । यसर्थ नै साहित्यमा टाइम र स्पेसको कुरा उठ्छ । काजोल खातुन नेपालको इतिहासमा घटेको दशवर्षे द्वन्द्वको समयचेतना पनि हो । साथै, द्वन्द्व प्रभावको साहित्यिक अभिलेखन । तर यो अभिलेखनमा किन द्वन्द्वको अँध्यारो पक्ष मात्र पर्‍याे ? के दशवर्षे द्वन्द्व इतिहासको निरर्थक कदम थियो ? यस्ता प्रश्नको सामना आगामी दिनमा कथाकार फुलमान बलले पटक–पटक गर्नुपर्ने हुन्छ । 

 

प्रकाशित: १० असार २०७४ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App