१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बालबालिकामा ग्यास्ट्रिक

डा. विनिता जोशी
बालबालिकाको पेट, कलेजो तथा पोषण विशेषज्ञ

शरीरमा चाहिनेभन्दा बढी मात्रामा एसिड उत्पादन हुनुलाई सामान्यतया ग्यास्ट्राइटिस भनिन्छ । बोलीचालीमा यसलाई ग्यास्ट्रिक भनिन्छ । त्यसमा पनि ‘बायोप्सी प्रुभेन’लाई मात्र हामी ग्यास्ट्राइटिस भन्छौँ । ठूला मान्छेमा हुने र आठ/नौ वर्षदेखिका बच्चाहरूमा हुने ग्यास्ट्राइटिस एउटै हो । तर, भर्खरै जन्मेको बच्चादेखि दुई वर्षसम्मको बच्चालाई भने पेटसम्बन्धी ग्यास्ट्राइटिस हुँदैन । उनीहरूलाई इसोफेजाइटिस हुन्छ । खाना खाने नली र पेटको भागमा भएको मसल्स लुज भएर त्यसको टोन कम भयो भने इसेफेजाइटिस हुन्छ ।
ग्यास्ट्राइटिस एच प्योलोरी भन्ने कीटाणुको कारणले हुन्छ । ठूला मानिसहरूलाई पनि यही कीटाणुको कारणले ग्यास्ट्राइटिस हुने हो । यो कीटाणुको संक्रमण बच्चाबेलादेखि नै हुन्छ । जब बच्चाहरू बाहिरी खानेकुरातर्फ आकर्षित हँुदै जान्छन् । यसको संक्रमण झनै बढ्न थाल्छ । कीटाणु सानै उमेरदेखि शरीरमा भए पनि सात÷आठ वर्ष नाघेपछि मात्रै यसको लक्षण देखापर्छ ।
लक्षण
–वाकवाकी लाग्ने
–बिहान र साँझ पेट दुख्ने
–कसैलाई खाना खाएपछि धेरै पेट दुख्ने
–कसैलाई खाना खाएपछि कम हुने
–लक्षण बढिसकेपछि अल्सर बढ्ने
–दुखाईको मात्रा बढेपछि मुखबाट रगतसमेत आउन सक्छ
यसका साथै पेट पोल्ने र अमिलो डकार आउने जस्ता लक्षण पनि देखापर्छन् । यसपछि बच्चाको आहार घट्दै जान्छ र उपचार ढिला हुँदा बिस्तारै तौल घट्दै जान्छ ।
कतिपय अभिभावकमा बच्चाले अमिलो, चिल्लो÷पिरो खानेकुरा खाँदैमा एसिडिटी हुन्छ भन्ने सोच छ । यो एकदमै गलत धारण हो । अमिलो, चिल्लो÷पिरो खाँदैमा एसिडिटी हुँदैन । त्यसले लक्षणलाई बढावा दिने मात्रै हो ।
कसैलाई कीटाणुले संक्रमण गरे पनि लक्षण देखापर्दैन । त्यसको लागि इन्डोस्कोपी गरेर हेर्नुपर्छ । बच्चाको इन्डोस्कोपी भन्नेबित्तिकै आमाबुबा हिचकिचाउँछन् । बच्चाको इन्डोस्कोपी गर्न डराउने अभिभावकलाई एसिडिटी कम गर्ने औषधि दिइन्छ । औषधिले सुधार भए ठीकै छ । यदि सुधार भएन भने इन्डोस्कोपी गर्न ढिला गर्नुहुँदैन ।
त्यस्तै, धेरै अभिभावकले बच्चालाई एसिडिटी भयो भन्नेबित्तिकै खानेकुरा बार्न थाल्छन् । तर, घरमा सामान्य तेलबाट बनाएको अण्डा, माछामासु र अन्य खानेकुरा बार्नुपर्दैन । धेरैले दूध पनि खुवाउँदैनन् । तर, खुवाउँदा फरक पर्दैन । चिल्लो, प्रोटिन र कार्बोहाइड्रटयुक्त खानेकुरा बार्नुपर्दैन । खाना बार्नेबित्तिकै बच्चाको तौल स्वतः घट्दै जान्छ । झनै समस्या निम्तिन्छ ।
१३ देखि १५ वर्षसम्मका बालबालिकामा पढाइको प्रेसर हुन्छ । त्यसै कारणले पनि बढी समस्या उनीहरूलाई नै देखिन्छ । कतिपय बालबालिका सात/आठ घण्टाको अन्तरमा पनि केही नखाइ भोकै बस्छन् । बालकालिकाले पढाइका साथसाथै खानेकुरामा पनि निकै ध्यान दिनुपर्छ । समय–समयमा खानेकुरा खाइरहनुपर्छ । भोको पेट बस्नुहँदैन । व्यवस्थित खानपान भयो भने यस्ता समस्या दोहोरिने सम्भावना निकै कम हुन्छ ।
ध्यान पुर्याउनुपर्ने कुरा
–खानपिन र सरसफाइमा ध्यान दिने
–घरकै खानेकुरामा जोड दिने
–लक्षण नै देखिसकेको छ भने कीटाणु छ कि छैन भनेर हेर्नुपर्छ
इसोफेजाइटिस
भर्खरै जन्मेको बच्चामा भने खाना खाने नली र पेट जोड्ने नलीको भागको मसल्स खुकुलो हुन्छ । त्यसकारण उनीहरूले खानेकुरा खाइसकेपछि हुलुक्क निकाल्ने, वाकवाक गर्ने गर्छन् । त्यो इसोफेजाइटिस हो । खानेकुरा खुवाइसकेपछि टाउको माथि पारेर बच्चालाई सुतायो भने कम हुन्छ । यस्तो बेलामा धेरै अभिभावक आत्तिन्छन् । बच्चाले उल्टी गरेर पनि उसको तौैल ठीक छ भने आत्तिनुपर्दैन । तर, १८ महिना नाघिसकेपछि पनि उल्टीको मात्रा बढ्यो र तौल पनि राम्रोसँग बढेन भने सावधानी अपनाउनुपर्छ । यस्तो अवस्थामा मसल्स चाहिनेभन्दा बढी लुज हुन सक्छ । त्यसैले चिकित्सकको सल्लाह लिनुुपर्छ । मसल्स खुकुलो भएपछि खाना खाने नलीको तल्लोपट्टिको भागमा घाउ बन्न सक्छ ।

 

प्रकाशित: १० असार २०७४ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App