१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

महिलामा सेतो पानी बग्ने समस्या

डा. सुमनराज ताम्राकार
सेतो पानी अर्थात् सामान्य खालको योनिस्राव (योनिरस) मासिक चक्रअनुसार फरक–फरक हुन्छ । सामान्य प्रकारको योनिरसको बहाव पनि व्यक्तिपिच्छे फरक हुन सक्छ । कतिलाई अधिक मान्ने यो चाहिँ ठम्याउन गाह्रो छ । पिप एवं गन्धरहित, नचिलाउने खालको तथा निरन्तर रूपमा योनिद्वार रसिने गरी, भित्री कपडा भिज्ने गरी वा प्याड नै प्रयोग गर्नुपर्ने गरी हुने योनिरसको बहावलाई सामान्य एवं अधिक मान्नुपर्छ । तर, कहिलेकाहीँ सामान्य खालको वा संक्रमित खालको छुट्याउन गाह्रो हुन्छ । संक्रमित भन्नलाई यौनांगको आन्तरिक जाँच पड्ताल वा ल्याब जाँचबाट प्रमाणित गर्नुपर्ने हुन्छ ।
पाठेघरको मुखको क्यान्सरको शंका निवारण गर्न वा प्राकृतिक रूपमा परिवार नियोजन गर्न चाहने तथा परिवार नियोजनका अन्य साधन अपनाउन नचाहने दम्पतीका लागि योनिस्रावको जाँच एउटा राम्रो विकल्प हो ।
महिलाको शरीरमा रहेको इस्ट्रोजेन हार्मोनको प्रभावले योनिरसको उत्पादन हुन्छ । कुनै कारणवश इस्ट्रोजेन हार्मोनको उत्पादन बढ्न गएमा यसले योनिद्वारको बाह्य सतह र पाठेघरको मुखको ग्रन्थीमा असर गरी योनिस्रावको बहाव बढाउँछ । कतिपय अवस्थामा योनिरसको अधिक उत्पादन शरीरको स्वाभाविक उत्पादन नै हो । जस्तै, यौवनावस्थामा, महिनावारीको मध्य भागतिर (डिम्ब निस्किने बेला), महिनावारी हुनु ठिक्क अगाडि स्त्री जननेन्द्रियमा रगतको बहाव बढ्नाले सेतो पानी बढी बग्छ ।
यौनजन्य फिल्म हेर्दा, यौनसम्बन्धी कुरा सोच्दा, पत्रपत्रिका पढ्दा यौन उत्तेजना बढ्छ । यौन उत्तेजनाको बेला योनिद्वारको दुवैतिरको बार्थोलिन ग्रन्थीबाट अधिक मात्रामा ग्रन्थीरस उत्पादन भई तथा गर्भवती बेलामा इस्ट्रोजेन हार्मोनको अधिक उत्पादनले रगतको बहाव बढ्न गई अधिक योनिस्राव हुन्छ ।
 पाठेघरको मुखको बाह्य सतह ताछिएर, पाठेघरको मुख जीर्ण तवरले सुन्निएर, वा त्यसमा सानो मासु पलाएर पनि योनिस्राव बहन्छ । पाठेघर झर्ने (आङ् खस्ने) समस्या भएका, पाठेघर पछाडि फर्किएका, पाठेघरको मुखमा जीर्ण प्रकारले सुन्निएमा, पिल्स चक्कीको सेवन गरेका महिलाको यौनांगमा रगत बहाव बढ्नाले तथा लामो समयसम्म बिरामी हुँदा योनिद्वारको बाह्य तह अत्यधिक झर्नाले पनि बढ्ता मात्रामा योनिरस बग्न सक्छ ।
क्यान्डिडा वा मोनिलियासिस (फङ्गाई) को संक्रमणमा दहीजस्तै सेतो छोक्रा–छोक्रा योनिस्राव हुन्छ भने ब्याक्टेरियल भजाइनोसिसमा खैरो खालको कुहिएको मासुजस्तै गन्हाउने तर नचिलाउने, ट्राइकोमोनास नामक परजीवीको संक्रमणमा हरियो वा पहेँलो खालको योनिस्राव, पाठेघरको मुखको सुन्निएमा पानीजस्तो सङ्लो योनिस्राव, योनिद्वारमा कुनै प्रकारको बाह्य वस्तु अड्किँदा गन्हाउने खालको पिपजस्तो रगत मिसिएको योनिस्राव हुन्छ । पाठेघरको मुखको वा योनिद्वारको भित्ताको ट्युमर (क्यान्सर) मा प्रायः रगत मिसिएको गन्हाउने खालको योनिस्राव बग्छ ।
महिलामा धातुमेह रोग लाग्दा योनिद्वारबाट पहेँलो वा हरियो खालको योनिस्राव बग्ने, पिसाब पोल्ने, हल्का ज्वरो आउने, तल्लो पेट दुख्ने, यौनक्रियाका बेला पीडा हुने, रगत बग्ने हुन्छ ।
उपचार
बढी योनिस्राव हुने महिलाले पोसिलो खानेकुरा खानुपर्छ । विशेष गरी गर्भावस्थाका बेला, पिल्स चक्कीको सेवन गर्दाताका, महिनावारीको मध्यतिर अधिक योनिरस बग्दा चिन्ता गर्नु हुँदैन । पाठेघरको मुखमा रहेको कुनै समस्याले योनिस्राव बढेको हो भने सामान्य खालको शल्यक्रियाजन्य उपचार आवश्यक हुन्छ । पिल्स चक्कीको सेवनले योनिस्राव बढेको छ भने केही समयको लागि पिल्स खान बन्द गर्नुपर्छ । यौनांगको नियमित सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

असामान्य प्रकारको योनिस्राव
सामान्यतया पानीजस्तो सङ्लो, सफा र चिप्लो हुनुपर्ने योनिस्राव यौनांगमा कुनै प्रकारको संक्रमण हुँदा वा यौनरोग लाग्दा भने रङ फेरिई योनिस्रावको बहाव बढ्ने, गन्ध आउने, तल्लो पेट दुख्ने, योनिद्वार चिलाउने, पिसाब पोल्नेजस्ता लक्षण देखिन्छन् ।
पाठेघरको मुख वा योनिद्वारको संक्रमण, पाठेघरको मुखको वा योनीद्वारको भित्ताको ट्युमर (क्यान्सर), योनिद्वारमा कुनै प्रकारको बाह्य वस्तु अड्केमा असामान्य प्रकारको योनिस्राव बग्छ । यसका साथै कडा खालको एन्टी बायोटिक औषधिको सेवन, मधुमेह, एड्सजस्ता मानव शरीरको प्रतिरक्षा प्रणाली कम हुने अवस्थामा पनि योनिस्राव असामान्य हुन्छ ।
उपचार
क्यान्डिडा, धातुमेह, क्लामाइडिया, ट्राइकोमोनासको संक्रमण हुँदा दुवै पार्टनरलाई एकैपटक उपचार गर्नुपर्छ । कारक तत्वअनुसार उपचार गर्नुपर्छ । विभिन्न खाले एन्टी माइक्रोबियल, प्रतिजैविक औषधिको प्रयोगका साथै यौनांग नियमित सफा राख्ने गर्नुपर्छ । सुती कपडाले बनेका भित्री पहिरनको प्रयोग गर्नुपर्छ । बेला–बेलामा बदलिरहनुपर्छ । योनिस्राव अधिक भएमा स्यानिटरी प्याड वा प्रेस गरिएका सुतीका कपडाको प्रयोग गर्नुपर्छ ।

 

प्रकाशित: ११ असार २०७४ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App