१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामाजिक सद्‍भावको पर्व बन्दै इद

इदको पूर्वसन्ध्यामा आइतबार साँझ काठमाडौंको घन्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्दै हिन्दु युवती (बायाँबाट क्रमशः अस्मिता सिटौला, सिर्जना ओली र अनु ओली )। तस्बीर :  उपेन्द्र लामिछाने

उपेन्द्र लामिछाने/वसन्त खड्का

काठमाडौं- काठमाडौं, पेप्सीकोलाकी अस्मिता सिटौला रमजानको पूर्वसन्ध्यामा  आइतबार घन्टाघरस्थित नेपाली जामे मस्जिदमा प्रार्थना गर्दै थिइन्।  अस्मितासँगै उनकी मामाकी छोरी सिर्जना ओली र अनु ओली पनि प्रार्थनामा थिए। अस्मिता मस्जिदमा मात्र होइन, कहिले पशुपतिनाथ त कहिले बौद्ध स्तुपा पनि पुग्छिन्। कहिलेकाहीं त चर्च पनि धाउँंछिन्। धार्मिक आस्थाका हिसाबले भने उनीहरू हिन्दु हुन्। नागरिकसँग अस्मिताले भनिन, 'म धार्मिक आस्थाका कारण यहाँ आएकी होइन तर जब म मन्दिर, मस्जिद, गुम्बा वा चर्चमा जान्छु मनमा शान्ति मिल्छ।'  उनले आफू सबै धर्म र जातिको चाडपर्वमा  रमाउने बताइन्।

पछिल्लो समय अस्मिता जस्तै नयाँ पुस्ता नेपालको विविधतामा रमाउन थालेको छ। कतिपय व्यक्ति तथा समुदायले साम्प्रदायिकतालाई खलल पुर्‍याउने प्रयास गरिरहे पनि युवा पुस्ताले भने एकअर्काको धर्म, संस्कृतिलाई सम्मान गर्ने तथा सहभागिता जनाएर सद्भाव बाँड्ने काम गरिरहेका छन्। एकअर्काको धर्म, संस्कृति र परम्परालाई सम्मान गर्दा आत्मियता झांगिने र समाज सकारात्मक दिशातर्फ अघि बढ्ने अस्मिता, सिर्जना र अनुको  विश्वास छ।

काठमाडौं, चाबहिलका  ८२ वर्षीय हसन खान पछिल्लो समय सामाजिक सद्भाव विगतको तुलनामा बढेको सुनाउँछ्न। डेढ सय वर्ष पहिले भक्तपुरबाट चाबहिल सरेको उनको परिवार हिन्दु समुदायबीचमा सधैं खुसी देखिन्छ। 'दसंैमा हामी हिन्दुहरूसँगै रमाउँछौ,' उनले भने, 'इदमा हिन्दु दाजुभाइ हामीसँगै रमाउँदै घरमा आएर  इदि खानुहुन्छ ।' एकअर्काको धर्मलाई सम्मान गरेकाले दुवै समुदाय खुसी रहन सकेको उनको भनाइ छ।

त्यस्तै मैतीदेवी बस्दै आएका ७८ वर्षीय राहत खानको परिवार पनि धर्मले सद्भाव र शान्तिमा लाग्न प्रेरण दिन बताउँछन्। उनी यहीं जन्मिएका हुन्। 'समाज धेरै फेरिएको छ,' उनले भने, 'एकअर्काप्रतिको सद्भाव भने सधैं उस्तै रहेको छ।'

राजधानीमा मात्र हैन उपत्यका बाहिरका  जिल्लामा पनि सामाजिक सद्भाव बढेको छ। पर्सा बेल्वा गाउँपालिकाका मैनुद्दिन मियाँ हरेक वर्ष इदको अवसरमा हिन्दु साथीभाइलाई निम्त्याउँछन्। इदको सेवई खुवाउँछन् र अंगालो मार्दै  बिदा गर्छन्। 'यस पटकको इदमा पनि निम्ता आइसकेको छन्,' बेल्वाकै विजय पञ्जियारले भने, 'हामी इदमा रमाउनेछांै।' दसंै, लगायत पर्वमा आफूले पनि मियाँलाइ बोलाउने गरेको उनले बताए। पर्सामा केही वर्षअघि स्लाम  समुदायले मन्दिर निर्माण गरेको घटनाले चर्चा पाएको थियो।

टेकेन्द्र बने अब्दुला

काठमाडौं, महाराजगञ्जका अब्दुल्ला बिष्ट केही समय पहिलेसम्म टेकेन्द्र बिष्टका रुपमा परिचित थिए। कम्युटर इन्जिनियरिङ  पूरा गरेका उनी २०६४ सालमा हिन्दु धर्म छाडेर टेकेन्द्रबाट अब्दुल्ला बनेका थिए। 'मैले हिन्दु भएर पनि बाँचे, अहिले इस्लाम अंगालेको छु,' उनले भने, 'मनको शान्ति र समाजको उत्थानका लागि यो धर्म अंगालेको हुँ। 

 ५८ वर्षीय सन्तोष कोइरालाले २०५६ सालदेखि नै स्लाम धर्म अंंगालेका हुन्। हाल उनी अबदुल्ला कोइरालाको नामले चिनिन्छन्। उनी सबै धर्मलाई सम्मान गर्छन्। उनलाई हिन्दु र स्लाम दुवै धर्मको ज्ञान छ। त्यसैले कसैको विरोध गर्देनन्। 'सबैको लक्ष्य एकै हो,' उनले भने, 'बाटा फरक मात्र हुन्।'

आज इद  

स्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड इद एक महिना लामो रमजान व्रतपछि मनाइन्छ। साउदी अरेबिया, चीन, अमेरिका तथा भारतका कतिपय ठाउँमा आइतबार नै इद मनाइए पनि नेपाल पाकिस्तानलगायत देशमा सोमबार इद मनाइँदैछ। आकाशमा चन्द्रमा देखिएपछि मात्र इदको मिति तय हुने भएकाले ठाउँअनुसार फरकफरक दिन यो पर्व मनाइने नेपाल मुस्लिम एसोसियसन अध्यक्ष सलिम खान बताउँछन्। नेपाल पहाडी भूभाग भएको र प्रतिकूल मौसमका कारण कहिलेकाहीं चन्द्रमा नदिखिने हुँदा इद मनाउन भारतीय तथा पाकिस्तानी सञ्चार माध्यममा पनि भरपर्नुपर्ने  खानको भनाइ छ। 'भारत, पाकिस्तान र नेपालमा एकैपटक इद मनाइन्छ, तर मौसमको प्रतिकूलताले चन्द्रमा नदेखिँदा भारत र पाकिस्तानको सूचनामा भर पर्नुपर्छ,' खानले भने।

इद मनाउन घन्टाघरस्थित नेपाली जामे मस्जिद तथा कस्मिरी मस्जिदमा सबै किसिमको तयारी पूरा भइसकेको छ। बिहान नौ बजे सुरु हुने इद नमाजमा हजारौंको संख्यामा उपस्थित हुने र करिब ४० मिनेट अल्लाह (भगवान्) को तारिफ, इद नवाज तथा खुदवा अर्थात् कुरान पढेपछि एकआपसमा अंकमाल गरेर खुसी साटिने खान बताउँछन्। एक महिनासम्म रमजान व्रत बसेका स्लाम धर्मालम्बीले इदकै दिन  व्रत तोडेर खुसी साट्छन्। इदमा दुस्मनलाई समेत मित्र बनाएर खुसी साटने प्रचलन रहेको स्लाम धर्मालम्बी बताउँछन्। इद मनाइसकेपछि पहिलो तीन दिन परिवारभित्र खुसी साटने र भोज गर्ने तथा बाँकी एक महिनासम्म पनि साथीभाई तथा इष्टमित्रलाई भोज खुवाउने प्रचलन रहेको खानले जानकारी दिए। इदुल फितरको दिन सक्नेले गरिबलाई दान लिने चलनसमेत छ। 'यस दिन प्रत्येक मुस्लिमले गरिबलाई कम्तीमा एक सय रुपैयाँ दान दिने चलन रहेको छ,' खानले भने। रमजानमा दिनभर व्रत बसेर साँझ कजुर, पानी वा सर्वत खाएर व्रत तोड्ने प्रचलन छ।

प्रकाशित: १२ असार २०७४ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App