१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भोट हाल्न घर फर्कनेको संख्या बढ्यो

खोटाङ– खोटाङमा स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाता भित्रिनेक्रममा बढेको छ। असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि राजधानी काठमाडौं लगायतका शहरबाट मतदाता जिल्ला भित्रिनेक्रम बढेको हो। हप्ता दिन यता सदरमुकाम भित्रिने अधिकांश बस तथा जीपमा यात्रुको भीड देखिएको खोटाङ यातायात व्यवसायी संघको काउण्टर प्रमुख अमिर अधिकारीले बताए।

उनका अनुसार निर्वाचनको मिति नजिकिएसँगै दिक्तेलबाट बाहिरिने यात्रुको संख्या घटेको र सदरमुकाम भित्रिने यात्रुको संख्याको चाप बढेको छ। ‘निर्वाचनको सारगर्मी सुरु भएसँगै दिक्तेलबाट रित्तो गएको बस जयरामबाट भरी यात्रु लिएर फर्कने गरेको छ,’ अधिकारीले भने, ‘निर्वाचनमा भोट हाल्न आउने यात्रुले सिट नै नपाइरहेको अवस्था छ ।’ राजधानी काठमाडौं, पूर्वको धरान, बिराटनगर लगायतका ठाउँबाट जयराममा आइपुगेका यात्रुले गाडी पाउन नै मुस्किल भएको बताएका छन् । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा योग्य उम्मेद्वारलाई भोट दिनका लागि अक्सर कहिल्यै नआउने स्थानीय पनि गाउँ फर्किरहेका छन् । हाल शहरबाट जयराममा ओर्लिएका यात्रुलाई दिक्तेलसम्म ओसार्नका लागि यात्रुबाहक सवारी साधनलाई भ्याई–नभ्याई छ । दैनिक एकैपटकमा दर्जनौं सवारी साधन यात्रुले भरिने गरेको यातायात व्यवसायीले बताएका छन् ।

निर्वाचन दुई दिनमात्र बाँकी रहेपछि खोटाङका सदरमुकाम दिक्तेल र बजार सुनसान हुन थालेका छन्। सदरमुकाम तथा व्यापारिक केन्द्रमा बसोबास गर्ने मतदाता भोट हाल्नका लागि गाउँ केन्द्रित भएपछि दिक्तेल बजार सुनसानजस्तै भएको छ । हाल निर्वाचनका कारण अधिकांश मतदाता गाउँ केन्द्रित भएका छन्।

प्रकाशित: १२ असार २०७४ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App