१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘खाना खानुभयो ?’

झन्डै १५ वर्षअघि डा. अरुणा उप्रेती डोटी गएकी थिइन्, होटलमा बसेकी उनले साँझको खानामा रोटी–तरकारी खाइन् । उनका साथीले भने भात खाए । अर्काे दिन बिल तिर्दा उनले २० रूपैयाँ मात्र तिर्नुप¥यो, साथीहरूको भागमा ७५ रूपैयाँ प¥यो । यसको कारण थियो, त्यहाँ भात नखाएसम्म खाना खाएको मानिँदैनथ्यो । अरुणा अहिले पनि नेपालीहरूमा भातबाहेकका खाद्य पदार्थलाई खाना मान्ने चलन नै नरहेको बताउँछिन् ।

१२ वर्षपहिले स्वास्थ्य शिविरका सिलसिलामा उनी अछाम पुगेकी थिइन् । त्यहाँ एक गर्भवती महिला आइन् । उनले समस्या सुनाइन्, ‘रोटी, दूध, आलु खान्छु तर खाना मीठो हुँदैन । उनको बुझाइमा खाना भनेकै भात थियो । 

एकपटक एक साथीले उनीसँग सल्लाह मागिन्, मोटोपन घटाउने कसरी ? अरुणाले ती साथीलाई घरमा बोलाइन् र कोदोको सुप बनाएर दिइन् । तर, ती साथीले कोदोको सुप त आफ्नो घरमा कुकुरले मात्रै खान्छ भनेर अस्वीकार गरिन् । 

अरुणाले भनिन्, ‘तिम्रो घरमा तिमीले भन्दा कुकुरले स्वस्थ र पौष्टिक आहार खाँदो रहेछ ।’ 

ती साथी कोदोको सुप खानुभन्दा मोटी नै रहन तयार भइन् । अहिले पनि उनी मोटी नै रहेको अरुणाले बताइन् ।

अरुणा खानामा सकेसम्म सम्झौता गर्दिनन् । खाना स्वस्थकर हुनुपर्छ भन्नेमा उनी सचेत छिन् । केही दिनका लागि बाहिर निस्कँदा उनको झोलामा कोदो वा फापरको रोटी र चिउरा प्रायः छुटदैन् ।

आफूले बोकेको खाजा सकियो भने उनले जैविक खाना नै खान्छिन्, तर जंक फुड, उनको भाषामा पत्रु खाना, सकेसम्म खाँदिनन् । 

अरुणा पेसाले चिकित्सक हुन् । कामको सिलसिलामा नेपालका अधिकांश जिल्ला पुगेकी छन् । बेलाबेला देशबाहिर पनि गइरहन्छिन् । 

उनी जहाँ पुग्छिन्, त्यहाँ जैविक खानाको चर्चा गर्न छुटाउँदिनन् । विगत अढाई दशकदेखि उनले औपचारिक, अनौपचारिक जमघटमा कोदो, फापर, रोटी, आलुलगायत अग्र्यानिक खानेकुराको महत्त्व बताउँदै अाएकी छिन् ।

उनी जंक फुड उपभोगको कट्टर विरोधी हुन् । पौष्टिक आहारबारे उनले अखबारमा निरन्तर कलम चलाउँदै आएकी छन् । ‘म पोषण विज्ञ होइन, तर भोगाइ र अनुभवले यस विषयमा कलम चलाउन प्रेरणा मिल्यो,’ उनले भनिन् । 
जंक फुडको बढ्दो उपभोग र मागप्रति उनी चिन्तित छन् । ‘कतिसम्म भने जहाँ औषधि पुगेको छैन, त्याँ जंक फुड पुगेको छ, यो निकै चिन्ताको विषय हो,’ उनले भनिन् । 

ग्रामीण क्षेत्रमा पौष्टिक आहार कोदो, आलु, अन्डा बेचेर बालबालिकालाई जंक–फुड खुवाएको देख्दा उनलाई दुख्छ । उनले आफ्ना दुई छोरीलाई पनि जैविक खानामै जोड दिइन् । छोरीहरु स्कुल पढ्नेताका उनले घरबाटै खाजा प्याक गरेर पठाउँथिन् । 

३–४ चार कक्षा पढ्ने जेठी छोरी दीप्तिले एकपटक स्कुलमा खाजा नखाई फिर्ता ल्याइन् । उनलाई साथीहरूले घरको खाना ल्याएको भनेर जिस्क्याएका थिए । 

पछि स्कुलले विद्यार्थीको खाजा चेकजाँच ग¥यो, सबैभन्दा स्वस्थकर खाना दीप्तिकै देखियो । अरुणा भन्छिन्, ‘मैले छोरीहरूलाई घरबाटै स्वस्थकर र पोसिलो खाना बनाएर पठाउँथे । तर, उनीहरुका अन्य साथीले जंक फुड खाँदा रहेछन् । घरबाटै खाजा लैजान मेरा छोरीलाई अप्ठेरो लागेछ, पछि उनीहरूले बुझ्दै गए, घरबाट खाजा लैजान हिच्किचाएनन् ।’ 

अरुणाले पौष्टिक खानाबारे बुझेदेखि नै उनको भान्सामा जैविक खाना पाक्न थालेको हो । उनको रोजाइमा कोदो, फापरका रोटी पर्छन् । जसबाट उनका छोरीहरु आजित बने र एक दिन भने– तपाईंलाई सबैले ‘कोदे बूढी’ भन्छन् । छोरीहरूको कुरा सुनेर उनी झनै खुसी भइन् । ‘यो त धेरै सकारात्मक कुरा हो,’ उनी भन्छिन्, ‘स्थानीय खानाको प्रवद्र्धन गर्दा कसैले त्यही नामले मलाई सम्बोधन गर्छ भने त्यो मेरो सफलता होइन र ?’ 

उनले कहिलेकाहीँ आफ्ना साथीभाइलाई घरमा खाना खान बोलाउँछिन् । र, कोदोको ढिँडो, फापरको रोटी खुवाउँछिन् । कतिले उनलाई सुनाउँछन् पनि– ढिँडो खुवाएर तिमीले साथीहरूको अपमान गर्‍याै यस्ता कुरालाई उनले वास्तै गर्दिनन् । उनी भन्छिन्, ‘मैले उनीहरूकै स्वास्थ्यलाई ध्यान दिएर पौष्टिक भोजन खुवाउँदा आलोचना गर्छन् भने मलाई केही फरक पर्दैन ।’  

नेपालको पहाडी क्षेत्रमा उत्पादन हुने गहुँ, मकै, कोदो, आलुलगायत खाद्यपदार्थ आफैँमा स्वस्थकर र पौष्टिक हुन्छ । तर, यस्ता खाद्यपदार्थ बेचेर मानिसहरूमा भात वा पत्रु खाना खाने प्रचलन बढेको अरुणा बताउँछिन् । कर्णाली अञ्चलमा खाद्यान्न अभाव नभएर चामलको मात्र अभाव भएको तर राज्यले जबर्जस्ती भोकमरी लगाएको उनको तर्क छ । उनी भन्छिन्, ‘त्यहाँ पनि आलु, कोदोलगायत खाद्यपदार्थ उत्पादन हुन्छन् तर राज्यले त्यसलाई खाद्यपदार्थ नै मान्दैन ।’ राज्यकै कारण स्थानीय स्तरमा खाद्यपदार्थको उत्पादन घटेको उनको दाबी छ ।
 
आफ्ना तमाम अनुभव र भोगाइका आधारमा ग्रामीण क्षेत्रमा पाइने खाद्यपदार्थको महत्त्व बुझाउन तथा भ्रमपूर्ण विज्ञापन गरेर बजारमा उपस्थिति जनाउने जंक फुड स्वास्थ्यका लागि हानिकारक रहेको तथ्य बुझाउन उनले लक्ष्मण अधिकारीसँग मिलेर ‘खाना खानुभयो ?’ पुस्तक लेखेकी छन् । यो पुस्तक नेपालय पब्लिकेसनमार्फत आइतबार सार्वजनिक हुँदै छ ।

पुस्तकमा उनले लामो समयदेखि आफूले उठाउँदै आएका जनस्वास्थ्यसँग जोडिएका विषयलाई समेटेकी छन् । बजारमा पाइने चिसो, शक्तिवद्र्धक पेयपदार्थ र जंक फुडका विज्ञापनले फैलाएको भ्रमलाई पुस्तकले चिर्ने उनको भनाइ छ । ‘पुस्तकले स्थानीय उत्पादनको महत्त्व बुझाउनेछ । खाना भनेको भात मात्र हो भन्ने भ्रम चिर्नेछ,’ उनले भनिन् । 

प्रकाशित: १७ असार २०७४ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App