१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सलमानको 'ट्युबलाइट'ले डुबाए वितरक

मुम्बई- विगत ८ वर्षयता भारतीय बक्स अफिसमा सुन फलाउँदै  आएका बलिउड अभिनेता सलमान खान  यो पटक भने   असफल बनेका छन्। उनको फिल्म 'ट्युबलाइट'को कमाइको आँकडाले जसोतसो घस्रेर १ सय करोड पार गरे पनि फिल्मका वितरक लाई भने 'चुना' लगाएको छ। फिल्मबाट निर्माताले नाफा कमाए पनि वितरक फिल्मबाट डुबेका छन्।

फिल्म व्यापार विश्लेषकका अनुसार फिल्मका वितरकले झण्डै ७५ करोडको घाटा व्यहोरेका छन्। फिल्मलाई उच्च मूल्यमा खरिद गरेकै कारण वितरकले व्यहोरेको घाटाको हिसाब उच्च देखिएको हो।

'फिल्मको रिलिज अघि नै सलमान २ सय देखि २ सय ५० करोड रुपैंयाँको फाइदामा थिए। हामी वितरकलाई कति नोक्सान भयो भन्ने कुरा केही दिनमै सबैलाई थाहा हुन्छ,'फिल्मको वितरण अधिकार लिएको कम्पनी एनएच स्टुडियोको मार्केटिङ समूहसँग आवद्ध श्रद्धा हीरावतले भनिन्,'तर हाम्रो अनुमान अनुसार वितरकलाई ५० करोडभन्दा बढी घाटा भएको छ। हामीले यो फिल्म लगभग १ सय ३१ करोड रुपैंयाँमा किनेका थियौं।'

इदमा रिलिज भएको कबिर खान निर्देशित फिल्मले रिलिजको १० दिन पछि मात्र १ सय ११ करोड आसपास कमाइ गरेको थियो  जुन  सलमानको रिलिज भएका पछिल्ला फिल्ममध्ये सबैभन्दा कम हो। सलमानको पछिल्लो फिल्म 'सुल्तान'ले तीन दिनमा १ सय करोड बढी कमाइ गरेको थियो।

फिल्मका वितरकले घाटा भएपछि नोक्सानको भरपाइ सलमानले केही हदसम्म पुरा गरिदिने आशा राखेका छन्। श्रद्धाका अनुसार फिल्मले २ सय ६० करोड रुपैंयाँको कारोबार गरेमा मात्र वितरक आर्थिक नोक्सानबाट जोगिन्छन्। 'तर अब त्यो पनि असम्भव बनिसकेको छ। सलमानसँग हाम्रो जुन सम्झौता भएको छ, त्यो अनुसार हाम्रो नोक्सानको भरपाइ गर्न सलमानलाई बाध्य पारिएको छैन  ' श्रद्धाले भनेकी छन्।

फिल्म व्यापार विश्लेषक कोमल नाहटाले वितरकको एक टिम हालै मात्र सलमानलाई भेट्न गएको दाबी गरेका छन्। 'मेरो बुझाइमा सलमानले पुरा पैसा वितरकलाई नदिए पनि केही हदसम्म चाहिँ उनले क्षतिपूर्ति दिनेछन्। तर, फिल्म अत्याधिक मोटो रकममा किनेकाले क्षतिपूर्ति दिने सम्भावना चाहिँ तुरुन्तै देख्दिन् ' उनले भनेका छन्।

सलमानको फिल्म 'सुल्तान' र 'बजरंगी भाईजान' ले तीन सय करोड बढी कमाइ गरेकेा थियो। यी दुई फिल्मको व्यापार देखेका वितरकले यही कारण 'ट्युबलाइट' मोटो रकममा किनेका थिए।  

प्रकाशित: २२ असार २०७४ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App