धरानमा एमालेले मतान्तर बढाउँदै, तीन दिनपछि 'फाइनल रिजल्ट'

आइतबार, २५ असार २०७४, १९ : ०३ रोहित राई


धरान- प्रदेश नं १ अर्न्तगत धरान उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन अझै ३ दिन लाग्ने अनुमान छ। वडा नं ९ र १० को नतिजा घोषणाअघि विवाद उत्पन्न भएर २ दिनसम्म गणना कार्य रोकिएको कारण धरानबासीहरुले नयाँ मेयर र उपमेयर पाउन ढिलाई भएको हो।

निर्वाचन अधिकृतको कार्यालयले अनुभवी गणक कर्मचारीहरु थपेर मतगणना कार्यलाई तीब्रता दिए पनि गणनाको अन्तिम नतिजा आउन ३ दिन लाग्नसक्ने जनाएको छ। निर्वाचन कार्यालयले विवादित दुई वडाको पुनःमतगणना गर्ने निर्णय गरेपछि दलहरुको सहमतिमा सोमबार रातीदेखि गणनाले तीब्रता पाएको हो।

अहिले वडा ९ र १० को पुनःमतगणनासँगै वडा ११, १५, १६, १७, १८ र १९ को पनि गणना भइरहेको छ। 'अहिले दलहरु, प्रहरी प्रशासन सबैबाट पनि सहयोग पाइराखेका छौं, गणनामा कुनै विवाद छैन,' निर्वाचन अधिकृत कमलबहादुर थापाले भने, 'गणकहरु थप गरेर गणनालाई तीब्रता दिइरहेका छौं।'

कार्यालयका अनुसार आइतबार दिउँसोसम्म धरानको ११ वटा वडाको गणना सम्पन्न भइसकेको थियो भने ९ वटाको गणना जारी थियो। त्यसबेलासम्म खसेको मतमध्ये करिब ३८ हजारको हाराहारीमा मतगणना भएको अधिकृत थापाको भनाई छ। असार १४ गतेको निर्वाचनमा धरानमा ५३ हजार ८ सय १२ मत खसेको थियो। निर्वाचन कार्यालयका अनुसार गणकहरु थपेर ९ वटा समूह बनाएर मतगणनालाई तीब्रता दिइएको छ। 'पर्सी मंगलबार मध्याह्नसम्म मतगणनाको अन्तिम नतिजा आइसक्छ भन्ने अनुमान छ, त्यसको लागि ५४ गणक कर्मचारी ल्याएर ९ वटा टिममा गणना गरिरहेका छौं,' अधिकृत थापाले भने।

आइतबार साँझसम्मको मतपरिणाम अनुसार कांग्रेसले ४ वडा र एमालेले ८ वडामा प्यानल जित पाएको छ। कांग्रेसले १, २, ५ र १४ मा प्यानल जित्दा एमालेले ३, ४, ६, ७, ८, १२, १३ र २० वडामा प्यानल जित पाएको छ। माओवादी केन्द्र, संघीय समाजवादी फोरम गठबन्धनले भने कुनै पनि वडामा जित्न सकेको छैन।

गणना भइरहेको ९ वटा वडामध्ये १८ मात्र कांग्रेसको प्यानल र १७ मा वडाअध्यक्षमा माओवादीको बाहेक अन्य वडामा पनि एमाले उम्मेदवारकै अग्रता छ।

मेयर, उपमेयरमा एमालेको फराकिलो अन्तर

धरान उपमहानगरको जारी मतगणनामा मेयर र उपमेयरमा एमाले उम्मेदवारको मतान्तर बढ्दै गएको छ। आइतबार साँझसम्मको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार तारा सुब्बाले कांग्रेसका उम्मेदवार तिलक राई भन्दा ३ हजार १ सय मतले अग्रता लिएका छन्।

गणना सम्पन्न भइसकेको १२ वटा वडा र मतगणना जारी रहेको ८ वटा वडाको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार सुब्बाले १४ हजार ७ सय २० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार राईले ११ हजार ६ सय २० मत छ। यस्तै, तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ६ हजार ८ सय ९४ मत पाएका छन्।

उपमेयरमा पनि एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले कांग्रेसकी उम्मेदवार श्यामा रेग्मी भन्दा ४ हजार २ सय ५ मतले अग्रता लिएकी छिन्। एमालेकी भण्डारीले १४ हजार ९सय ६४ मत पाउदा कांग्रेसकी रेग्मीले १० हजार ७ सय ५३ मत पाएकी छिन्। यस्तै, माओवादी समाजवादी गठबन्धनका उपमेयर उम्मेदवार पारस राईले ३ हजार ८ मत मात्र पाएका छन्।

पूर्वगाविस अध्यक्ष वडामा विजयी

२०५४ सालको स्थानीय निर्वाचनमा साविक विष्णुपादुका गाविसको अध्यक्षमा निर्वार्चित भएका ६५ बर्षीय मणिराम राई स्थानीय तह निर्वाचनमा भने वडाको अध्यक्षमा विजयी भएका छन्। साविक गाविस धरानमा गाभिएर उपमहानगर बनेको थियो। पछि राज्य पुर्नसंरचना हुँदा साविक गाविसको ९ वडामध्ये ८ वटा मिलेर वडा २० बनेको थियो। एउटा वडा मात्र छुटेको भौगोलिकरुपमा साविक गाविस झै रहेको वडा २० मा दुई दशकपछि राई पुनः नेतृत्वमा आएका हुन्।

'गाविसको ९ वडामध्ये ८ वटा मिलेर २० नं वडा बनेको छ, त्यसैले भुगोल साविक गाविसकै छ,' अध्यक्षमा चुनिएका राईले भने,'पहिला जित्दा कसरी काम गर्ने होला भन्ने द्धिविधा थियो, अहिले त अनुभव छ। जनताको काम गर्नलाई समस्या छैन।' नवनिवार्चित अध्यक्ष राई इमान्दार, कर्मठ राजनीतिज्ञ एवं समाजसेवीकोरुपमा परिचित छन्। उनी एमाले सुनसरी जिल्ला कमिटि सदस्य पनि हुन्। आफ्नो वडामा एमालेले अघि बढाएको भौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य, बाटो, खानोपानीलगायत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने उनले खुलाए।

अध्यक्ष राईले ८ सय मत पाएर विजेता बन्दा उनका निकटतम प्रतिद्धन्दी पदमबहादुर लिम्बूले ६ सय १४ मत पाए। विजेता राईको प्यानलबाट महिला सदस्यमा फुलमाया तामाङ, दलित महिला सदस्यमा यशोदा घिमिरे(विश्वकर्मा) र खुला सदस्यद्धयमा कर्णबहादुर तामाङ, महासेर राई विजयी भए।









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

सपनाको सहर : 'पाइलैपिच्छे समस्या छन्'

मिलेका भवन होऊन्, वरिपरि हरियाली देखियोस्। आफू बसेको ठाउँनजिकै सबै सुविधा पाइयोस्। सडक सफा होस्, ठाउँठाउँमा ट्राफिक चिह्न होऊन्। नत्र...

भूकम्पको कथामा 'नीरफूल'

भूकम्पको कथामा 'नीरफूल'

बिनासकारी भूकम्पपछि छिन्नभिन्न बनेको एक परिवारको कथालाई प्रस्तुत गरेर फिल्म 'नीरफूल' निर्माण गरिएको छ। सर्ट फिल्म 'सेलफोन' बनाएका सञ्चारकर्मी तथा...

गायिका वली र गायक अधिकारी सम्मानित

गायिका वली र गायक अधिकारी सम्मानित

गायिका कोमल वली र गायक अजय अधिकारी ‘सुशील’ सम्मानित भएका छन् ।  तीजको अवसर पारेर नीजि तथा आवशीय विद्यालयको छाता...

प्रभाससँग महँगो रोमान्स

प्रभाससँग महँगो रोमान्स

दक्षिण भारतीय फिल्म 'बाहुबली'को सफलतापछि चर्चामा आएका प्रभासको आगामी फिल्म 'सोहा' हो। फिल्मको उनको अपोजिटमा कुन नायिका हुन्छिन् भन्ने यकिन...