२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

परिवार नै पहिलो

– अनिल यादव

युवा नेता गगन थापा आफ्नो अधिकांश समय राजनीतिमा समर्पित गर्छन् । घरमा उनका तीन र छ वर्षका दुई छोरी छन् । दिनमा मुस्किलले एक–दुई घण्टा समय उनी छोरीहरूसँग बिताउँछन् । तर, घर पुग्नासाथ छोरीहरूको मुहारमा छाउने खुशी र उमंग जति मिठो उनलाई जीन्दगीमा अरु केही लाग्दैन ।

बसुन्धरा खड्का र दिलिप घिमिरे दुवै प्रहरी सेवामा कार्यरत छन् । दुवै डिएसपी हुन् । उनीहरूले प्रहरी सेवामा भर्ती भएपछि बिहे गरेका हुन् ।  उनीहरूको १० वर्षको छोरा छ, मामाघर बसेर पढिरहेको छ । आ–आफ्नो ड्युटीका कारण उनीहरूले छोरालाई पर्याप्त समय दिन सकेका छैनन् ।
छोराले जब क्यालेन्डरमा सरकारी विदा देख्छ दुवैजनालाई एउटै प्रश्न सोध्छ, ‘कहिले आउनुहुन्छ ?’ त्यतिवेला बहाना बनाउनु बाहेक उनीहरूसँग अर्को विकल्प हुँदैन ।  

गायक प्रमोद खरेल स्टेजमा एकदमै धेरै व्यस्त हुन्छन् । कन्सर्टका लागि देश–विदेश पुगिरहेका हुन्छन् । घरमा उनकी श्रीमती र पाँचवर्षको छोरामात्र हुन्छन् । उनको एउटा गीत हिट छ– ‘मेरो दिल छ पोखरामा’ । अमेरिकाको स्टेजमा पुगेर उनले यो गीत गाइरहँदा पनि उनको दिल चाँही घरमा भइरहेको हुन्छ, छोरा र श्रीमतीको यादले सताइरहेको हुन्छ ।

डाक्टर चक्रराज पाण्डेको ध्यान बिहान उठेदेखि राति सुत्नुअघिसम्म अस्पतालमै हुन्छ । काठमाडौं, धापासीस्थित ग्रान्डी हस्पिटलका बोर्ड डिरेक्टर समेत रहेका उनी त्यहाँको हाडजोर्नी विभागका प्रमुख पनि हुन् । उनका एक छोरा र एक छोरी अहिले अध्ययनका सिलसिलामा विदेशमा छन् । श्रीमती र सानी छोरी उनीसँग बस्छन् । छोरी र श्रीमतीलाई सँगै लिएर घुम्न जाने थुप्रै योजनाहरू उनका घरमा नबन्ने होइनन् । तर अस्पतालबाट आउने ‘इमरजेन्सी कल’ले ती योजनाहरू एक चुट्कीमा तुहिन्छन् ।
 
०००

यो आ–आफ्नो पेशामा एउटा छुट्टै पहिचान बनाएको चार परिवारको कथा हो । कथाभन्दा पनि बाध्यता हो । भनिन्छ, सबैका लागि संसारमा सबैभन्दा प्यारो र महत्वपुर्ण हुन्छ– परिवार । परिवारबाट टाढिने मन त कसलाई हुन्छ र ? तर मान्छेका केही काम अर्थात् पेशाहरू यस्तो हुन्छन् जसले उनीहरूलाई नचाहँदा–नचाहँदै पनि परिवारबाट टाढा बनाउँछ । खासगरी राजनीति, सुरक्षा, स्वास्थ्य, कला, व्यवसायलगायत क्षेत्रमा कार्यरत व्यक्तिहरू परिवारलाई समय दिन सकिरहेका हुँदैनन् । परिवारलाई समय व्यवस्थापन गर्न उनीहरूलाई हम्मेहम्मे पर्छ । कतिपय व्यवस्थापन गर्न नजानेर पनि समय दिन सकिरहेका हुँदैनन् । ‘हरेक सन्तानले सबैभन्दा पहिला आफ्नी आमाले उसलाई समय देओस् भन्ने चाहन्छ,’ शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘आमाले समय दिन नपाएको वा नसकेको खण्डमा बुबाको आश गर्छन् । यदि दुबैले समय दिन सकेन भने उनीहरू धागो काटिएको चंगा जस्तै हुन्छन् ।’

समय दिन नसक्दा...
मनोविद्हरू भन्ने गर्छन्– आमाबुबाले आफ्नो परिवार तथा बालबच्चालाई समय दिन नसक्दा त्यसले उनीहरूमा ठूलो प्रभाव पारिरहेको हुन्छ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमाले छोरा कल्याण र छोरी कल्पना समय दिन नपाएको सम्झिँदा आज उनीहरूप्रति अन्याय गरेको महसुस गर्छन् । त्यतिवेला उनकी श्रीमती पनि स्कुलमा पढाउँथिन् । दुवै व्यस्त हुन्थे । तैपनि उनकी श्रीमती बालबच्चालाई पनि समय दिन भ्याइरहेकी थिइन् । ‘तर श्रीमती र आफन्तको काखमा हुर्केकाले उनीहरू गलत बाटोमाचाँही लागेनन्, यसमै खुशी छु,’ उनले भने । तर परिवारलाई समय दिन नसक्दा त्यसले पार्ने प्रभावबारे उनलाई राम्रो जानकारी छ । ‘समय दिन नसक्दा बच्चाहरू एकलकाटे हुन्छन्, कुलत र कुसंगतमा लाग्ने प्रवल सम्भावना हुन्छ,’ उनले भने, ‘उनीहरूको व्यवहार नै एकदमै डरलाग्दो हुन्छ । मायाको अभावमा छोराछोरीहरू ओझेलमा पर्छन् । त्यस्तै खानपानको व्यवस्थापन हुन नसक्दा शारीरिक रूपमा पनि असर पर्छ । विभिन्न कारणवस मानसिक रूपमा पनि उनीहरूलाई ठूलो आघात पुग्छ ।’

यता गायक प्रमोद खरेललाई समय दिन नसक्दाको परिणामबारे थाहा छ । भन्छन्, ‘परिवारलाई समय नदिँदा पारिवारिक समस्या निम्तन सक्छ र बच्चाको स्याहारसुसारमा पनि कमी आउँछ । यसले दिर्घकालीनअसर गर्न सक्छ । त्यसैले म जसोतसो समय मिलाउने कोसिस गरिरहेको हुन्छ । तर पनि भनेजस्तो समय दिन सकिरहेको छैन ।’

परिवारलाई समय दिन नसक्दा त्यसले छोराछोरीलाई वर्तमानमा मात्र नभई भविष्यमा पनि दिर्घकालीन असर गर्ने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । ‘यसका कारण उनीहरू अरुले भनेको नसुन्ने, अरुको कुरा चित्त नबुझाउने किसिमका बन्छन्’ समय नदिँदाका असरबारे उनले विस्तृतमा भने, ‘उनीहरू आफूलाई एक्लो महसुस पनि गर्न थाल्छन् । अभिभावक र सन्तानबीच एकप्रकारको द्वन्द्व सिर्जना हुन्छ । आमाबुबालाई उनीहरूले उत्पादक वस्तुको रुपमा मात्रै हेर्छन् । उनीहरूको सम्बन्ध व्यापारिक र आवश्यकतामा मात्रै सीमित हुन्छ । संस्कार सिक्ने कुरामा पनि उनीहरूपछि पर्छन् । उनीहरूमा भावना वा संवेग नै हराउँछ । निर्दयी स्वभावका हुन्छन् । त्यसैले हरेक अभिभावकले १५÷१६ वर्षको उमेरसम्मका आफ्ना सन्तानलाई अनिवार्य समय दिनुपर्छ ।’

बाआमालाई हेरेर छोराछोरीले धेरै कुरा सिक्छन् भन्ने कुरामा कांग्रेस नेता गगन थापा पनि सहमत छन् । ‘मेरा स–साना छोरीहरू पनि अब हुर्किने क्रममा छन्’, उनले भने, ‘अब उनीहरूले पनि मलाई उनीहरूको नजिक पाउनुपर्छ । पाहुनाजस्तो रातीमात्र घर पुगे भने त उनीहरूले मबाट केही नसिक्ने भए । त्यसैले अब उनीहरूलाई सक्दो बढी समय दिने प्रयत्नमा छु ।’

‘हरेक सन्तानले सबैभन्दा पहिला आफ्नी आमाले उसलाई समय देओस् भन्ने चाहन्छ । आमाले समय दिन नपाएको वा नसकेको खण्डमा बुबाको आश गर्छन् । यदि दुबैले समय दिन सकेन भने उनीहरू धागो काटिएको चंगा जस्तै हुन्छन् ।’
         –शिक्षाविद् विद्यानाथ कोइराला

राजनितिज्ञहरूको जीवन पनि एकदमै अस्तव्यस्त सुनिन्छ । राजनीतिक परिवार अरू सामान्य परिवार सरह रसिलो र सुखी हुन्छ ? भन्ने प्रश्नमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक परिवारसँग भनेको थिए, ‘मलाई कहिलेकाहीँ आफ्नो परिवार निरसजस्तो लाग्छ । छोरी बिहे गरेर गइसकिन् । हिसिलाजी पनि व्यस्त भइराख्नुहुन्छ । कहिलेकाहीँ त हाम्रो भेट हुनै समय लाग्छ । त्यो बेला यस्तो पनि जिन्दगी हुन्छ ? भन्ने लाग्छ । तर, हामी स्वेच्छाले राजनीतिमा लागेका हौँ । यसलाई पनि सहजै स्विकार्छाैं ।’

छुट्टयाउनुपर्छ समय
परिवारलाई समय दिने सवालमा नागरिक परिवारले थुप्रै व्यस्त व्यक्तित्वहरूसँग कुराकानी गर्यो । सबैले समय दिन नसकेको महसुस मात्र गरेनन्, छुट्टयाउनका लागि अतिरित्त प्रयास गर्नुपर्ने आवश्यकता पनि महसुस गरे । ‘तीन वर्षकी सानी छोरीले मलाई कहिले तान्छे, कहिले चिथोर्छे,’ गगन थापाले भने, ‘कहिले त रुन्छे पनि । म घरमा परिवारसँग जति उपलब्ध हुनुपर्ने त्यति हुन सकेको छैन । मैले छोरीको एक्सप्रेसनबाट पनि त्यो फिल गर्न सक्छु ।’

हाल जिल्ला प्रहरी कार्यलय म्याग्दीकी प्रहरी प्रमुख रहेकी डिएसपी बसुन्धरा खड्का त छोरा चार महिनाको हुँदा तालिमका लागि उनी भारत जानुपरेको थियो । त्यहीबेला उनका श्रीमान घिमिरे पनि डियुटीमा जिल्ला बाहिर खटिएका थिएँ । ‘हामीले छोरालाई समय नै दिन पाएका छैनौ, बिरामी हुँदासम्म समय मिलाउन गाह्रो हुन्छ,’ बसुन्धराले भनिन्, ‘यस्तो कुरा सम्झिदा त रुन मन लाग्छ । तैपनि मोबाइल, सामाजिक सञ्जालबाट भिडियो कल गरेर कुराकानी गरिरहेका हुन्छौं । प्रत्यक्ष समय दिन नपाए पनि छोरालाई बिहान बेलुकी सामाजिक सञ्जालबाटै पढाइमा सघाइरहेको हुन्छु ।’

हास्यजोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पछिल्लो समय सामाजिक कामका कारण निकै चर्चामा छन् । उनीहरूको एउटी छोरी छिन् जो भर्खरै तीन वर्ष पूरा गरेर चार वर्ष लागिन् । नर्सरीमा पढ्दैछ्नि । छोरीलाई सम्बोधन गरेर सितारामले केही समयअघि लेखेको एउटा चिठ्ठीले सामाजिक संजालमा ठूलो चर्चा पाएको थियो । चिठ्ठीमार्फत सितारामले समय दिन नसकेको दुःख र आत्मग्लानी महसुस गरेका थिएँ ।
 तीनओटा नमुना बस्तीको निर्माण गरिसकेका उनीहरू अहिले ‘नमूना नेपाल’ को योजना काँधमा बोकेर हिडिरहेका छन् । ‘मैले छोरीसँग छ÷सात महिना पनि राम्रोसँग बिताउन पाएको छैन,’ सितारामले भावुक हुँदै भने, ‘मलाई छोरीको त्यो बालापन हेर्न मन  छ, तोतेबोली सुन्न मन छ । उनले लेखेका अक्षरमा रमाउने मन छ । मन हुँदाहुँदै पनि समय दिन सकेको छैन ।’ दिदी पवित्रा र भिनाजु मदनले अहिले उनीहरूको छोरी हेरचाह गरिरहेका छन् ।

धेरै काम, काम, काममात्र भन्नु पनि ठिक होइन । यसले परिवारमा समस्या निम्त्याउन सक्छ । शिक्षाविद् केदारभक्त माथेमा पनि यो कुरामा सहमत सुनिए । ‘काम भनेको एउटा एकदमै डरलाग्दो लत हो । जति गर्यो त्यसमा नै भुलिँदै र बिस्तारै भासिँदै गइन्छ,’ उनले भने, ‘काममा लागेपछि काम बाहेक केही देखिदैँन । तपाईं प्रधानमन्त्री नै बन्नुभए पनि तपाईंको काम र अफिस भनेको अस्थाई हो । परिवार भने सधै स्थायी हुन्छ ।’ परिवारबारे उनले थप भन्दै गए, ‘आफूलाई आत्मबल र आत्मसन्तुष्टि मिल्ने परिवारबाट नै हो । परिवारको साथ र सहयोग बिना केही गर्न सकिदैन । उनीहरूकै साथले फूर्ति बढ्छ । आँट आउँछ । सोच बदलिदिन्छ । हामीले काम गर्ने भनेकै परिवारका लागि हो । यदि आफ्नो कामबाट परिवार खुशी छैन भने आफू पनि खुशी हुन सकिदैन ।’

यता शिक्षाविद् विद्यानाथ कोइराला हरेक अभिभावकले १५/१६ वर्षको उमेरसम्मका आफ्ना सन्तानलाई अनिवार्य समय दिनुपर्ने बताउँछन् ।‘समय नदिएको खण्डमा उनीहरू गलत बाटोमा लाग्ने प्रवल सम्भावना हुन्छ,’ उनले भने,‘उनीहरूलाई बुबाआमाको खाँचो हुँदा समय दिएर न्याय गर्यो भने भविष्यमा बालबच्चाले पनि अभिभावकलाई न्याय गर्न सक्छन् । बुढेसकालको साहारा बन्न सक्छन् ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २७ असार २०७४ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App