२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्मिता जोगाउनै गाह्रो

काठमाडौं – २०७४ जेठ ९ गते कालीमाटीस्थित नेपाल प्रहरीको महिला सेलमा एउटा उजुरी पर्‍यो । उजुरी अनुसार बिहे भइसकेका रामकाजी दोङले ती युवतीलाई विभिन्न प्रलोभनमा पारेर सोलुखुम्बुबाट भगाएर काठमाडौंको एक घरमा ल्याएर राखे, र बारम्बार यौनसम्पर्क गरे । ती गर्भवती भएपछि बेपत्ता दोङलाई पक्राउ गर्न उजुरीमा माग गरिएको छ । ती युवतीको दुई महिनाको गर्भ उनकै अनुमतिमा पतन गराइयो । 

प्रेमको नाटक गरेर ती युवतीको अस्मिता लुटिएको उजुरीमा उजुरीमा अनुसन्धान भइरहेको छ । ‘अनुसन्धान सकेर केही दिनमा प्रहरीमा बुझाउँछौं र अदालतमा मुद्दा चलाउँछौं’, सेलकी एक महिला प्रहरीले भनिन् ।

बाबु नै भक्षक
महिला सेलकै अनुसार काठमाडौंकै कलंकीमा डेरा गरी बस्ने सिन्धुपाल्चोकका एकजना आफ्नै १३ वर्षकी छोरीलाई जबरजस्ती करणी गरी फरार छन् । उनकी श्रीमती कमाउन विदेश गएकी छिन् । उनी पेसाले चालक हुन् । डेरामा दुई छोरीसहित बस्दै आएका उनी पाँच महिनादेखि फरार भएका हुन् । प्रायः फुपूको घरमा बस्ने ती बालिका बुबालाई भेट्न डेरामा आएका बेला यस्तो घटना भएको थियो । कल्पनै गर्न नसकेको घटना भयो । आफ्नै बाबुबाट उनको अस्मिता लुटियो ।   

घटनाबारे स्थानीयले थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले पाँच महिनासम्म खोज्दा पनि अभियुक्त फेला परेका छैनन् । अभियुक्त नभेटिए पनि ६ महिने हदम्यादभित्रै अदालतमा मुद्दा चलाउने महिला सेलले जनाएको छ । पीडकको अनुपस्थितिमै अदालतबाट दोषी ठह गरिए पनि उनी जेल नपर्दासम्म न्यायिक कारबाही अधुरै हुनेछ । घटनापछि विदेशमा रहेकी आमा आएर एकपटक प्रहरी कार्यालय पुगे पनि त्यसपछि पुग्न सकेकी छैन । यस्ता धेरैजसो घटना गुपचुप राखिन्छ । जसले गर्दा पीडित थप तनावमा पर्ने अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् । 

गर्भ चार महिना भएपछि प्रहरीमा
डेढ वर्षअघि त्यस्तै १३ वर्षकी बालिकालाई करणी गरेर एकजनाले गर्भवती बनाएका थिए । गर्भ चार महिना पुगेपछि  यो घटना प्रहरीमा पुगेको थियो । ती बालिकालाई जबरजस्ती करणी गर्ने अहिले जेल सजाय भोग्दैछन् । तर पीडकलेभन्दा बढी सजाय ती बालिकाले भोगिरहेकी छिन् । बालकै अवस्थामा बच्चा जन्माउन पुगेकी उनी अहिले मानसिक पीडामै छिन् । ‘एउटा संस्थालाई संरक्षणमा राख्न दिइएको थियो,’ एक महिला प्रहरीले भनिन्, ‘तर त्यो संस्थाले बच्चा जन्मेपछि उनलाई आमाबाबुकै घरमा फर्काएपछि थप तनाव भयो ।’ कति गरेर घरसमाजमा लुकाएको घटना बाहिर आएपछि बेइज्जत भयो भन्दै परिवारका सदस्य प्रहरीलाई भन्न पुगे । यसले के देखाउँछ भने लोकलाजकै डरले घटना बाहिर आउन नदिने प्रयास हुन्छन् । जसले पीडितलाई मुद्दा चलाउने हदम्याद गुज्रन सक्छ । र, पीडक न्यायबाट विमुख हुनुपर्ने अवस्था आउँछ ।  

बलात्कारीले सकारेपछि मिलापत्र
काठमाडौं स्युँचाटारकी एक युवतीलाई जबरजस्ती करणी गरेको घटनामा जाहेरी दिन पीडित महिला सेलमा पुगिन तर जाहेरी दिनुअघि नै मिलापत्र गरेर त्यसलाई गुपचुपमै राखियो ।  दुई वर्षअघिको सो घटनामा पीडकको भविष्य संकटमा पर्ने देखेपछि परिवार र छरछिमेकीले मिलाउन पहल गरे । पीडकले पीडितलाई स्वीकारेर बिहे गर्न राजी भएपछि त्यो मुद्दा अदालत नगई मिलापत्रमा टुंगियो । यस्ता गम्भीर मुद्दामा आँखा चिम्लने समाजको प्रवृत्तिका कारण दोषी प्रहरीकै अघि सहजै उम्कने गरेका छन् ।  

पीडितमैत्री छैन प्रहरी महिला सेल
काठमाडौं कालीमाटीस्थित नेपाल प्रहरीको महिला सेल पनि पीडितमैत्री छैन । दुईकोठाको सो कार्यालय साँघुरो छ । वातावरण सधैं उकुसमुकुस हुन्छ ।  दैनिक पीडक र पीडितको भिडभाड हुन्छ । यस्तो कार्यालयमा जबरजस्ती करणीमा परेका पीडित पुगेर निर्धक्कसँग आफ्नो पीडा सुनाउन सक्दैनन् ।  

सामान्य मानिसलाई समेत त्यस्तो कोठामा धेरैबेर बस्न अप्ठेरो हुन्छ भने पीडितले कसरी खुलस्त बयान दिन सक्छन्, राहतको सास फेर्न सक्छन् ? सबैको उपस्थितिमा बयान दिनुपर्दा पीडितको गोपनीयता पनि रहँँदैन । महिलाका मुद्दा त्यसै पनि हेलत्वले हेरिन्छन् । झन जबरजस्ती करणी भन्नासाथै हेर्ने दृष्टिकोणमै फरक आउँछ । 

जबरजस्ती करणीलाई फौजदारी अपराधअन्तर्गत राखिए पनि यसमा हुने अनुसन्धान कमजोर देखिन्छ । कालीमाटी महिला सेलमात्र हैन जिल्ला जिल्लाका महिला सेल तथा प्रहरी कार्यालयले पनि यस्ता विषयमा ध्यान दिन सकेको देखिँदैन। 

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार धु्रवकुमार उप्रेतीका अनुसार अझै पनि जबरजस्ती करणीका मुद्दा दूरदराजबाट खुलेर आउन सकेका छैनन् । गाउँघरमै ‘ठूलाठालु’ ले मिल्न भनेपछि प्रहरी र अदालतमा यस्ता मुद्दा पुग्दैनन् । उप्रेतीका अनुसार अदालत पुगेर गरेको बकपत्रमा पनि ‘होस्टाइल’ भएपछि पीडक छुटिहाल्छ, पीडित सधैं तनावमा हुन्छ । 

करणीका मुद्दामा जिल्ला अदालतमा पुगेपछि र नपुग्दै पनि होस्टाइल हुने गरेको चितवनकी अधिवक्ता फूलमाया रानाभाटको अनुभव छ । ‘उमेर पुगेको पीडित छ भने उसलाई आर्थिक प्रलोभन दिएर फकाउने गरिन्छ । बालिका छन् भने उसको भविष्यका कुरा गर्दै मिलापत्र गर्न बाध्य पारिन्छ’, रानाभाट भन्छिन्, ‘साक्षीले पनि सामाजिक दबाबमै प्रहरीमा दिएको बयान अदालतमा पुगेर फेर्छ ।’ पीडितले उजुरी दिए पनि पछि घरायसी दबाब र प्रलोभनकै कारण बयान फेर्दा धेरै मुद्दाका दोषी उम्कने गरेको रानाभाटले बताइन् । ‘गाउँघरमा जबरजस्ती करणबाट रहेको गर्भ हुर्किसकेपछि घटना बाहिर आउँदा हदम्याद घर्किसकेको हुन्छ । यसले पनि समस्या देखिएको रानाभाट बताउँछिन् । 

जबरजस्ती करणीका मुद्दामा जाहेरी परेपछि अनुसन्धान गरी अदालतमा पठाउने जिम्मा प्रहरीको रहेको प्रहरीमा गुनासो सुन्ने अधिकृत प्रद्युम्न कार्कीले बताए । ‘आफै प्रहरीमै नआई कोही मिलापत्र गरेर जान्छन् भने थाहा भएन तर अदालतमा गएपछि विभिन्न बहानामा होस्टाइल भएका थुप्रै उदाहरण छन्,’ कार्कीले भने, ‘त्यसैले बयान, साक्षी वकपत्रलगायत विधिगत काम छिटोछरितो गरे जबरजस्ती करणीका दोषी उम्कन पाउँदैनन् ।’
प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी करणीका घटना नेपालको पूर्वी क्षेत्रमा भएको देखिन्छ । पूर्वी क्षेत्रमा विगत पाँच आर्थिक वर्षमा १२४४ वटा करणीका घटना दर्ता भएका छन् । त्यसपछि दोस्रोमा मध्यक्षेत्रमा करणीका घटना बढी भएको तथ्यांक छ । विगत पाँच आर्थिक वर्षमा यस क्षेत्रमा ८६७ वटा करणीका मुद्दा दर्ता भएका छन् । त्यस्तै क्रमशः पश्चिम क्षेत्र, मध्यपश्चिम क्षेत्रमा करणीका घटना बढी भएको देखिन्छ । काठमाडौं उपत्यकामा विगत पाँच आर्थिक वर्षमा ५३९ वटा करणीका मुद्दा दर्ता भएको तथ्यांक छ । 

तथ्यांकअनुसार उक्त अवधिमा सुुदूरपश्चिममा यस्ता घटना कम भएको देखिन्छ ।  यस क्षेत्रमा विगत पाँच आर्थिक वर्षमा जम्मा २५७ वटा करणीका घटना दर्ता भएका छन् । 

करणी मुद्दा सरकारले फास्टट्रर्या‍कबाट हेर्ने भने पनि  प्रभावकारी भएको देखिँदैन । जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालतमा बन्द सुनुवाइ हुने भनिए पनि वादीतर्फबाट हुने सरकारी बहसपैरवी निकै फितलो हुने गरेको सहयोगी संस्थाहरूको गुनासो छ । ‘विपक्षीका वकिलले घन्टौ प्रतिरक्षामा बोल्छन्,’ रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको अनुभव छ, ‘तर वादीतर्फबाट सरकारी वकिललाई पाँच मिनेट बहस गर्ने फुर्सद छैन ।’  

विगत दुई दशकको तथ्यांकले नेपाली समाजमा करणीका घटना बढ्दै गएको प्रस्ट्याउँछ । 

नेपाल प्रहरी र विभिन्न संघसंस्थाको तथ्यांकअनुसार विगत बीस वर्षमा नेपालमा करणीका घटनामा दस गुणाले वृद्धि भएका छन् ।  आर्थिक वर्ष २०५३/०५४ मा देशभरि ११२ वटा करणीका घटना प्रहरीमा दर्ता भएकोमा २०७२/०७३ मा आइपुग्दा यो संख्या एक हजार ८८ पुगेको देखिन्छ । आर्थिक वर्ष ०६०/०६१ पछि लगातार करणीका घटना बढ्दै गएको तथ्यांकले प्रस्ट्याउँछ । आर्थिक वर्ष ०६१/०६२ मा १६२ वटा, ०६२/०६३ मा १९५ वटा, ०६३/०६४ मा ३१७ वटा, ०६४/०६५ मा ३०३ वटा करणीका घटना दर्ता भए । त्यस्तै ०६५/०६६ मा ३९१ वटा, ०६६/०६७ मा ३७६ वटा, ०६७/०६८  मा ४८१ वटा, ०६८/०६९ मा ५५७ वटा, ०६९/०७० मा ६७७ वटा, २०७०/०७१ मा ९०५ वटा, ०७१/०७२ मा ९८१ वटा र ०७२/०७३ मा एक हजार ८८ वटा करणीका मुद्दा प्रहरीमा दर्ता भएको देखिन्छ ।

प्रकाशित: ३१ असार २०७४ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App