स्वास्थ्य

प्रसव फिस्टुला : समस्या र समाधान

शनिबार, ३१ असार २०७४, ०९ : ०२ नागरिक


प्रा. डा. गणेश दंगाल
(डा. दंगाल काठमान्डु मोडल अस्पतालसँग सम्बद्ध छन् ।) 

प्रसव फिस्टुला प्रसूति भएका महिलामा देखिने एक स्वास्थ्य समस्या हो । यसले शारीरिक मात्र नभई मानसिक तथा सामाजिक रूपमा समेत असर गर्छ । त्यसैले यो ठूलो जल्दोबल्दो समस्या हो। 

सामान्य अवस्थामा योनिमार्गको, पिसाबथैली र मलद्वार वा मलाशयबीच जोड्ने कुनै प्वाल हुँदैन । योनिमार्गबाट पिसाबथैली वा मलाशय वा दुवैमा खुल्ने अस्वाभाविक प्वाललाई फिस्टुला भनिन्छ । बच्चा जन्माउने क्रममा योनिमार्गमा बन्न जाने यस्तो प्वाललाई प्रसव फिस्टुला भनिन्छ । योनिबाट निरन्तर पिसाब वा दिसा–पिसाब दुवै चुहिने समस्या ‘फिस्टुला’ प्वाल भएमा हुन्छ।

महिलामा योनिमार्गको अगाडि पिसाबथैली र पछाडि मलाशय हुन्छ । प्रसूति हुने क्रममा लामो समयसम्म कठिन सुत्केरी व्यथा लाग्दा शिशुको टाउकोले योनिमार्ग र आमाको पिसाबथैली वा मलाशयलाई लगातार लामो समयसम्म च्यापेर, थिचेर प्वाल पार्छ र प्रसव फिस्टुला बन्न जान्छ। 

योनिमार्गबाट पिसाबथैली वा मलाशय वा दुवैमा खुल्ने अस्वाभाविक प्वाललाई फिस्टुला भनिन्छ । बच्चा जन्माउने क्रममा योनिमार्गमा बन्न जाने यस्तो प्वाललाई प्रसव फिस्टुला भनिन्छ । योनिबाट निरन्तर पिसाब वा दिसा–पिसाब दुवै चुहिने समस्या ‘फिस्टुला’ प्वाल भएमा हुन्छ ।

यो सुत्केरी व्यथा लामो हुन जाँदा बच्चाको टाउको योनिमार्गमा धेरै समयसम्म रहन्छ र टाउकोले थिचेको योनिमार्गको भागमा रक्तसञ्चार बन्द हुन्छ । रक्तसञ्चार बन्द भएको भाग मर्छ । उक्त भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ । त्यस्तो प्वाल पिसाबथैली र योनिमार्गको बीचमा परेको छ भने योनिमार्गबाट निरन्तर पिसाब चुहिरहन्छ । यदि त्यस्तो प्वाल योनिमार्ग र दिसाथैलीको बीचमा छ भने योनिमार्गबाट दिसा चुहिन्छ । कहिलेकाहीँ यस्तो प्वाल दुवैतर्फ पर्छ । त्यस्तो अवस्थामा दिसा र पिसाब दुवै योनिमार्गबाट चुहिन्छ।

हाम्रोजस्तो अविकसित देशमा जहाँ सुविधायुक्त स्वास्थ्य संस्थामा गई दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने वा सो खालको सुविधा कम छ, त्यहाँ यो समस्या धेरै देखिन्छ । विश्वस्वास्थ्य संगठनको प्रतिवेदनअनुसार एक हजार महिलामा प्रसव हँुदा तीनजनामा यो समस्या निम्तिन्छ र संसारभर प्रत्येक वर्ष एक लाख महिलामा यो समस्या देखापर्छ । नेपालमा प्रत्येक वर्ष चार सयदेखि पाँच सय महिलामा यो समस्या देखापर्छ भने अहिले देशभर करिब चार हजार तीन सय ६० महिला यसबाट पीडित छन् । संख्यात्मक रूपमा हेर्दा प्रसव फिस्टुला अन्य समस्याजस्तै पाठेघर झर्ने, महिनावारीका समस्या आदि भन्दा धेरै कम देखिन्छ । तर, जसलाई यो समस्या भएको छ, त्यो महिलाका लागि धेरै शारीरिक र मानसिक तनावका साथै सामाजिक असहजता उत्पन्न गराउँछ । तुलनात्मक रूपमा हेर्दा योनिमार्ग र मलाशयबीच बन्ने फिस्टुलाभन्दा पिसाबथैली र योनिमार्गबीच बन्ने फिस्टुला धेरै पाइन्छ । 

प्रसव फिस्टुला हुँदा के हुन्छ ?
यदि पिसाबथैली र योनिमार्गबीच खुल्ने प्वाल बनेको छ भने पिसाब रोकिराख्न सकिँदैन र पिसाब लगातार चुहिरहन्छ । मिर्गौलाले बनाएका पिसाबथैलीमा जम्मा हुन नपाउँदै त्यो प्वालबाट पिसाब योनिमार्गमा आउने भएकाले लगातार पिसाब चुहिरहन्छ । यदि योनिमार्ग र मलाशयबीच खुल्ने प्वाल बनेको छ भने योनिमार्गबाट दिसा पनि निस्किन्छ । 

यी समस्या प्रमुख भए पनि यसका कारण अन्य थप समस्या देखिन्छन् :

– पिसाब चुहिने डरले खुट्टा सधैँ खुम्च्याएर बस्दा खुट्टा खुम्चिँदै जाने ।
– पिसाब कम गर्न पानी कम खानाले मिर्गौलासम्बन्धी समस्या हुने ।
– पिसाब चुहिरहने भएकाले नियमित वा दैनिक काम गर्न अप्ठेरो हुने । 
– घरपरिवार वा समाजमा अवहेलना हुन सक्छ, दुव्र्यवहार हुन सक्छ ।
– मानसिक तनाव हुन्छ 

लामो र कठिन प्रसव पीडाका कारण हुने हुँदा फिस्टुला हुने स्थितिसम्म आएका महिलाको बच्चा पनि नजन्मँदै मरिसकेको हुन्छ । यसकारण फिस्टुला भएका महिला दोहोरो पीडाबाट गुज्रिन्छन् । एकातिर उनको बच्चा मृत जन्मन्छ भने अर्कोतिर उनको योनिमार्गबाट दिसा–पिसाब निरन्तर चुहिन्छ । यो समस्या भएका महिलाको लुगा सधैँ भिजेको र गन्हाउने हुन्छ । यसकारण महिला आफूलाई घृणा गर्ने अरुको अगाडि जान लाज मान्ने गर्छन् । उनीहरूमा मानसिक तनाव हुन्छ । बढी पानी पिएमा पिसाब बढी लाग्ने र खाना बढी खाए दिसा बढी हुन सक्ने डरले उनीहरू पानी र खाना कम खाने गर्छन् । त्यसकारण उनीहरू जलवियोजनबाट पीडित हुन सक्छन् । उनीहरूमा कुपोषण हुन सक्छ । फलस्वरूप उनीहरूमा धेरै स्वास्थ्य समस्या हुन्छन् ।

फिस्टुला हुनुको कारण 
लामो समयसम्म कठिन प्रसूति व्यथा लाग्नु यो समस्याको प्रमुख कारण हो । प्रसूति व्यथा लामो समय रहँदा शिशुको टाउकाले योनिमार्ग र पिसाबथैली वा मलाशयलाई धेरैबेर थिचेर घाउ बन्दै प्वाल पर्छ, जुन पछिसम्म रहन्छ । सय जनामा करिब ९५ जनामा प्रसव फिस्टुला हुनुको कारण लामो प्रसव व्यथा हो । फिस्टुला हुनुको मुख्य कारण १८ घन्टाभन्दा लामो व्यथा लाग्नु र योनिमार्गमा बच्चाको टाउकाले धेरैबेर थिचेर रहने अवस्था हुनु हो ।

अन्य कारण 
सामान प्रयोग गरी वा अपरेसन गरी प्रसूति गराउँदा वा अन्य अपरेसन गर्दा गल्तीवश प्वाल पर्नु 
योनिमा चोटपटक लाग्नु (जस्तै, यौन सम्पर्क राख्दा, अन्य कारण योनिमा चोटपटक आदि)
योनिमा संक्रमण हुनु, आदि ।

हामो समाजमा प्रसव फिस्टुलाको समस्या हुनुमा यी तलका कुराले पनि सहयोगी भूमिका खेलिरहेको हुन्छ

– चेतनाको कमी ।
– गर्भवती स्याहार र प्रसूति सेवाबारे चेतना कमी ।
– समयमा उचित प्रसूति सेवा उपलब्ध नहुनु (प्रसूति गराउने संस्था नजिकै नहुनु, दक्ष जनशक्ति उपलब्ध नहुनु, स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने चलन कम हुनु, कमजोर आर्थिक अवस्था)
– सानै उमेरमा बिहे गर्नु र कम उमेरमै बच्चा जन्माउनु ।
– गर्भवतीमा पोषणको कमी ।

उपचार 
फिस्टुलाको उपचार सम्भव छ । शल्यक्रियाद्वारा यसको उपचार गर्न सकिन्छ । सयमा ९० महिलामा शल्यक्रियाबाट फिस्टुलाको समस्या समाधान भएको छ । शल्यक्रिया सम्भव हुन सक्ने वा सफल हुन नसकेको केशमा शल्यक्रियाद्वारा पिसाबलाई योनिमार्गमा आउन नदिई बाहिर पिसाबथैलीमा राखेर उपचार गरिन्छ ।

फिस्टुलाको उपचार शल्यक्रियाबाट गर्न सकिन्छ । सुविधायुक्त अस्पतालमा तालिमप्राप्त दक्ष चिकित्सकबाट यसको शल्यक्रिया उपचार हुन्छ । तर, कहिलेकाहीँ उपचारले पूरै निको नहुन पनि सक्छ वा कसैकसैलाई फेरि बल्झिन पनि सक्छ ।

याद राख्नुस् फिस्टुला निको हुने समस्या हो । यसलाई सहेर नबसौँ । समस्यालाई सहेर नबसौँ । कसैलाई पनि फिस्टुला भएको थाहा भएमा चिकित्साकर्मीकहाँ जान सल्लाह दिउँ । 

सावधानी
शल्यक्रियाबाट उपचार गरिसकेपछि कम्तीमा ६ महिनासम्म यौनसम्पर्क राख्नु हुँदैन । कम्तीमा दुई वर्षसम्म गर्भधारण गर्नुहुँदैन । नियमित गर्भजाँच गराउनुपर्छ र सुविधायुक्त स्वास्थ्य संस्थामा गएर अपरेसन गरी मात्र बच्चा जन्माउनुपर्छ ।
 

रोकथाम 
– नियमित गर्भजाँच गराउने र सकेसम्म प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा जाने ।
– उचित स्वास्थ्य संस्थामा प्रसूति सेवाका लागि जान ढिलो नगर्ने ।
– घरमा आठ घन्टाभन्दा बढी लगातार वा कडा प्रसव व्यथा लागेमा तुरुन्तै शल्यक्रियाको सुविधा भएको अस्पतालमा जाने।
– कम उमेरमा गर्भधारण नगर्ने ।
– गर्भवतीमा उचित पोषण खाने ।

बच्ने उपाय
– सानै उमेरमा विवाह नगरिदिने÷सानो उमेरमा बालबच्चा नजन्माउने ।
– बालिकालाई खानामा विभेद नगर्ने । किशोरी अवस्थामा विकासका लागि आवश्यक पर्ने सन्तुलित आहारमा विशेष ध्यान दिने।
– गर्भवती जाँच नियमित रुपमा कम्तीमा चारपटक गर्ने ।
– गर्भवती महिलाको श्रीमान् तथा परिवारका सदस्यले गर्भावस्था र प्रसवको समयमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको पूर्वतयारी गर्ने ।

फिस्टुलाको रोकथाममा गर्भवती महिलाको परिवारको सदस्यको मुख्य भूमिका रहन्छ । गर्भवती महिलाको उपयुक्त हेरचाह, नियमित जाँचका साथै प्रसव समयमा उचित सहयोग र समुचित व्यवस्थापन गर्दा फिस्टुला हुने वातावरण हुँदैन। 
महिलामा योनिबाट निरन्तर पिसाब वा दिसापिसाब दुवै चुहिने समस्या फिस्टुला हुन सक्छ । महिलालाई गरिने विभेद अन्त्य र प्रसव अवस्थाको दक्ष स्वास्थ्यकर्मीद्वारा व्यवस्थापन गरी यसको रोकथाम गर्न सकिन्छ । शल्यक्रियाद्वारा यसको उपचार सम्भव छ ।









यसमा तपाईको मत

अन्य समाचार

कवि बने रंगकर्मी

कवि बने रंगकर्मी

अभिनेता, निर्देशक वा लेखक भएर रंगमञ्चमा व्यस्त भइरहने रंगकर्मीहरू सोमबार भने फरक रूपमा प्रस्तुत भए । मञ्चमा विभिन्न भूमिकामा देखिने...

भारतको पुनेमा नेपाली फिल्म

भारतको पुनेमा नेपाली फिल्म

भारतको पुनेमा आगामी साउन १३ गतेदेखि आयोजना हुन लागेको एक कार्यक्रममा नेपालका १० फिल्म देखाइने भएको छ । ‘इन द...

विवादमा 'छक्का पञ्जा २'को गीत

विवादमा 'छक्का पञ्जा २'को गीत

युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म 'छक्का पञ्जा २'को गीत 'ए दाजु नसमाऊ नारीमा' विवादमा आएको छ। प्रिन्स ...

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

१३ वर्षअघि निर्मित फिल्म 'ए मेरो हजुर' नाम सापटी लिँदै बनेको 'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक भएको छ। अघिल्लो...