१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भैरवनाथमा काशी विश्वनाथको मुखुन्डो

भक्तपुरस्थित भैरवनाथ मन्दिर। फाइल तस्बिर

भक्तपुरको टौमरी टोलमा भैरवनाथको मन्दिर छ। ठूलो आकारको मन्दिरमा मूर्तिको सट्टा भैरवनाथ र काशी विश्वनाथको मुखुन्डो पूजा गरिन्छ। भैरवको मन्दिरमा भैरवको मुखुन्डो पूजा गरिनु स्वाभाविक नै हो तर काशी विश्वनाथको मुखुन्डो पूजा गर्नुका पछाडि भने पौराणिक मिथक भेटिन्छ।

भक्तपुरमा हरेक नयाँ वर्षको अवसरमा बिस्केट जात्रा मनाइन्छ । विश्व विजय र विश्व शान्तिको सन्देश दिन मनाइने यो जात्रा विश्वकै ठूलो जात्रामध्येको एक हो । पौराणिककालदेखि नै मनाउँदै आएको यो जात्रा हेर्ने एकपटक भगवान काशी विश्वनाथ मानिसको रूप धारण गरेर भारतबाट नेपाल आएको विश्वास गरिन्छ। त्यो कुरा थाहा पाएपछि काशी विश्वनाथलाई नेपालमै राख्न तान्त्रिकले उनलाई पछ्याउन थाले। आफूलाई तान्त्रिकले पछ्याइरहेको थाहा पाएपछि काशी विश्वनाथ भाग्दै गए ।

तान्त्रिकले उनलाई छाडेनन्, अन्तिममा तान्त्रिकले समाउन लागेका बेला काशी विश्वनाथ धर्तीमुनि पस्न खोज्दै थिए । शरीर जमिनभित्र गइसके पनि टाउको बाहिरै थियो । तान्त्रिकले टाउको जमिनमुनि जान नपाउँदै उनको शिर काटेर भक्तपुरमा राखेका थिए । काशी विश्वनाथको टाउको मन्दिरमा राखिएकाले अहिले पनि उनकोे मुखुन्डो पूजा गरिने चलन रहेको संस्कृतविद् बताउँछन् ।

तान्त्रिकले काशी विश्वनाथको शिर काटेर नेपालमा राखेकाले उनको शरीर भारतको वाराणसीमा भए पनि मस्तिष्क अर्थात् शिर नेपालमै रहेको विश्वास गरिने संस्कृतिविद् जगमान गुरुङ बताउँछन् । काशी विश्वनाथजस्तै हिन्दू आराध्यदेव पशुपतिनाथको पनि शरीर भारतको केदारनाथमा रहेको र शिर नेपालको पशुपतिनाथ भएको विश्वास गरिन्छ । यसरी पौराणिक र ऐतिहासिक घटनाक्रमले भारत वर्षमा नेपाल धर्म र संस्कृतिको शिर वा मस्तिष्क र वर्तमान भारत बाँकी शरीर रहेको पुष्टि गर्ने संस्कृतिविद्को तर्क छ ।

प्रकाशित: २ श्रावण २०७४ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App