१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१३ अर्ब बढीको हकप्रद सेयर आउँदै

रमेश लम्साल/रासस

काठमाडौं- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न १९ कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

बोर्डका अनुसार ती सबै कम्पनीले तोकिएको समयमै हकप्रद सेयर जारी गरे पुँजीबजारमा १३ करोड ५७ लाख ५१ हजार कित्ताभन्दा बढी सेयर थप हुनेछ। 

ती सेयरको मूल्य १३ अर्ब ५७ करोड ५१ लाख हजार हुनेछ। त्यसरी हकप्रद सेयर निष्कासनका लागि आवेदन दिनेमा नौवटा विकास बैंक छन्।

यस्तै प्रभु बैंकले १० बराबर चारका दरले दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ। अपी पावर कम्पनीले २१ करोड कित्ता हकप्रद जारी गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ।

बोर्डमा निवेदन दिनेमा चारवटा फाइनान्स र एउटा बीमा कम्पनी पनि छ। 'क' वर्गको वाणिज्य बैंक सिभिलले १० बराबर चारका दरले दुई अर्ब सात करोड ४० लाख ८८ हजार रुपैयाँभन्दा थोरै बढीको हकप्रद सेयर जारी गर्न आवेदन दिएको छ।

बोर्डका अनुसार बैंक तथा वित्तीय क्षेत्र र जलविद्युत् गरी १८ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन्। सेयर निष्कासन गर्न लागेका १८ मध्ये ११ जलविद्युत् कम्पनी छन्।

१८ कम्पनीले पाँच करोड ६२ लाख तीन हजार कित्ता साधारण सेयर जारी गर्न बोर्डमा आवेदन दिएको प्रवक्ता निरज गिरीले जानकारी दिए।

तीमध्ये तीन अर्ब २९ करोड १४ लाख २९ हजार बराबरको तीन करोड २९ लाख १४ हजार कित्ता साधारण सेयर र एक करोड ७० लाख कित्ता थप निष्कासन (एफपिओ) का लागि निवेदन परेको छ।

आकर्षण जलविद्युत्को शेयरमा

यस्तै जलविद्युत् कम्पनीले पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिने क्रम पछिल्लो दिनमा बढ्दै गएको छ।

पछिल्लो समयमा जलविद्युत् आयोजनाले १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्य रूपमा दिनुपर्ने नीतिगत व्यवस्थापछि प्रवर्द्धकले धमाधम सेयर दिन लागेका हुन्।

पछिल्लो पल्ट स्थानीयलाई सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड छ। यसले स्थानीयलाई आठ करोड बराबरको आठ लाख कित्ता सेयर निष्कासनका लागि निवेदन दिएको छ।

गर्ज्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि दुई करोड बराबरको दुई लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई दिने भएको छ। यस्तै राधी विद्युत् कम्पनी लिमिटेडले सात करोड ६४ लाख ५५ हजार बराबरको साधारण सेयर निष्कासन गर्न लागेको छ।

बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ। साधारण सेयर नै जारी नगरी एफपिओ जारी गर्न लागेको भन्दै सो कम्पनीको आलोचनासमेत हुने गरेको छ। 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागार्इं जलविद्युत् आयोजना र यस क्षेत्रको लगानीप्रति नागरिकको चासो बढेका कारण पनि आकर्षण बढेको बताउँछन्।

पुँजी बढाउन बैंकको दौड

उता बैंक अफ काठमाण्डूले पूँजी बढाउन संस्थापक एफपिओ निष्कासन गर्ने जनाएको छ। बैंकले ६१ लाख ५८ हजार कित्ता एफपिओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ।

त्यस्तै एनएमबी बैंकले चुक्ता पुँजी बढाउन एक करोड १४ लाख १५ हजार कित्ताभन्दा अलिकति बढी एफपिओ निष्कासनका लागि यसअघि नै आवेदन दिएको हो। चुक्तापुँजी आठ अर्ब पुर्‍याउन एफपिओ निष्कासन गर्न लागेको बैंकले जनाएको छ।

मेगा बैंक लिमिटेडले १० बराबर ६ को अनुपातमा दुई अर्ब ९७ करोड ८५ लाख तीन हजारको हकप्रद सेयर जारी गर्न आवेदन दिएको छ। यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन करोड बराबरको साधारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ।

नेपाल ग्रामीण विकास बैंक पनि पुँजी बढाउने दौडमा रहेको छ। यसले नौ लाख ७५ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ। उता प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले ६ लाख ५९ हजार कित्ताभन्दा बढी एफपिओका लागि आवेदन दिएको छ। तर एफपिओको मूल्य निर्धारण हुन सकेको छैन।

प्रकाशित: ८ श्रावण २०७४ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App