१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक महिनादेखि उद्योगमा तालाबन्दी

रौतहट – रौतहटको सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडमा गरिएको तालाबन्दीले एक महिनाभन्दा बढी समय नाघेको छ । गत असार ५ गते उखु उत्पादक संघ रौतहटद्वारा भुक्तानीको माग गर्दै गरिएको तालाबन्दी जारी रहँदा दुवै पक्ष मर्कामा परेका छन् ।

जिल्लाको मध्यभागमा रहेको उद्योगमा गत तीन आर्थिक वर्षको गरी किसानहरुको करिब २५ करोड रुपैयाँ भुक्तानी पाउनुपर्ने माग राख्दै संघले उद्योगमा तालाबन्दी गरेको हो । उद्योगमा तालाबन्दी गरेपछि सम्पूर्ण कारोबार ठप्प रहेको छ । उद्योगको दैनिक कारोबार ठप्प हुँदा उद्योग पनि मर्कामा परेको छ । उद्योगको सहउत्पादनको रुपमा रहेको गुणस्तरीय स्प्रिटको उत्पादन र उत्पादन भएको स्प्रिट बिक्री हुन सकेको छैन । उद्योगले उत्पादन गरेको करिब चार करोड रुपैयाँ मूल्य बराबरको चिनी र करिब ६ करोड रुपैयाँ बराबरको स्प्रिट उद्योगमै थन्किएको स्रोतको भनाइ छ ।

भुक्तानीको माग गर्दै उखु उत्पादक संघले उद्योगमा तालाबन्दी गरेपछि मिल्सको सम्पूर्ण कारोबार ठप्प

उद्योगले समयमा किसानलाई भुक्तानी नदिँदा उखु किसानसमेत मर्कामा परेका छन् । समयमा भुक्तानी नपाउने भएपछि उद्योगलाई उखु दिन किसानलाई मन नलाग्ने गरेको किसानहरुको गुनासो रहेको छ । उद्योगले उखुबालीलाई उधारो बालीको रुपमा परिभाषित गर्न खोजेको वीरनगराका अगुवा किसान सफिन्द्रप्रसाद यादवको भनाइ छ । किसानले समयमा भुक्तानी नपाउने समस्याले गर्दा गरुडाका उद्योगलाई भन्दा अन्यत्रका उद्योगलाई उखु उपलब्ध गराउने प्रवृत्तिको विकास भएको र उधारोमा उखु किन्ने उद्योगलाई अब पाठ सिकाउने कटहरियाका किसानको दाबी छ ।

जतिसुकै कडा आन्दोलन गरे पनि उद्योगले भुक्तानीको लागि अलमलाउने नीति लिएको र उद्योग सञ्चालनमा आएपछि मात्र किसानको रकम उपलब्ध गराउने ललीपप नीति लिएको संघका अध्यक्ष अशोक कुमारयादवको भनाइ छ । एक महिनाभन्दा लामो समय बित्दा पनि उद्योगले भुक्तानी दिनुपर्ने २५ करोड रुपैयाँमध्ये कनिका छरेजस्तो केही रकम दिन खोजेको र बाँकी रकम कात्तिकमा दिने भनी अनौपचारिक रुपमा प्रस्ताव आउने गरेको अध्यक्ष यादव बताउँछन् । उद्योगमा एक महिनाभन्दा लामो समयदेखि तालाबन्दी गरिएको भए पनि व्यवस्थापन पक्षले खुलाउन खासै कुनै औपचारिक पहल नगरेको अध्यक्ष यादवको भनाइ छ ।

उद्योगले किसानलाई उखु किनेको दुई हप्तामा नै भुक्तानी गर्ने कबोल गरेको तर कबोल गरेको समयमा भुक्तानी नगरेर किसानलाई धोका दिएको संघका कोषाध्यक्ष मनोजकुमार सहनीको भनाइ छ । संघले समयमै किसानको समस्यालाई समाधान नगरे किसान थप आक्रोशित हुने कोषाध्यक्ष सहनी बताउँछन् ।

प्रकाशित: १० श्रावण २०७४ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App