२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'मौन अभिनय' सिक्दै केकी

काठमाडौं- म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै फिल्म 'स्वर'बाट नेपाली रजतपटमा डेब्यु गरेकी केकी अधिकारीले हालसम्म झन्डै डेढ दर्जन फिल्ममा अभिनय गरिसकेकी छन्। बलिउड अभिनेत्री हेमा मालिनी, श्रीदेवी, माधुरी दीक्षित तथा नेपाली पुराना अभिनेत्रीहरूका फिल्म हेरेर हुर्किएकी केकीले उनीहरूकै अभिनय फ्लेबरलाई पनि सँगै लिएर हिँडिरहेकी छन्। हालसम्म अभिनय गरेका फिल्ममा बोलिरहेकी केकी यतिबेला भने मौन अभिनयको प्रशिक्षण लिइरहेकी छन्। मण्डला थिएटरले भारतीय दूतावास अन्तर्गतको भारतीय सांस्कृतिक केन्द्रले राजधानीको मण्डला थिएटरमा बिहीबारबाट आयोजना गरेको पाँच दिवसीय 'माइम थिएटर कार्यशाला'मा केकीले बिनासंवादको शान्त अभिनयको प्रशिक्षण लिइरहेकी हुन्।

मण्डलाका कलाकार विजय बराल र बरालका भारतीय अभिनय गुरु निरञ्जन गोस्वामीबाट यतिबेला केकीसहित झन्डै २५ जनाको कलाकारको समूहले 'माइम अभिनय' प्रशिक्षण लिइरहेका छन्।

'मेरा लागि यो अभिनय प्रशिक्षण पहिलो अनुभव हो। मैले निरञ्जन गोस्वामी मौन अभिनयका विज्ञ हुनुहुन्छ भन्ने सुनेकी थिएँ,' केकीले भनिन्, 'देखेर अभिनय गर्नु र सोचेर अभिनय गर्नु फरक कुरा हुन्। अहिलेसम्मका फिल्ममा मैले हरेक विषयलाई देखाएर अभिनय गरें। अहिले चाहिँ नभएको कुरालाई भयो भन्ने शैलीमा सम्झेर अभिनय सिकिरहेको छु।' उनले बिना आवाज र बिना साधन अभिनय गरेर देखाउनु चुनौतिपूर्ण रहेको जनाउँदै 'माइम' प्रशिक्षणले आगामी दिनमा 'साइलेन्स' फिल्ममा काम गर्न सजिलो हुने बताइन्। अभिनेता नाजिर हुसेन पनि केकीसँगै प्रशिक्षण लिइरहेका छन्। यो जोडी अभिनित फिल्म 'राजा रानी' यतिबेला पोष्ट प्रोडक्सनमा छ।

कार्यशालाको अभिनेता दयाहाङ राई, रंगकर्मी राजन खतिवडालगायतले शुभारम्भ गरे। प्रशिक्षक बरालले 'माइम'ले मान्छेलाई अभिनयबाट कसरी भ्रम पैदा गराउन सकिन्छ भन्ने विषयमा ज्ञान दिने बताए। 'कुनै पनि बस्तुको प्रयोगबिना नै कलाकारले इशाराका भरमा नभएको कुरालाई पनि छ भन्ने आभाष गराउँछन्,' विजयले भने, 'जसरी हलिउड कमेडियन चार्ली चाप्लिनले मौन अभिनयबाट दर्शकलाई आफूतिर आकर्षित गर्न सके। त्यसरी नै यो अभिनयले दर्शकलाई त्यस्तै अभिनयबाट तान्न सकिन्छ।'

विजयका अनुसार अभिनयको नयाँ तरिका माइम भएकाले यसबाट कलाकारले फाइदा लिन सक्नेछन्। बिहान ७ बजेदेखि ११ बजेसम्म चल्ने कार्यशालामा शारीरिक हाउभाउको अभिनय सिकाइनेछ। कार्यशालामा विशेष प्रशिक्षण दिन गोस्वामी शुक्रबार काठमाडौं आउँदैछन्।

गोस्वामीले आइतबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा र सोमबार आर्मी अफिसर्स क्लबमा आफ्नो प्रस्तुती दिनेछन्। दुवै प्रस्तुतीमा पद्मश्री पुरस्कारबाट सम्मानित गोस्वामीले १२ सदस्यीय भारतीय माइम थिएटर ग्रुपसँग आफ्नो प्रस्तुति दिनेछन्।

प्रकाशित: १३ श्रावण २०७४ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App