काठमाडौं— विधि र पद्धतिसम्मत तवरबाट तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सुनिश्चितताको माग गर्दै नेविसंघ नेताहरुले माउ पार्टी कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि रिले अनसन सुरु गरेका छन्।
५ वर्षअघि ६ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेडका साथ वर्तमान केन्द्रीय समिति तथा नेविसंघमा देखिएको विवाद समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले अपारदर्शी एवं प्रक्रियाविपरित प्रतिनिधि भागवण्डा गरेको भन्दै नेविसंघ पूर्व कोषाध्यक्ष कुन्दन काफ्ले सहितका ११ जना विद्यार्थी नेताहरुले रिले अनसन सुरु गरेका हुन्।
६४ जिल्लामा भागवण्डा गरेर विवाद समाधान गरियो भनेर प्रचार गरियो। ती मध्ये ११ जिल्लामा विधि र विधानविपरित नेतृत्व स्थापित गर्न खोजिएको छ। थप ११ जिल्लामा अहिलेसम्म अधिवेशन प्रक्रिया थालिएको छैन। २२ जिल्लाको नेतृत्व र १६०० प्रतिनिधिको वैधानिकतामा प्रश्न उठेको छ।
नेतृत्वले भागवण्डा गरेर ६४ जिल्लामा विवाद टुंगियो भनेर प्रचार गरेको, ती मध्ये ११ जिल्लामा विधि र विधानविपरित नेतृत्व स्थापित गर्न खोजिएको उनीहरुको आरोप छ। थप ११ जिल्लामा अहिलेसम्म अधिवेशन प्रक्रिया थालिएको छैन।
२२ जिल्लाको नेतृत्व र १६०० प्रतिनिधि भागबण्डाप्रति नेविसंघको काफ्ले समूहले आपत्ति जनाउँदै आएको छ।
तोकिएको समयमा नेविसंघ महाधिवेशन एवं विधान विपरित भागबण्डा गरिएका करिब १६०० महाधिवेशन प्रतिनिधिहरु खारेज हुनुपर्ने विद्यार्थी नेता नेता बलदेव तिमिल्सिनाले बताए। 'विधिसम्मत र पद्धतिसम्मत नेतृत्व र प्रतिनिधि चयनका लागि बाध्य भएर अनसन सुरु गरेका हौं', उनले नागरिकन्युजसँग भने, 'पार्टी नेतृत्वले नेविसंघमा स्थापित र विस्थापित नीति अवलम्बन गरेको छ। विधि र पद्धति सम्मत नेतृत्व हुनुपर्छ भन्ने हाम्रो माग हो।'
नेविसंघ नेता कुन्दन काफ्ले, पार्टी केन्द्रीय कार्यालयमा अनसन सुरु गरेपछि।
११ नेविसंघ नेता रिले अनसनमा
रिले अनसनमा काभ्रे, धादिङ, संखुवासभा, जाजरकोट, गुल्मी, अर्घाखाँची, बाँकेलगायतका जिल्ला अध्यक्ष र उपत्यकाका नेपाल ल क्याम्पस, ग्रामीण आदर्श क्याम्पस, थापाथली इञ्जिनियरिङ्ग क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस लगायत अन्य अधिकांश क्याम्पस इकाईको समर्थन रहेको दाबी काफ्ले समूहले गरेको छ।
नेविसंघ नेताहरु कुन्दनराज काफ्ले, युवराज पाण्डेय, कृष्ण कुमारी बस्नेत, जित शेरचन, गणेश सापकोटा र सुदीप शर्मा अनसनमा बसेका छन्। यसैगरी निभा गिरि, दुजाङ शेर्पा, चक्र गुरुङ, सञ्जिव शाह तथा धर्मदेव फुलारा अनसन बसेका छन्।
प्रकाशित: ९ श्रावण २०७३ १२:१३ आइतबार