२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आयात – निर्यातमा  एसएसबीको अवरोध

एसएसबीले चेकजाँचमा कडाइ गरेपछि सीमावारि रोकिएका गाडी । तस्बिर : रेखा भुसाल

शेरबहादुर केसी/रेखा भुसाल

साउन –  बेलहिया नाकामा भारतीय पक्षले सुरक्षा सतर्कता भन्दै जाँच कडा बनाएपछि त्यो बाटो हुने नेपालको आयात–निर्यात प्रभावित भएको छ । दुई साताअघि सुरु भएको नाकामा निगरानी र कडाइ केही खुकुलो भएपछि राहत महसुस गरेका व्यवसायी अहिले पुनः कडाइ भएपछि निराश छन्।

भारतीय अर्धसैनिक बल एसएसबीले चेकजाँचका नाममा पैदल यात्री, सवारी साधन तथा मालबाहक गाडीको अनावश्यक खानतलासी लिनुका साथै यात्रीलाई दुव्र्यवहार गरिरहेको भुक्तभोगीको गुनासो छ । एसएसबीले साउन पहिलो सातादेखिनै चेकजाँचलाई कडा बनाएको थियो। 

‘कडाइले भारतबाट सहज आयात भइरहेका सामग्रीमा अवरोध भएको छ, यता सामान लिएर उता फर्कन लागेका गाडी नाकामै पालो कुरेर बसेका छन्,’ ढुवानी व्यवसायी रामकृष्ण लोहनीले भने, ‘यतै गाडी अल्मलिएपछि  उताबाट आउने गाडी कम हुँदै आएको छ।’

भैरहवा भन्सार कार्यालयका अधिकारीहरु भारतीय सुरक्षाकर्मीले पहिले एउटा गाडीलाई बढीमा पाँच मिनेटमा जाँच गर्नेमा अहिले आधा घन्टा लगाउन थालेको बताउँछन् । रित्ता गाडी सामान्य जाँच गर्दै आएकोमा अहिले सबैभन्दा कडा जाँच यताबाट उता जान लागेका रित्ता गाडीको हुन थालेको छ । कडाइले बेलहिया नाकाबाट तीन किलोमिटर लामो गाडीको लस्कर छ । पारितिर पनि कडाइले गाडीको लामो लाइन छ । व्यवसायीले अहिलेको कडाइ र गाडीको लस्करले दुई वर्षअघिको भारतीय नाकाबन्दीको झल्को दिएको बताएका छन्।

भैरहवा भन्सार कार्यालयका प्रवक्ता गोपाल भट्टराईका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० मालबाहक गाडी आइरहेकामा अहिले दुई सय ५० वटामा आयात भइरहेको छ । भैरहवा भन्सार कार्यालयले दैनिक औसत २० करोड रुपैयाँ राजस्व असुली गर्दै आएकोमा अहिले औसत १५ करोड रुपैयाँमा झरेको छ।

ट्रान्सपोर्ट व्यवसायी लोहनीले यता आएका गाडी तीन दिनसम्म नाकामै अलपत्र पर्न थालेपछि पुनः सामान लिएर आउन आनाकानी गर्न थालेको बताए । विराटनगर, नेपालगन्ज, कृष्णनगर लगायत नाकामा सहज आयात–निर्यात हुँदै आए पनि भैरहवा नाकामा कडाइ गरेर भारतीय पक्षले अनावश्यक दुःख दिएको व्यवसायीको गुनासो छ । ‘अरु नाकामा झैं भैरहवा नाका पनि सहज हुनुपर्छ,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले भने । नाकाबन्दीताका वीरगन्ज, नेपालगन्ज, विराटनगर लगायत नाकामा कडाइ भइरहँदा भैरहवा नाका खुकुलो थियो । अन्यत्र कडाइ भएकाले भैरहवा नाकाले नै पहाड र राजधानीमा इन्धन र दैनिक उपभोग्य सामानको आपूर्ति गरेको थियो । त्यसयता भैरहवा नाकालाई नेपालकै ‘लाइफलाइन’ मानिँदै आएको छ । अहिले यही नाकामा कडाइ हुँदा बढ्दै गएको भैरहवा क्रेज घट्ने चिन्ता व्यवसायीको छ।

नाकामा भारतीय कडाइपछि नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायसहित स्थानीय सुुरक्षा अधिकारीबीच नाकामा सहज आवागमन गराउनेबारे साउन १४ गते छलफल भएको थियो । त्यो छलफलमा भारतीय पक्षले सामान्य सुरक्षा जाँचबाहेक अरु कडाइ नगरेको बताएको थियो । छलफलपछि केही खुकुलो भएको चेकजाँच बुधबारदेखि कस्सिएको हो।

एसएसबीले बेलहिया–सुनौली नाकाको दसगजा किनारमै बसेर यात्रुको शरीर झोला तथा सवारी साधन खानतलासी गर्छ । यसे गर्दा काम विशेषले भारत जाने नेपाली तथा यो नाका हुँदै नेपाल आउने र फर्कने पर्यटकले समेत सास्ती भोग्नुपरेको छ । यो कडाइले तरकारी, फलफूल तथा छिट्टै सड्ने सामानका आयातकर्ता समस्यामा परेका छन् । दिल्लीबाट तीन दिनमै नेपाल आउने गाडीलाई अहिले हप्ता–दस दिनसम्म लाग्न थालेको व्यवसायी बताउँछन् । धेरै दिन बाटोमा रोकिनु पर्दा ढुवानी खर्च बढेको आयातकर्ता व्यापारीको गुनासो छ । 

चेकजाँचका नाममा सामान लोड गर्न हिँडेका रित्ता ट्रकलाई समेत नाकामा घन्टौं रोकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष शान्तकुमार शर्माले बताए।

भारतीय सुरक्षा अधिकारीले १५ अगस्टमा पर्ने स्वतन्त्रता दिवसका कारण सुरक्षा सतर्कता बढाएको जनाएका छन् । यसका अलावा पछिल्लो समय उक्त नाकाबाट सुन र चरेस तस्करी बढेकोले विस्फोटक पदार्थ पनि तस्करी हुन सक्ने देखेर चेकजाँच कडा बनाएको बताइएको छ।  

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नाकामा भइरहेको कडाइ र यसले पारेको प्रभावबारे भारतीय समकक्षीसँग कुराकानी भइरहेको बताए । रुपन्देहीकै सहायक प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले भारतीय पक्षले चेकजाँचका लागि जनशक्ति थप गरी सहज बनाउने आश्वासन दिएको बताए। 

प्रकाशित: २५ श्रावण २०७४ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App