१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

छिटो मेलम्ची सक्न प्रधानमन्त्रीको निर्देशन

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानस्थित इन्टेकड्याम बन्ने स्थल। सुरुङमा पानी छिराउने इन्टेकड्याम बनाउन वर्ष लगाएर चट्टाने डाँडै काटिएको हो। तस्बिर :  ध्रुव दंगाल

सिन्धुपाल्चोक- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्। जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न स्रोत, साधन र रकमको अभाव हुन नदिने उनले बताए।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र खानेपानी मन्त्री महेन्द्र यादवको साथमा बुधबार आयोजना निरीक्षण गर्न मुहानस्थल हेलम्बुको अम्बाथान आएका उनले आयोजनाका अधिकारीलाई निर्देशन दिँदै भने, 'हल्ला होइन, काम गरेर देखाउनुस्।’ आयोजना बहुप्रतिक्षित बनेकोमा असन्तुष्टि जनाउँदै उनले मेलम्ची ५० कै दशकदेखिको परिकल्पना भएको स्मरणसमेत गराए।

साढे २७ किमी लामो अम्बाथान–सुन्दरीजल सुरुङमार्गमध्ये अब करिब दुई किमीमात्र खन्न बाँकी छ। आगामी पुसभित्र मेलम्ची पानी राजधानी पुग्नेमा आयोजनाका अधिकारी विश्वस्त छन् ।

मुहानस्थलको इन्टेकड्याम र टनेल (सुरुङमार्ग)को अवलोकन गरेपछि प्रधानमन्त्री देउवाले भने, 'काठमाडौंमा मेलम्ची पानी ल्याउँछु, ल्याउँछु भनेर हल्ला गरेजस्तो मात्रै भयो।’ सन् २०११ देखि नै यस्तो हल्ला हुन थालेको प्रसंग जोड्दै उनले जतिसक्दो छिटो आयोजना सम्पन्न गर्नुको विकल्प नरहेको बताए। 'त्यसका लागि पैसा, स्रोत साधन के आवश्यक पर्छ, सरकार सहयोग गर्न तयार छ,’ उनले भने।

प्रधानमन्त्री बनेदेखि नै देउवाले बहुचर्चित आयोजनाको प्रगतिबारे चासो राख्दै आएका थिए। सरकारको नेतृत्व लिएको दुई महिनापछि हेलिकप्टर चढेर निरीक्षणमा आएका उनले आयोजनाको कामलाई तीव्रता दिन अधिकारीहरुलाई निर्देशन दिएका हुन्। आउँदो असोजभित्र मेलम्चीको पानी राजधानी पुर्‍याउने आयोजनाको लक्ष्य थियो। आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीले नतिजा दिन नसक्दा त्यो टरेको छ।

मेलम्चीको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जतिसक्दो छिटो आयोजना सम्पन्न गर्न आफूहरु प्रतिबद्ध रहेको बताए। 'असोजको लक्ष्य टरे पनि पुसभित्र मेलम्ची पानी काठमाडौं पुर्‍याउन सकिन्छ,’ उनले प्रधानमन्त्रीलाई विश्वस्त तुल्याउँदै भने, 'आयोजना योभन्दा पछाडि धकेलिँदैन।’

गत वर्ष असोज ७ गते आयोजनाको स्थलगत अवलोकन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक समय गुजारेर निर्धारण गरिएको २०७४ असोजको चौथो लक्ष्य कुर्न नसकिने बताएका थिए। उनले वैशाखमै नयाँ वर्ष उपहारमा उपत्यकावासीलाई मेलम्चीको पानी दिन निर्देशन दिएका थिए। निर्देशनको १० महिना बित्दा ठेकेदारले पाँच किमीभन्दा बढी सुरुङ थप्न नसकेपछि तत्कालीन प्रधानमन्त्री दाहालले दिएको समय वैशाख र असोजको चौथो संशोधित लक्ष्य टरेको हो।

दाहाल त्यतिबेला अवलोकनमा आउँदा अम्बाथान–सुन्दरीजल साढे २७ किमी सुरुङमध्ये १९ किमीभन्दा बढी खनिसकिएको थियो। विनासकारी भूकम्प र भारतीय नाकाबन्दीका बाबजुद पनि वर्षमै पाँच किमी सुरुङ थपिएपछि उनी उत्साही बनेका थिए। त्यसयता कुनै उल्झन नरहँदा पनि ठेकेदारले पाँच किमीभन्दा बढी सुरुङ खन्न सकेन।

आयोजनाका अनुसार २५ किमीभन्दा बढी सुरुङ खनिएको छ। अब करिब दुई किमी खनेपछि अम्बाथान–सुन्दरीजल सुरुङमार्गले जोडिने छ। अघिल्लो महिना ६९ मिटर सुरुङ खनेको ठेकेदारले दैनिक औसतमा १६ मिटर थपिरहेको छ। सुरुङ थपिने यो दर कायम रहे पुसभित्र मेलम्ची काठमाडौं पुग्नेमा आयोजनाका अधिकारी विश्वस्त देखिएका हुन्।

सन् २००७ मा सम्पन्न गर्ने गरी सन् २००१ बाट आयोजनाको काम थालिएको थियो। दातासँग समयमै ऋण सम्झौता गर्न नसकेको र आयोजना नै पुनर्संरचना गर्नुपर्दा निर्माणमा ढिलाइ भएको आयोजनाका अधिकारी बताउँछन्। उनीहरुका अनुसार उपआयोजना–२ अन्तर्गत सुन्दरीजल पुग्ने पानी राजधानीमा वितरण गर्न त्यहाँ पानी प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेको छ। 

एसियाली विकास बैंक (एडिबी) मुख्य दाता रहेको आयोजनाको कुल लागत तीन सय १७ मिलियन डलर छ। मेलम्चीपछि एउटै सुरुङमा लार्के र याग्रीको खोलासमेत मिसाएर दैनिक ५१ करोड लिटर पानी राजधानी लैजाने सरकारको दीर्घकालीन योजना छ। उपआयोजना–३ अन्तर्गत लार्के र यांग्रीको प्रारम्भिक काम सुरु भइसकेको आयोजनाले जनाएको छ।  मेलम्चीबाट मात्र १७ करोड लिटर पानी लाने लक्ष्यसाथ काम भइरहेको हो। आयोजनाका अधिकारीका अनुसार यांग्रीबाट ९.७ र लार्केबाट १.७ किमी सुरुङ बनाउँदा यी दुई खोलाको पानी अम्बाथानमा मिसिन्छ। २३ अर्ब ४५ करोेड ८६ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएकोमा आयोजनामा हालसम्म झण्डै १९ अर्बरुपैयाँ खर्च भइसकेको छ।

 

 

 

प्रकाशित: २६ श्रावण २०७४ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App