१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाली फुटबल टोली शुक्रबार जापान जाने

काठमाडौँ – एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विहीबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। 

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । चौबीस सदस्यीय नेपाली टोलीको कप्तानीको भूमिका अनिल गुरुङले गर्नेछन्। 

टोलीले जापानमा पाँच मैत्रीपूर्ण खेल खेल्नेछ । यही साउन २९ देखि आगामी भदौ ३ गतेसम्म नेपालले उमेर समूह, विश्वविद्यालय तथा स्थानीय क्लबको टोलीसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । 

एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । उक्त प्रतियोगिताको छनोट खेल आगामी भदौ २० गते नेपालमा नै हुनेछ । समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तेस्रो स्थानमा तथा अंकविहीन ताजकिस्तान अंक तालिकाको अन्तिम स्थानमा छन्। 

समूह चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को गोलअन्तरको हार भोगेको थियो । त्यस्तै नेपालमै भएको यमनविरुद्वको दोस्रो खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । समूह एफमा रहेको फिलिपिन्स ६ अंकका साथ शीर्षस्थानमा तथा चार अंक जोडेको यमन दोस्रो स्थानमा छन्। 

कीर्तिमानी खेलाडी सम्मानित 

युवा तथा खेलकुद मन्त्रालयले आठौंँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका चार खेलाडीलाई विहीबार नगदसहित सम्मान गरेको छ। 

सम्मानित हुने सबै एथलेटिक्सका हुन् । विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान बनाएका मध्यमाञ्चलका अजितकुमार यादव, मध्यपश्चिमाञ्चलका तिलकबहादुर विक, मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा पश्चिमाञ्चलकी विपना परियार सम्मानित भए।

अजितले छात्र एक हजार पाँच सय मि दौड, तिलकले छात्र सटपुट, मञ्जुले छात्रा एक हजार पाँच सय मि दौड तथा विपनाले छात्रा ट्रिपल जम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए। 

दुई कीर्तिमानका लागि विपनाले रु दुई लाख तथा बाँकीले जनही रु एक लाख पुरस्कार पाए । मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलाडीलाई चेक र सम्मानपत्र प्रदान गरे । रासस 

प्रकाशित: २६ श्रावण २०७४ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App