१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सगरमाथामा आरोहणमा जिपिएस ट्र्याकिङ

काठमाडौं- सरकारले सगरमाथा आरोहण व्यवस्थित र पारदर्शी बनाउन 'ग्लोबल पोजिसनिङ सिस्टम' (जिपिएस) ट्र्याकिङ प्रयोग गर्ने भएको छ। सगरमाथा आरोहण क्रममा आरोहीले प्रयोग गरेको रुटका विषयमा वस्तुगत सूचना दिने भएका कारण सरकारले जिपिएस प्रयोग गर्ने भएको हो।

'पर्यटन विभागका अनुसार सरकारले प्रारम्भिक चरणमा ५० लाखको बजेट तर्जुमा गरे पनि १३ लाखमात्रै छुट्ट्याएको हो। १–२ सातापछि यसका लागि टेन्डर गर्दैछ। पहिलो चरणमा २० वटासम्म जिपिएस सगरमाथा आरोहणमा प्रयोग गरिने छ।'

सरकारले जिपिएसका लागि चालु आर्थिक वर्ष १३ लाख रुपैयाँ विनियोजन गरेको छ। पर्यटन विभागका निर्देशक तथा प्रवक्ता दुर्गादत्त ढकालले जिपिएस अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा प्रयोग भएको धेरै वर्ष भए पनि नेपालमा पहिलो पटक परीक्षणका रुपमा प्रयोग गर्न खोजिएको बताए।

'जिपिएस ट्र्याकिङको विषयमा विज्ञटोलीसँग पहिलो चरणमा छलफल भइसकेको छ। टोली यसमा लाग्ने लागत जस्ता विषयमा कार्यविधि बनाएर विभागलाई बुझाउने तयारीमा छ,' प्रवक्ता ढकालले भने, 'यसपछि सार्वजनिक खरिद ऐनअनुसार टेन्डर आह्वान गर्नेछौं।'

भदौ पहिलो साता टेन्डर गरेर प्राप्त कम्पनीको आशयपत्र हेरेपछि जिपिएस ट्र्याकिङ विषयमा टुंगो लगाउने विभागले जनाएको छ। विभागका अनुसार जिपिएसको विषयमा स्वदेशी तथा विदेशी कम्पनीले आशयपत्र बुझाउन पाउने छन्। सगरमाथामा पहिलो पटक जिपिएस नमुना परीक्षण गर्ने भएका कारण नेपाली कम्पनीले इच्छा देखाएको ढकालको भनाइ छ।

उनका अनुसार सरकारले प्रारम्भिक चरणमा ५० लाखको बजेट तर्जुमा गरे पनि १३ लाखमात्रै छुट््याएको हो। '१३ लाख रुपैयाँबाट काम सुरु गर्नेछौं। एक/दुई सातापछि टेन्डर आह्वान हुनेछ,' विभागका निर्देशक सविनराज ढकालले भने, 'जानकारीमा आएसम्म एउटा जिपिएस ट्र्याकिङको मूल्य ४० हजार रुपैयाँ पर्छ। हामी पहिलो चरणमा २० वटासम्म जिपिएसबाट परीक्षण गराउने योजनामा छांै।'

उनका अनुसार पहिलो पटक परीक्षण गर्न लागेकाले सगरमाथाबाट प्रयोग गरिने छ। सरकारले दोस्रो चरणबाट भने ८ हजार मिटर उचाइको हिमालमा प्रयोग गरिने निर्देशक ढकालको भनाइ छ। 

आरोही हराएमा सजिलै सूचना

सगरमाथा आरोहणक्रममा आरोही भवितव्य दुर्घटनामा परे पनि सजिलै सूचना लिन सकिन्छ। कहाँ, कुन उचाइमा दुर्घटना भएको हो। यदि हिउँ पहिरो आएमा आरोही पुरिए पनि उसले प्रयोग गरेको जिपिएसले देखाएको लोकेसनका आधारमा सजिलै सूचना लिन सकिन्छ। यदि आरोहीले लिएको रुट परमिटभन्दा फरक रुटबाट आरोहण गरे पनि सहजै पत्ता लगाउन सकिन्छ। 

जिपिएस ट्रयाकिङ के हो?

यो एउटा आधुनिक प्रविधिबाट निर्मित स्वचालित यन्त्र हो। यसले भौगलिक अवस्थाको विषयमा समेत जानकारी दिन्छ। जिपिएस प्रविधिले वातारण मौसम अनकूल प्रतिकूलका साथै हिमालको उचाइका विषयमा पनि जानकारी दिन्छ।

स्याटेलाइट परमिटबाट जिपिएस ट्र्याकिङ सञ्चालमा आउँछ। यसकारण अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा हिमाल आरोहीले जिपिएस प्रविधि प्रयोग गर्ने गरेको पाइन्छ। यसका लागि कम्प्युटरमा उक्त जिपिएसको डिभाइस जोडिएको हुन्छ। डिभाइस अन राख्नुपर्छ। त्यसपछि आरोहीको सम्पूर्ण गतिविधि सजिलै जानकारी लिन सकिन्छ।

यस प्रविधिबाट काठमाडौ बाट नै आरोही हिडेको रुटको फोटो र भिडियो खिच्न सकिन्छ। यस प्रविधिले आरोहीले हिमाल आरोहण गरेको हो होइन भन्ने पनि सजिलै प्रमाण जुटाउन सकिन्छ। साथै आरोहण प्रणाली व्यवस्थित गर्न सकिन्छ।

जिपिएस भू–उपग्रह, ग्राउन्ड स्टेसन र रिसिभर मिलेर बनेको प्रणाली हो। यसले अनकन्टार र निर्जन ठाउँमा घुमफिर गरिरहेको व्यक्ति स्वयं र आफन्तलाई उसको अवस्थितिबारे जानकारी दिन्छ। हिमाल आरोहण वा दुर्गम क्षेत्रको पदयात्रामा निस्केको व्यक्तिको अवस्था थाहा पाउन यो प्रविधि प्रयोग गर्न सकिन्छ। यसले मौसमी अवस्था र हिमालको उचाइको पनि जानकारी दिन्छ।

जिपिएसले पृथ्वीको कक्षमा स्थापना गरिएका २४ वटा स्याटेलाइट मिलेर बनेको ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम प्रयोग गरी सूचना प्राप्त गर्छ। ग्राउन्ड स्टेसनले राडारमार्फत ऊसँग जोडिएको उपकरण कहाँ छ भन्ने जानकारी दिन्छ। मोटरगाडी, पानीजहाज, मान्छे, जनावर वा कुनै गतिशील वस्तुमा जडित रिसिभरले भू–उपग्रहमार्फत आएको संकेतको सहायताले अवस्थितिको जानकारी दिन्छ।

यो उपकरणले यतिसम्म सही सूचना दिन्छ कि यो रहेको वास्तविक ठाउँ र जिपिएस डिभाइसले देखाउने ठाउँ दुई–चार मिटर पनि फरक पर्दैन। उच्च प्रविधिका रिसिभरले त केही इन्च पनि फरक नपर्ने गरी अवस्थितिको जानकारी दिन्छ।

प्रकाशित: १ भाद्र २०७४ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App