१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेससँग ११ करोड ८० लाख सम्पत्ति

काठमाडौं- स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रूपमा पनि घाटा लागेको छ। चुनावपछि कांग्रेसको बंैक ब्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ। साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेस्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायतका बंैकमा रहेको खातामा ५ करोड २० लाख रुपैयाँ मौज्दात देखिएको छ। 

पार्टीको १३ औं महाधिवेशनमा तत्कालीन कोषाध्यक्ष चित्रलेखा यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा २०७२ फागुन १८ गतेसम्म कांग्रेसको बंैक खातामा कुल रकम ६ करोड ६७ लाख ४५ हजार ९ सय ४७ थियो।

स्थानीय तहको निर्वाचनपछि बंैक मौज्दात घटेको पार्टी कार्यालयका कर्मचारी बताउँछन्।

कांग्रेस पार्टी कार्यालयका सहसचिव तथा मुख्य लेखा अधिकृत रवीन बज्राचार्यले साउन तेस्रो सातासम्म कांग्रेसको विभिन्न बंैकमा गरी झन्डै ५ करोड २० लाख मौज्दात रहेको जानकारी थिए। अघिल्लो आर्थिक वर्षभन्दा यसपटक कांग्रेसको खातामा झन्डै डेढ करोड रुपैयाँ घटेको पनि उनले बताए।

कांग्रेस  केन्द्रीय पार्टी कार्यलय भवन र भवनले ओगटेको जग्गासमेतलाई प्रचलित मूल्यमा जोडेर कांग्रेसको अचल सम्पत्ति यस वर्ष झन्डै ६ करोड ६० लाख रुपैयाँ पुगेको छ।

तत्कालीन कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसको अचल सम्पत्ति ६ करोड २५ लाख ११ हजार उल्लेख थियो। दुई वर्षयता अचल सम्पत्तिको बजार मूल्य करिब ३५ लाख बढेको बज्राचार्यले बताए।

मासिक  ८ लाख लेबी

पार्टीका सांसद र मन्त्रीबाट मासिक ८ लाख रुपैयाँ लेबी उठ्ने गरेको छ। सांसदहरूले मासिक ५ हजार रुपैयाँ लेबी बुझाउनुपर्छ। ५ हजारमध्ये ४ हजार पार्टी कार्यालयमा र एक हजार रुपैयाँ संसदीय दलको कार्यालयमा जम्मा हुन्छ।

महाधिवेशनका बेला क्रियाशील सदस्यको  लेबी उठ्छ। गत महाधिवेशनमा कांग्रेसको क्रियाशील सदस्यबाट ५ करोड ५४ लाख रुपैयाँ उठेको थियो।

गत आर्थिक वर्षमा कांग्रेसको बैंक खातामा थप एक करोड रुपैयाँ जम्मा भएको थियो। थप रकम दुई चरणको स्थानीय निर्वाचनमा सकिएको पार्टी कार्यालयका एक कर्मचारीले बताए।

दुवै चरणको स्थानीय निर्वाचनमा प्रचार समाग्री तयार गर्न, झन्डा बनाउन, घोषणापत्र छाप्न ६० लाख रुपैयाँ खर्च भएको थियो।

जिल्लाको सम्पत्ति अझै केन्द्रमा आएन

केन्द्रीय कार्यालयले ७५ वटै जिल्ला कार्यालयको चलअचल सम्पत्ति विवरण संकलन गर्न थालेको छ। यसका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर  जिल्लाको सम्पूर्ण विवरण केन्द्रमा  पठाउन निर्देशन दिएको थियो। केन्द्रीय प्रतिनिधि जिल्लामा गए पनि अधिकांश जिल्लाले सम्पत्ति विवरण बुझाएका छैनन्।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दुई जिल्लाबाहेक अन्यत्रबाट सम्पत्ति विवरण नआएको बताए। 'अहिलेसम्म दुई जिल्लाबाट मात्र सम्पत्ति विवरण आएको छ। बाँकी जिल्लाबाट प्रतिवेदन आएन,' उनले भने।

कांग्रेस महामन्त्री शशांक कोइरालाले जिल्लामा खटिने प्रतिनिधिलाई जिल्ला पार्टी कार्यालयमा प्रयोग भएको फोन, फ््कयाक्स, पार्टी कार्यालयको जग्ग्गा, भवन, भवन नभए भाडा रकम, कर्मचारीलाई दिने तलबजस्ता विवरण समेटेर बुझाउन निर्देशन दिएका थिए।

प्रकाशित: ६ भाद्र २०७४ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App