१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गीतमा पल र आँचलको कायापलट

काठमाडौं- फिल्म 'नाइ नभन्नू ल ४'मा भेट भएका नायक पल शाह र नायिका आँचल शर्माको बीच अफेयरको चर्चा छ। पहिलो फिल्मबाट जोडी बनेका उनीहरुलाई यही कारणले फाइदा पनि राम्रै भएको छ। अर्थात दुवैको भेटले एकअर्काको जीवन कायापलट भएको छ। उनीहरुको यस्तै जिन्दगीसँग मेल खाने गीत आइतबार सार्वजनिक भएको छ।

दुवैको अभिनय रहेको फिल्म 'जोनी जेन्टलमेन'को गीत 'जब जब'मा एकअर्कालाई भेटेपछि जिन्दगी कायापलट भएको सन्दर्भ छ। फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गीत सार्वजनिक गरेको हो।

कार्यक्रममा गीतका संगीतकार अर्जुन पोखरेलले एल्बमका लागि तयार पारिएको गीतको भिडियो राम्रो नबनेपछि फिल्ममा प्रयोग गरिएको खुलासा गरे। 'यो गीतका गायक सुरेश लामाले आफ्नो एल्बमका लागि मसँग गीत मागेका थिए। आफैंले मनपराएको गीत सुरेशलाई सुनाउँदा पहिलो पटकमै उनले मन पराए। गीत राम्रो भएकाले भिडियो खिच्न मुस्ताङ पनि पुग्यौं। तर, भिडियो सोचे जस्तो राम्रो बन्न सकेन,' संगीतकार पोखरेलले भने, 'पछि जोनी जेन्टलमेनको युनिटलाई गीत चाहिएपछि गायकसँगको सहमतिमा यो गीत फिल्मलाई दियौं। अनि गायककै इच्छा अनुसार अञ्जु पन्तसँगको युगल स्वर रेकर्ड गरायौं।' गीतमा अर्जुनकै शब्द र संगीत छ।

गीतमा नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ छन्। अभिनेता पलले छोटो समयमा नै गीत खिचे पनि गीत राम्रो बनेको बताए। 'फिल्मको शोका लागि हङकङ उड्नु थियो। सोही दिनको बिहानसम्म खिचेर तयार गरेका हौं,' उनले भने, ' अर्जुन दाइले यो साल उत्कृष्ट गीत दिनु भएको छ। यो गीत पनि त्यसैको निरन्तरता हो।'

अभिनेत्री आँचलले पनि गीत राम्रो बनेकोले दर्शकको रोजाइमा पर्ने आशा व्यक्त गरिन्। गीतमा प्रवीण सिंहको कोरियोग्राफी छ। फिल्मका निर्देशक नितिन चन्दले गीतमा निकै मेहनत गरेकाले कलाकारले पनि त्यसमा साथ दिएको बताए।

एन्ड्रिउ पौडेल निर्माता रहेको फिल्ममा अजय मल्ल ठकुरी कार्यकारी निर्माता छन्। फिल्ममा विकास जोशीको पनि अभिनय रहेको छ। फिल्म भदौ ३० गतेबाट प्रदर्शनमा आउँदैछ।

प्रकाशित: १२ भाद्र २०७४ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App