इन्द्रजात्रामा २९ गुठीको सहयात्रा, यस्तो छ रुट

सोमबार, १९ भदौ २०७४, १३ : ०२ शिवहरि घिमिरे  | @shivsamir


‍उपत्यकाको हरेकजसो नेवार टोलका गुठी सदस्यलाई केही दिनदेखि फुर्सद छैन । कोही नाचगान र बाजागाजाको तयारीमा छन् भने कोही स्वयंसेवकको रूपमा खटिएका छन् ।

हरेक टोलबाट आफ्नो गुठीले पाएको जिम्मेवारीअनुसार खटिन तयार भेटिन्छन्, सदस्य र टोलवासीहरू  । वर्षैभर जस्तो सक्रिए रहने नेवार समुदायका धेरै गुठी सदस्य एकत्रित भएका छन्, यसबेला वसन्तपुर क्षेत्रमा । उनीहरू सबैको एउटै ध्येय छ– इन्द्रजात्रालाई सफल बनाउनु ।

अरुबेला भिन्न–भिन्न सांस्कृतिक काम गर्दै आएका गुठीहरू पनि इन्द्रजात्राका लागि भने एक हुँदै आएका हुन् । गुठीहरू इन्द्रजात्राका मेरुदण्ड नै भएको बताइन्छ ।

काठमाडौंका नेवार गुठीहरू अरु बेला सायदै यसरी सहकार्य गर्छन्, जसरी इन्द्रजात्राका बेला गरिरहेका छन् । ‘इन्द्रजात्राका बेला यस क्षेत्रका सबै गुठी एक भएर काम गर्छन्, त्यसैले हामीलाई व्यवस्थापन गर्न सजिलो भएको छ,’ इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्य भन्छन्, ‘उपत्यकाका अरु जात्रा र पर्वमा यति धेरै गुठी एकै स्थानमा हुँदैनन् होला ।’

शाक्यका अनुसार इन्द्रजात्राका बेला काठमाडौंका मात्र २९ गुठीले व्यवस्थापनमा सहकार्य गरिरहेका छन् । उपत्यकाकै ठूलो जात्रामध्ये पर्ने इन्द्रजात्रामा गुठीका सदस्यले विभिन्न खाले व्यवस्थापनको जिम्मेवारी लिँदै आएका छन् । गुठीकै कारण इन्द्रजात्रालाई ऐतिहासिक बनाइराख्न सकिएको शाक्यको तर्क छ ।

अरुबेला भिन्न–भिन्न सांस्कृतिक काम गर्दै आएका गुठीहरू पनि इन्द्रजात्राका लागि भने एक हुँदै आएका हुन् । शाक्य गुठीहरू इन्द्रजात्राका मेरुदण्ड नै भएको बताउँछन् ।

इन्द्रजात्राका अवसरमा वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आजु, हलचोक, आकाश भैरव, पुलुकिसी आजु, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठी एक भएर व्यवस्थापनमा जुटिरहेका छन् ।

लाखे नाच संरक्षण समिति अध्यक्ष राजिव रञ्जितकार गुठीको एकताकै कारण जात्रा व्यवस्थित भएको बताउँछन् । ‘अरु बेला अलग्गिने र आ–आफ्नै टोलका पर्वका निम्ति काम गर्ने गुठी इन्द्रजात्राका बेला एक हुन्छन्,’ उनले भने, ‘जात्रा सुरु हुनुभन्दा एक महिना पहिलेदेखि नै गुठीबीच कसरी जात्रा सम्पन्न गर्ने भन्ने छलफल हुन्छ ।’

जात्राको खर्च समेत गुठी र सरकारी सहयोगबाटै जुट्ने गरेको छ । उपत्यकाको महŒवपूर्ण इन्द्रजात्रा आइतबारदेखि सुरु भइसकेको छ । तान्त्रिक विधिबाट पूजा गरिएको बोकालाई भक्तपुरको जंगलमा छाड्दा पहिलोपटक छोएको रूखबाट बनाइएको विशेष लिंगोलाई आइतबार वसन्तपुर दरबार क्षेत्रको हनुमानढोकामा उठाइएपछि इन्द्रजात्रा विधिवत सुरु भएको हो ।

जात्राको पहिलो दिन आइतबार बिहान सवा आठ बजे हनुमान ढोकाअगाडि लिंगो उठाएर नाचगान गरिएको थियो । आइतबारै बेलुका ८ बजे कुमारीलाई हनुमानढोका लगेर पूजा गरी फर्काइएको छ ।

जात्रा सुरु भएसँगै विभिन्न देवी–देवतालाई आठ दिनसम्म किलागलस्थित हलचोक आकाश भैरव गुठीमा राखिन्छ । जात्रा नसकिएसम्म देवी–देवतालाई त्यहीँ राखेर पूजा गर्ने चलन रहेको अध्यक्ष शाक्यले जानकारी दिए ।

जात्राको पहिलो दिनदेखि अन्तिम दिनसम्म विभिन्न नाच, रथयात्रा र जात्रा प्रस्तुत गर्ने गरिन्छ । आइतबार हनुमानढोका आसपासमा लाखे, दशअवतार, भैरव, आकाश भैरव, देवी, महाकालीलगायत नाच देखाइएको छ ।

जात्रा सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा गरिन्छ । रथयात्राको मुख्य रुट वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत हो ।

इन्द्रजात्रामा राष्ट्र प्रमुखले दुईपटक दर्शन र प्रसाद ग्रहण गर्नुपर्ने नियम छ । यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बुधबार र अर्को साताको सोमबार जात्रा अवलोकन गर्नेछिन् ।

जात्राको किंवदन्ती

इन्द्रजात्राको सबैभन्दा चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आएका थिए । उनी काठमाडौं आइपुगे । एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पसे । बगँैचामा पसेको चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए । छोरो काठमाडौंमा बाँधिएको पत्तो पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उनलाई फर्काएर लगिन् । त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको हो । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले रहँदै आएको छ ।

इन्द्रजात्रामा देखाइने केही नाच

आठ दिनसम्म चल्ने जात्रा अवधिभर विभिन्न नौ थरीका नाच देखाइनेछ । व्यवस्थापन समितिका अनुसार कुमारी, गणेश, भैरव, देवी, लाखे, पुलकिसी, हलचोक, आकाश भैरवलगायत नाच देखाइनेछ । यसैगरी भक्तपुरबाट महाकाली र वसन्तपुर कुमारी घरको आँगनमा देखाइने दश अवतार नाच पनि यस अवधिमा देखाइन्छ ।

सबै नाचका आफ्नै विशेषता र फरक–फरक किंवदन्ती रहेको संस्कृतिविद् डा. चुण्डा बज्राचार्यले बताइन् । उनका अनुसार कुमारीको नाच देखाउँदा टोलमा शान्ति हुने र रोग नलाग्ने, लाखे नाच देखाउँदा घरभित्र शान्ति हुने, भैरवनाच देखाउँदा आर्थिक संकट नपर्ने किंवदन्ती छ । यसैगरी पुलकिसी, हलचोक, आकाश भैरव नाच देखाउँदा मृत आत्माले शान्ति पाउने र देशमा प्राकृतिक प्रकोप नपर्ने उनले बताइन् । ‘इन्द्रजात्रामा देखाइने हरेक नाचको अर्थ बेग्लाबेग्लै छ,’ बज्राचार्यले भनिन्, ‘यसले मनोरञ्जन दिनुका साथै समाजका नकारात्मक पक्षलाई हटाउने विश्वास गरिन्छ ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व...

रहेनन् होचा कदका कलाकार

रहेनन् होचा कदका कलाकार

होचो कलाकार दीपेन शाहको बिहीबार बिहान निधन भएको छ । धादिङको कार्यक्रम सकेर चार दिनअघि ललितपुरको घर फर्किएका दीपेन अस्वस्थ्य...