१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

प्रयोगात्मक अभिनेता- ‘एक्टर त क्यारेक्टरजस्तै हुनुपर्छ’

तस्बिर : अर्जुन शाह

–अनिल यादव

सौगात मल्ल निःसन्देह नेपाली फिल्म जगतका प्रतिभाशाली अभिनेता हुन् । फिल्म चलोस्/नचलोस् तर हरेक फिल्ममा उनले आफ्नो बेजोड अभिनयको छाप छोडिरहेका हुन्छन् । साउन महिनाको दोस्रो साता यी भर्सटायल अभिनेतासँग नागरिक परिवारले ‘कभरब्वाई’का फोटोसुट गर्यो । करिब डेढ घण्टाको फोटोसुटपछि उनी आफ्नो जीवन, अभिनय, पात्र र रुचिबारे खुलेर प्रस्तुत भए :


पात्र अनुसार सौगात

‘बल होइन पासा डिमाग लगा, डिमाग’

फिल्म ‘लुट’को यो डायलग र यसलाई बोल्ने ‘हाकु काले’ धेरैको मस्तिष्कमा अझै पनि ताजा छ । निश्चय पनि सौगातले उल्लेख्य दर्शकमाझ ख्याति कमाएको ‘हाकु काले’बाटै हो । त्यसो त यस क्षेत्रमा एउटै फिल्म र चरित्रको ख्यातिबाट वर्षौंसम्म ब्याज खान खोज्नेको कमी छैन । सौगात भने यसको पक्षमा कहिल्यै भएनन् र छैनन् । उनी फिल्मैपिच्छे आफूलाई परिवर्तन गर्न खोजिरहेका हुन्छन्– कहिले फटाहा त कहिले चञ्चल, कहिले डन त कहिले प्रहरी, कहिले मधेसी त कहिले चौधरी । थरीथरीका चरित्रमा आफूलाई ढालिरहेका हुन्छन्, उनी । पात्रअनुसार आफूलाई ढाल्न के कत्ति मिहनेत गर्छन् त उनी ? भन्छन्, ‘यो सबै सोच हो । मैले हरेक फिल्ममा त्यस्तो गरेको छु जस्तो त मलाई लाग्दैन । अर्को कुरा, पात्रअनुसार काम गर्न यहाँ भनेजस्तो सामग्री (दाह्री, जुगालगायत) पनि त पाइँदैन तर म हरेक फिल्ममा कोसिस चाहिँ गरिरहेको हुन्छु । मलाई लाग्छ, ज–जसले प्रयास गर्छन्, उनीहरु फरक देखिएका पनि छन् ।’
कम बोल्ने अभिनेताको उपमा पाएका सौगात यत्तिमै रोकिएनन् । पर्दामा आफूलाई फरक–फरक रङमा देख्न पाउँदा रमाइलो लाग्ने बताए । ‘मलाई एउटैखाले काम गर्दा दिक्क लाग्छ । फिल्ममा आफूलाई सौगात नभएर अर्कै मान्छेका रुपमा चिनाउन मन लाग्छ,’ उनले आफू भर्सटायल हुन खोज्नुको कारण खुलाए, ‘दर्शकलाई लागोस् कि ऊ सौगातलाई हेरिरहेको छैन, अर्कै नयाँ क्यारेक्टर हेरिरहेको छ ।’

सौगातका समकालीन अभिनेता दयाहाङ राईं (जो अहिले एकदमै व्यस्त छन्) का फिल्म हेर्दा लाग्छ– उनी आफूअनुसार पात्रलाई ढालिरहेका हुन्छन् । तर पात्रअनुसार आफूलाई ढाल्न रुचाउने सौगात दयाहाङका फ्यान हुन् । ‘म सबै एक्टरले मजस्तै गर्नुपर्छ भन्ने पक्षमा छैन,’ उनले भने, ‘दयाकै कुरा गर्दा ऊ मेरो बेस्ट एक्टर हो । म चाहिँ आफूलाई एउटै मात्र चरित्रमा सीमित राख्न रुचाउदिनँ । ‘हाकु काले’ फिल्म हेर्न जान्छु भन्ने मान्छे पनि फिल्म हेरिसकेपछि ‘हाकु काले’को फिल्म हेरेको महसुस नगरोस् । म सधैँ यही प्रयास गरिरहेको हुन्छु ।’

सौगात फिल्मैपिच्छे आफूलाई परिवर्तन गर्न खोजिरहेका हुन्छन्– कहिले फटाहा त कहिले चञ्चल, कहिले डन त कहिले प्रहरी, कहिले मधेसी त कहिले चौधरी । थरीथरीका चरित्रमा आफूलाई ढालिरहेका हुन्छन्, उनी ।

‘लुट’भन्दा धैरैअघि सौगातले फिल्म ‘कागबेनी’मा काम गरेका थिए तर त्यतिबेला धेरैले उनलाई फिल्ममा ‘नोटिस’ गरेनन् । ‘तपाईं पनि हुनुहुन्थ्यो र फिल्ममा ?’ धेरैले उनलाई यसरी प्रश्न पनि गरेछन् । ‘त्यही भएर मैले ‘लुट’मा गरेको चाहिँ अलि बेसी नै हो क्या !’ उनले भने, ‘ताकि मान्छेलाई मेरो क्यारेक्टरले तानोस्, याद राखोस् । त्यसैले फिल्मभित्र मेरो ठूलो आवाज र लाउड रिएक्सनले पनि भनिरहेको हुन्थ्यो– ‘ए यता हेर न, म छ, म छु क्या !’

भाषाप्रेमी सौगात
‘लुट’मा ‘नेवारी टोन’ बोलेका सौगात फिल्म ‘षडङ्ग’मा मधेसी र ‘लुकामारी’मा थारु लवजमा सुनिए । आफ्नो चरित्रलाई अभिनयका माध्यमबाट मात्रै नभएर भाषा र हुलियाका माध्यमबाट पनि सौगात फिल्मैपिच्छे आफूलाई प्रयोग गर्न खोजिरहेका हुन्छन् । ‘मलाई भाषाप्रति एकदमै मोह छ,’ उनले भने, ‘सबै भाषा त आउँदैन तर सकेसम्म टोनलाई हुबहु कपी गर्ने कोसिस गर्छु ।’
पछिल्लो समय सौगात मधेसी चरित्रमा खुब देखिन थालेका छन् । यसका लागि उनी नै फिट हुने भएर हो या अरु केही कारण छ ? ‘यो सब मैले चाहेर भएको हो, मैले नचाहेको भए हुँदैनथ्यो,’ सौगात भन्छन्, ‘मैले पहिलोपल्ट मधेसी क्यारेक्टर निर्वाह गरेको फिल्म ‘षडङ्ग’मा हो । त्यो डनको क्यारेक्टर राई, लिम्बु पनि हुन सक्थ्यो तर म नवलपरासीतिरको मान्छे, त्यसैले मेरो दिमागमा मेरै घरमा काम गर्ने एउटा क्यारेक्टर थियो । जो हाम्रो विषयमा, मेरो बाउको विषयमा ब्याकबाइटिङ गथ्र्यो । उसले एक्लै भएका बेला आफ्नो निराशा कसरी पोख्थ्यो त ? गर्न सक्ने भए के–केसम्म गथ्र्यो होला ? म उसको मनोविज्ञान र हाउभाउ अध्ययन गर्न खोज्थेँ । त्यही क्यारेक्टरको स्वभाव मैले यो फिल्ममा प्रयोग गर्ने सोचेँ । सुरुमा निर्देशकलाई प्रस्ताव राख्दा अकमक्क पर्नुभयो । पछि मैले दुई–तीनटा डायलग सुनाएपछि मात्र उहाँ तयार हुनुभयो ।’ सौगातले ‘षडङ्ग’बाहेक ‘लुकामारी’मा चौधरी र ‘संरक्षण’ मधेसी चरित्र निर्वाह गरेका छन् ।
‘लूट’मा पनि सुरुमा ‘हाकु काले’ चरित्र थिएन । मात्र ‘काले’ थियो । त्यो नेवारी भन्ने पनि खुलेको थिए, अञ्जान मान्छे थियो । ‘यत्रो वर्ष काठमाडौंमा बसेकाले मलाई अलिअलि नेवारी टोन थाहा थियो,’ उनले चरित्र चित्रण खुलाउँदै भने, ‘त्यसपछि मैले नै निर्देशकलाई गरौँ न त भनेर सुझाएको थिएँ ।’

त्यसोभए ‘काले’चाहिँ कसरी ‘हाकु काले’ बन्यो ? यसको पनि रोचक कहानी छ । फिल्म बन्नुभन्दा दुई वर्षअघि सौगातले एक जना साथीलाई एक दिन कहाँ जान लागेको भनेर सोधेछन् । जवाफ आयो– ‘हाकु’कोमा । सौगातलाई नाम खतरा र ओजनदार लाग्यो । भेट्न पनि गएछन् । ‘त्यतिबेलै त्यो नाम मेरो दिमागमा बसिसकेको थियो,’ उनले भने, ‘हाकु भनेको नेवारी भाषामा काले भन्ने हुँदोरहेछ । मैले हाकु भनेको काले भनेर दिमागमा नाम घोकेर राखेको थिएँ । जब निश्चलले लुटमा ‘काले’ क्यारेक्टर सुनायो, मेरो दिमागमा आइहाल्यो– ‘काले भनेको त हाकु हो ।’ त्यसपछि हाकु काले नै राखिदिऊँ न त भन्ने सल्लाह भयो । नेवारी नाम राखेपछि टोन पनि नेवारी नै गर्नुपर्ने भयो र मैले गरेँ ।’

स्क्रिप्टका कुरा
सौगात जति जीवन्त र बुलन्द अभिनय गर्न सक्छन्, त्यसअनुसार उनले ‘हिट फिल्म’को स्वाद कमै चाखेका छन् । त्यसो त उनी हिटका पछि दौडिएका पनि छैनन्, कामकै पछि छन् । उनलाई यहाँ ‘हिट’को भन्दा पनि ‘स्क्रिप्ट’को चिन्ता छ । ‘यहाँ राम्रो स्क्रिप्ट पाउनै गाह्रो भयो,’ उनी भन्छन्, ‘सिन राम्रो हुन्छ, कन्सेप्ट राम्रो हुन्छ, वनलाइन स्टोरी राम्रो हुन्छ तर स्क्रिन प्ले झुर भइदिन्छ । सायद समय धेरै नदिएर पनि हुन सक्छ । एउटा मात्र काम गरेर पुग्दैन । दिउँसो एउटा ग्रुपसँग, साँझ अर्को ग्रुपसँग लेख्नुपर्छ । त्यही भएर पनि कमजोर भएको होला ।’

सौगातलाई फिल्म खेल्न राजी बनाउने हतियार पनि स्क्रिन प्ले नै हो । निर्देशकले दिएको क्यारेक्टरमा परिवर्तन ल्याउने उनको चाहना हुँदै होइन तर क्यारेक्टर दम नदेखेपछि उनी त्यसमा आफूलाई देखिरहेका क्यारेक्टरलाई घुसाउन खोज्छन् । ‘स्क्रिप्टमा केही नहुँदा मात्र मैले हाल्ने हो क्या ! स्क्रिप्ट हेर्यो, टक्क मिलेको हुँदेन अनि त्यत्तिकै गर्ने कुरा हुँदैन । त्यसैले म त्यसमा मोडिफाइ गर्न खोज्छु,’ उनले भने । सौगातलाई स्क्रिप्ट राम्रो भयो भने एक्टरले कम मिहनेत गर्दा पनि फिल्म राम्रो हुन्छ भन्ने लाग्छ ।

क्यारेक्टरका लागि कम समय
निर्देशकले सौगातको हातमा स्क्रिप्ट थमाइदिएपछि उनी क्यारेक्टरका लागि कसरी तयार हुन्छन् ? ‘म क्यारेक्टरबारे जान्न खोज्छु,’ उनले भने, ‘उसको बोलिचाली कस्तो हो ? ऊ कस्तो पृष्ठभूमिबाट आएको हो ? कतिपय स्क्रिप्टमा यो प्रस्ट हुन्छ भने कतिपयमा हुँदैन । ऊ कहाँ जन्मेको, कस्तो स्थितिमा जन्मेको, त्यहाँको समुदाय कस्तो थियो ? उसले कति पढेको होला ? उसको परिवार कस्तो होला ? कस्तो साथीसंगत होला ? म यी सब कुरा कल्पन्छु र त्यहीअनुसार आफूलाई ढाल्न खोज्छु । क्यारेक्टर अलिकति मोटो छ भने मोटाउने कोसिस गर्छु, ज्यान बनाएको छ भने ज्यान बनाउन खोज्छु ।’

क्यारेक्टरका लागि दिइने १०–१५ दिनको समय सौगातलाई पर्याप्त लाग्दैन । ‘क्यारेक्टरको रिसर्च गर्ने समय नै कम हुन्छ,’ उनले गुनासो पोखे, ‘दिइएको समय डायलग बनाउने र घोक्नेमै बित्छ । मान्छेलाई गएर भेट्ने समय नै कम हुन्छ । मैले त्यसरी क्यारेक्टर भेटेरै काम गरेको फिल्म ‘दासढुङ्गा’ लगायत एक–दुइटा होला ।’

तर फिल्मका लागि जति लामो समय लियो, त्यति फिल्म राम्रो हुन्छ भन्ने कुरामा सौगात विश्वस्त छन् । उनी भन्छन्, ‘‘लूट’ यसको उदाहरण हो । त्यतिबेला हामी सबै कलाकारहरु खाली थियौँ । पर्याप्त समय लिएर काम गरेका थियौँ । नतिजा पनि राम्रै आयो ।’ त्यसो त उनले ‘षडङ्ग’ फिल्ममा कालु यादवको भूमिका निर्वाह गर्नुअघि पनि २२ दिनजति समय पाएका थिए ।

‘मलाई एउटैखाले काम गर्दा दिक्क लाग्छ । फिल्ममा आफूलाई सौगात नभएर अर्कै मान्छेका रुपमा चिनाउन मन लाग्छ । दर्शकलाई लागोस् कि ऊ सौगातलाई हेरिरहेको छैन, अर्कै नयाँ क्यारेक्टर हेरिरहेको छ ।’

आफ्नो फिल्म आफैँलाई झूर
फिल्ममा काम गर्नुअघि सौगात नाटकमा व्यस्त थिए । कहिलेकाहीँ त उनी एक्लैले नाटकमा तीन–चार वटा भूमिका निभाइरहेका हुन्थे । छिनछिनमा फरक–फरक अवतारमा देख्दा दर्शक नै चकित हुन्थे । नाटक सकिएपछि भेट्थे अनि प्रशंसा गर्थे । ‘कसरी गर्नुभयो ?’, ‘त्यो त तपाईंजस्तै देखिएन’ भन्दै प्रश्न गर्थे । कतिपयले ‘तिमी नै होइन जस्तो लाग्यो यार, मेरो गाउँको रिक्सावाल जस्तो लाग्यो’ भनिदिँदा खुसीले गद्गद् हुन्थे । ‘मलाई आफूले गरेको काम राम्रै होला भन्ने लाग्थ्यो,’ सौगातले भने, ‘त्यतिबेला नाटक गर्दा हाम्रो भिडियो पनि खिचिन्थ्यो । मैले गरेको काम कस्तो होला भनेर मैले जब भिडियो हेरेँ, मलाई एकदमै दुःख लाग्यो । चित्तै बुझेन । त्यसपछि कि त आफ्नो काम हेर्नुहुँदैन कि त काम नै गर्नुहुँदैन भन्ने लाग्न थाल्यो । त्यसैले मलाई आफ्नो फिल्म हेर्नै गाह्रो लाग्छ । एक सिन राम्रो लाग्छ, अर्को झूर लागिदिन्छ । खासमा आफ्नो फिल्म आनन्दसँग बसेर हेर्न सक्नु राम्रो हो । तर मलाई ‘ला’ला’ हुन्छ । यहाँको नशा फुलाउँछु भन्दा फुलेको हुँदैन । कता के बिग्रेको हुन्छ अनि तनाव हुन्छ ।’ उनले आफ्ना थुप्रै फिल्म पूरै नहेरेर टुक्राटुक्री मात्रै हेरेको बताए ।

‘एक्टर भएपछि चिटिक्क हुनुपर्छ भन्ने कुरा मेरो दिमागबाट स्कुल पढ्दै हट्यो । एक्टर त क्यारेक्टरजस्तै हुनुपर्छ । जस्तो कथा भनिएको छ, त्यो मान्छे (पात्र) त्यस्तै हुनुपर्छ ।’

सौगातलाई उनले निर्वाह गरेका क्यारेक्टरमध्ये पाँच प्रिय क्यारेक्टरबारे सोध्दा उनी अकमकिए । अनि भन्न थाले, ‘म आफैँ पूर्ण रुपमा सन्तुष्ट भएको क्यारेक्टर नै छैन । कतै सिनहरु राम्रो हुन्छ तर पूरा फिल्म हेर्दा कता न कता खटपट लागिहाल्छ । मलाई पनि अरुले भनेपछि मात्र राम्रो फिल हुने । त्यसमा सबैभन्दा बढी नाम त ‘लुट’ कै आउला । ‘फिटकिरी’, ‘उमा’को कथाले पनि मलाई छोएको हो ।’

प्रयोगात्मक अभिनेता
सौगात एकदमै धेरै प्रयोग गर्न रुचाउने अभिनेता हुन् । उनले काम गरेका फिल्महरुले पनि त्यसलाई साबित गरेका छन् । ‘लुकामारी’ फिल्ममा उनको लवज मात्र चौधरीको थिएन, आँखा पनि टेढो थियो । धेरैलाई थाहा नहुन सक्छ, उनले आँखा टेढो बनाउनु पनि कारण थियो । खासमा आँखा टेढो भएका मान्छेहरु प्रहरीमा भर्ती हुँदैनन् र फिल्मको कथाअनुसार आफू प्रहरी रहेको तथ्यलाई सस्पेन्स राख्न उनले त्यसो गरेका थिए । ‘आँखा त्यसरी टेढो बनाउँदा अलिअलि टाउको त दुख्थ्यो तर पछि गर्दै जाँदा सजिलो भयो,’ सौगातले भने, ‘म सधैँ आफूलाई फरक कसरी गर्न सकिन्छ भनेर ऐनामा घोरिएर हेर्थें । बच्चैबेलादेखि दुइटा आँखाले दुईतिर दुइटा मान्छेलाई हेर्थें । मान्छेहरुका अगाडि टेढो आँखा बनाएर बोल्थेँ ताकि उसले मलाई त्यस्तो सोचोस् भन्ने लाग्थ्यो । उनीहरुको रिएक्सन बुझ्न मन लाग्थ्यो तर कसैले भिडियोमा नखिचे पनि यो सब गर्दा मलाई अभिनय नै गरिरहेको जस्तो महसुस हुन्थ्यो । लिड रोलको आँखा टेढो बनाउन सुरुमा निर्देशकले मानेका थिएनन् । पछि मैले कथाअनुसार सस्पेन्स राख्न मद्दत गर्छ भनेपछि तयार भएका हुन् ।’

सौगात एकान्तप्रेमी छन् । हरियोपरियो र शान्त वातावरण उनलाई मनपर्छ । एक्लै बस्दा उनी ऐना हेर्दा आफूलाई विभिन्न चरित्रमा प्रयोग गरिरहेका हुन्छन् । मान्छेहरुसँग भेट्दा उनीहरुको स्वभावलाई नजिकबाट नियालिरहेका हुन्छन् । ‘कलाकारका लागि कोही पनि मान्छे काम नलाग्ने फाल्तु नहुने रहेछ,’ उनी भन्छन्, ‘ढिलोचाँडो सबै काम लाग्ने रै’छ किनभने जुन क्यारेक्टरलाई म इग्नोर गरिरहेको हुन्छु, कुनैबेला मैलै त्यही क्यारेक्टर निर्वाह गर्नुपर्ने हुनसक्छ । मलाई कहिलेकाहीँ त्यो मान्छे राम्रोसँग हेरेको भए हुन्थ्यो भन्ने महसुस पनि भएको छ ।’

३८ वर्षीय सौगातले अभिनयको दुनियाँमा प्रवेश गरेको १७ वर्ष भइसक्यो । उनलाई यो क्षेत्रमा लाग्नलाई अहिले परिवारको पूर्ण समर्थन छ । ‘जतिबेला मैले सुरु गरेँ, त्यतिबेला त सबै बाआमा छोराछोरीले पढिदिँदा खुसी हुन्थे, यो अभिनयको क्षेत्रलाई त पेसाका रुपमा नै हेरिँदैनथ्यो तर अहिले बिस्तारै परिवर्तन हुँदैछ ।’

पर्दाभित्र जीवन्त देखिने सौगात खानपानमा कत्तिको ध्यान दिन्छन् ? ‘खासै ध्यान दिँदिन तर क्यारेक्टरअनुसार खाइरहेको हुन्छु । कुनै क्यारेक्टरले बढी दुध खान्छजस्तो लाग्यो भने खाइदिन्छु ताकि मलाई पूर्ण रुपमा त्यही क्यारेक्टर हुँ भन्ने महसुस होस् ।’

यति मात्रै होइन आफूलाई क्यारेक्टरमा ढाल्नका लागि उनी आफ्नो भित्री वस्त्रको रङमा समेत ध्यान दिन्छन् । भन्छन्, ‘रङले मान्छेको दिमागमा प्रभाव पार्छजस्तो लाग्छ । दर्शकले नदेख्ने चिज भए पनि म आफूलाई क्यारेक्टरमा उतार्नका लागि अन्डरवेयरको कलरसम्म ध्यान दिन्छु ।’

गाउँका कमेडियन
अभिनयका मामिलामा सौगात एकदमै गम्भिर र मिहिनेती किन छन् ? ‘सानैदेखि ममा हिरो बन्ने धुन सवार थियो । योबाहेक मलाई कतै रुचि थिएन र छैन पनि,’ उनले जवाफ दिए, ‘कसैलाई गेममा रुचि होला, कसैलाई केहीमा तर मेरो त्यस्तो धेरै केही पनि चाहना भएन । बच्चादेखि नै आफूलाई कसरी एक्सप्रेस गर्ने भन्नेतिर ध्यान थियो । मलाई याद भएदेखि नै मैले नाच्न थालेँ । स्कुल र गाउँघरतिर हुने कार्यक्रममा १८ वर्षको हुँदासम्म नाचे । अहिले जति काम देखिरहनुभएको छ, त्यो त्यही भएर भएको होला । मलाई लाग्छ, मान्छेले जे काममा बढी समय दिन्छ त्यो काम राम्रै हुन्छ ।’

सौगात काठमाडौँ एक्टिङकै लागि भनेर आएका हुन् । उनी गाउँका राम्रै कमेडियन पनि हुन् । कहिलेकाहीँ साथीहरुले उनको त्यो कमेडी अवतार सम्झाइदिन्छन् रे, ‘हामी धेरै कुरामा अल्झ्यौँ तर तैँले गरिस् यार भन्छन् । सानैदेखि खुब हसाउँथेँ रे ! गाउँघरतिर सिरियस कुराको त्यति भ्यालु हुँदैनरहेछ भन्ने थाहा पाएपछि म पनि हँसाउनतिर लागेको थिएँ ।’

बच्चा बेलामा सौगातलाई अमिताभ बच्चन खुब मनपथ्र्यो । जब अलि बुझ्ने भए उनले ‘टार्जन’ फिल्म हेरे । त्यसपछि उनलाई लाग्यो– हिरो भनेको ज्यान भएको हुनुपर्छ । ज्यान बनाउन जिम हल धाए । १२ देखि १७ वर्षको उमेरसम्म निरन्तर जिमखाना धाए । जिम इन्स्ट्रक्टरको आग्रहमा साढे १३ वर्षकै उमेरमा मिस्टर लुम्बिनी प्रतियोगितामा भाग लिएर थर्ड रनरअप पनि भए । ‘जतिबेला मान्छेहरु सलमानको पछि कुदिरहेका थिए, त्यतिबेला म नसिरुद्धिन शाह, ओम पुरी, इरफान खान, नाना पाटेकरको फ्यान भइरहेको थिएँ,’ उनले सुनाए, ‘उनीहरुका फिल्मले मलाई छुन थालेको थियो । सलमानले ठूल्ठूलो आम्र्स देखाउँदै रोएको दृश्य मलाई बनावटी लाग्थ्यो ।’ सौगातलाई पछि आएर आफ्नो सोच हलिउड अभिनेता डेनियल डे–लेविससँग मिल्ने जस्तो लाग्यो । फरक गर्ने कुरामा डेनियल पनि उनका लागि आइडियल भइदिए । ‘एक्टर भएपछि चिटिक्क हुनुपर्छ भन्ने कुरा मेरो दिमागबाट स्कुल पढ्दै हट्यो,’ उनी भन्छन्, ‘एक्टर त क्यारेक्टरजस्तै हुनुपर्छ । जब मैले नाटक र फिल्ममा काम गर्न थालेँ, त्यतिबेलादेखि नै जस्तो कथा भनिएको छ, त्यो मान्छे (पात्र) त्यस्तै हुनुपर्छ भन्ने लाग्न थाल्यो ।’

प्रमोसनमा नहिँडेको आरोप
सौगातलाई फिल्म प्रमोसनमा नहिँड्ने आरोप लाग्ने गर्छ । सौगातसँग यसको कारण सोध्दा उनले निर्मातालाई दोष दिए, ‘फिल्म कहिले रिलिज गर्नुहुन्छ भन्ने कुराको ठेगान हुदैन । कहिले कहाँ–कहाँ प्रमोसनमा हिँड्नुपर्छ भन्ने कुराको अग्रिम जानकारी हुँदैन । पछि भनौँला भन्नुहुन्छ अनि यता अन्य थुप्रै फिल्मको सम्झौता भइसकेको हुन्छ । यति महिना यति गते प्रमोसनमा हिँड्ने भनेर सुरुमै फिक्स गर्न सकियो भने सजिलो हुन्छ । जुन अहिले सुरु हुन थालेको छ ।’

प्रमोसनबारे निर्माताहरु स्पष्ट नहुँदा समस्या हुनेगरेको सौगातको भनाइ छ । अहिले पनि उनी आउँदो वर्षको जेठ महिनासम्म प्याक छन् । एउटा फिल्मको सुटिङमा रहँदैगर्दा उनी अर्को फिल्मबारे सोच्न नसक्ने बताउँछन् । ‘जब म एउटा फिल्मको सुटिङमा हुन्छु, त्यसबाहिर निक्लिन सक्दिनँ, फिल्म नसकिउञ्जेल त्यही युनिटसँग रहेर त्यसकै काम सकूँ भन्ने सोच हुन्छ,’ उनले भने, ‘म एउटा क्यारेक्टरभित्र पसिसकेको हुन्छु र बाहिर निस्किएपछि धेरै मान्छेलाई भेटिन्छ र मन पनि परिवर्तन हुनसक्छ भन्ने डर हुन्छ । अझ डार्क सिरियस क्यारेक्टर छ भने त कोठाभित्रै बस्न रुचाउँछु । अलि पतरपतर बोल्ने क्यारेक्टर छ भने भाइबहिनीसँग बोल्न खोज्छु ।’

पुस्तक नै मेरो पुँजी
धेरैलाई थाहा नहोला, सौगात पुस्तक भनेपछि हुरुक्कै हुन्छन् । उनको सबैभन्दा बढी खर्च नै पुस्तकमा हुन्छ । ‘मैले सँगालेर राखेको पुँजी भनेकै पुस्तक हो,’ उनले भने, ‘मेरो कोठामा करिब चार–पाँच हजार पुस्तक होलान् । कति साथीभाइले लगेर फिर्ता गर्दैनन्, नत्र अझै धेरै हुन्थे । म बच्चादेखि पुस्तकप्रति रुचि राख्थे । बच्चामा कमिक्स पढ्थेँ । अहिले हिस्ट्री र उपन्यास पढ्छु । जहाँ गए पनि किताबचाहिँ किनेकै हुन्छु ।’ उनलाई चेकोस्लाभियाका लेखक क्यारोल चापोकका पुस्तक खुब मनपर्छन् ।

‘रङले मान्छेको दिमागमा प्रभाव पार्छजस्तो लाग्छ । दर्शकले नदेख्ने चिज भए पनि म आफूलाई क्यारेक्टरमा उतार्नका लागि अन्डरवेयरको कलरसम्म ध्यान दिन्छु ।’

भारतीय लेखक निर्मल वर्मा र नेपाली लेखक इन्द्रबहादुर राई पनि उनका रोजाइका लेखक हुन् ।

जिन्दगीको पहिलो कमाइ
१८ वर्षअघि सौगात गुरुकूलमा नाटक सिक्दाखेरीको कुरा हो । त्यतिवेला कलाकारहरुले सडकमै पुगेर विभिन्न चरित्रमा वास्तविक अभ्यास गर्ने गर्थे । अभ्यासकै क्रममा सौगात एक दिन भरिया बने । काठमाडौँ, महाबौद्ध आसपास पुगे । चप्पल, बेसार, धान सबैको भारी बोके । ‘त्यतिबेला दुई सय रुपैयाँ कमाएको थिएँ,’ उनले सम्झिए, ‘काठमाडौं आएपछि त्यो नै मेरो जिन्दगीको पहिलो कमाइ थियो । फरक–फरक मान्छेको घरभित्र पुग्नु, यो बोक्, त्यो बोक् भनेको सुन्नु, भरियाहरुको कुरा सुन्नुमा बेग्लैखालको मज्जा थियो । त्यस्तो काम हामीले निकै गर्यौँ ।’

‘मलाई धेरै कुरा भन्नु छैन’
सौगात आफूलाई ठोस विचारधारा नभएको मान्छे भन्न रुचाउँछन् । ‘मलाई धेरै कुराहरु भन्नु नै छैन,’ करिब डेढ घण्टासम्म गफिएपछि उनले भने, ‘म कोही मान्छेलाई यस्तो हुनुपर्छ, यस्तो लाग्छ, यस्तो गर्नुपर्छ भनेर कमेन्ट नै गर्दिनँ, सुन्छु मात्र । तपाईंको कुरा सुन्नु छ भने तपाईं भएर बस्छु, उसको कुरा सुन्नु छ भने ऊ भएर बस्छु । कसैलाई केही टिप्पणी गर्छु भन्ने नै मलाई लाग्दैन । एक त मलाई आउँदैन पनि अर्को ध्यान नदिएर पनि होला ।’ उनलाई आफू परिस्थितिअनुसार परिवर्तन हुन सकूँ भन्ने लाग्छ । ‘सबैखाले मान्छेलाई मनपराउन सकूँ, सबैखाले क्यारेक्टरलाई प्रेम गर्न सकूँ ताकि मलाई पछि एक्टिङ गर्न सजिलो होस् ।’

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २६ भाद्र २०७४ ०४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App