२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वाञ्चलबाट ९११ महिला गायब! सामाजिक विकृतिको स्थिति भयावह

इटहरी–एक वर्षको अवधिमा पूर्वाञ्चलबाट ९११ जना महिला गायब भएका छन्। २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा पूर्वाञ्चलका १६ जिल्लाबाट गायब हुने महिलाको तथ्याङ्कले सामाजिक विकृतिको भयावह स्थिति देखाएको छ। विशेषगरी, पती विदेशमा भएका महिला हराएको प्रहरीको रेकर्डमा उल्लेख छ। प्रहरीको तथ्याङ्कले पुरुष पीडित भएर सामाजिक विकृति बढेको देखाएको छ। यही गतिमा विकृति बढ्दा भविश्यमा झन भयावह स्थितिसमेत सृजना हुन सक्ने देखिएको  छ।

एक वर्षको अवधिमा सवैभन्दा बढी मोरङ, झापा र सुनसरीका महिला हराएका छन्। प्रहरीसँग भएको रेकर्ड अनुसार मोरङमा १ सय ९४, झापामा १ सय ५१ र सुनसरीमा १ सय १४ जना महिला हराएका छन्। सुनसरीको इटहरी क्षेत्रभित्रका मात्र ९१ जना विवाहित महिला हराएको प्रहरीसँग रेकर्ड  छ।

यसैगरी, संखुवासभामा ५१, सप्तरीमा २३, सिरहामा १३, उदयपुरमा ७४, खोटाङमा २१, ओखलढुंगामा २८ र सोलुखुम्बुमा १० जना महिला हराएको रेकर्ड प्रहरीसँग  छ। प्रहरीका अनुसार इलाममा ७२, पाँचथरमा ४४, ताप्लेजुङमा १४, धनकुटामा २६, तेह्रथुममा १९ र भोजपुरमा ५७ जना महिला हराएका छन्। हराएका महिलामध्ये केही सीमित मात्र सम्पर्क आएपनि अधिकतरको पत्तो छैन।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक बर्ष २०७१÷७२ मा ९ सय ९९ जना महिला हराएको उजुरी परेकोमा १ सय २८ जना मात्र  महिला भेटिएका थिए। कतिपय हराएका महिलाको प्रहरीसमक्ष रेकर्ड छैन। धेरै पुरुष र तिनका परिवारलाई प्रतिष्ठाको कुराले रोकेर थुप्रै घटना भने प्रहरी समक्ष पुग्दैनन्।

 वैदेशिक रोजगारीमा जानेहरुले पत्नी र बालवच्चालाई शहरमा ल्याएर डेरामा राख्ने भरपर्दो आफन्त नहुँदा पीडित हुने पुरुषको संख्या बढेको प्रहरीले जनाएको छ। कानुनी रुपमा पुरुषभन्दा महिलालाई सहज छ । जसले गर्दा पनि पुरुष पीडित हुने क्रम बढन थालेको हो।  

वैदेशिक रोजगारीमा श्रीमान गएपछि सृजना भएको खटपटले गर्दा सम्बन्ध बिच्छेदका घटना समेत बढदो छन्। जिल्ला अदालत सुनसरीका अनुसार आर्थिक बर्ष २०७२–०७३ को अवधिमा ४ सय ७५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । आर्थिक वर्ष २०७१–०७२ बाट १ सय २२ वटा जिम्मेवारी सरि आएका गरी कुल ५ सय ९७ वटामध्ये यो वर्ष ४ सय १४ वटा मुद्दा फछ्यौट भए।

सम्बन्ध विच्छेदका मुद्दामध्ये ६० प्रतिशत श्रीमान वैदेशिक रोजगारमा गएपछि श्रीमान–श्रीमतीबीच भएको खटपटले गर्दा दायर भएको सुनसरी जिल्ला अदालतले जनाएको छ।  ‘अन्यत्र जिल्लामा काम गर्दाको अनुभव र अहिले सुनसरीका तथ्याङ्क हेर्दा ६० प्रतिशत वैदेशिक रोजगारीले गर्दा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुने गरेका छन,’ सुनसरीका मुख्य जिल्ला न्यायधीश रमेश पोखरेलले भने ।

नेपाली समाजमा सदियौंदेखि पुरुषबाट महिला पीडित हुदै आएको अनेकन घटनाहरु सार्वजनिक भइरहन्छन्। तर, पछिल्लो समय श्रीमतीबाट पनि श्रीमान् पीडित भएको घटनाहरु सार्वजनिक हुन थालेका छन्। ती घटनाहरु बढी वैदेशिक रोजगारीमा गएका पुरुषहरुसँग सम्बन्धित छन् । चाहे महिला अधिकारकर्मी हुन् वा प्रहरी, दुवैको एउटै भनाइ छ, ‘वैदेशिक रोजगारीले पीडित श्रीमान्हरुको संख्या बढाउदै लगेको छ, घरपरिवारमा विखण्डन ल्याउँदै छ।’

 

प्रकाशित: १३ श्रावण २०७३ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App