१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

निर्माता बन्दै नीता

काठमाडौं – पछिल्लो समयमा युवापुस्ता केन्द्रीत फिल्म बनेसँगै फिल्म निर्माणमा नायिकाहरूको अग्रसरता पनि उत्तिकै बढेको छ । रेखा थापा, झरना थापा, स्वेता खड्का, ऋचा शर्मालगायतका अभिनेत्रीहरूले फिल्म बनाइरहँदा यो सूचीमा अब अभिनेत्री नीता ढुंगाना पनि जोडिएकी छन् । नीताले गत बिहीबार आफ्नो जन्मदिनसँगै फिल्म निर्माण कम्पनी नीता फिल्मस् प्रोडक्सनको औपचारिक आरम्भ गरेकी छिन् ।

उनले फिल्म निर्माणका लागि आन्तरिक गृहकार्य चलिरहेको जानकारी गराइन् । ‘६ महिना भित्रमा फिल्म बनाउने तयारी गरिरहेको छु । त्यसका लागि अहिले स्क्रिप्टको काम भइरहेको छ । स्क्रिप्ट अनुसार नै कलाकार, प्राविधिकदेखि निर्देशकसम्म कोको हुने भन्ने निश्चित हुन्छ,’ फिल्मको नाम जुराउन बाँकी रहेको बताउँदै  नीताले भनिन्, ‘म नायिका भएर आफ्नो फिल्ममा खेल्छु भन्ने धेरैलाई लाग्ला । तर, त्यस्तो हुन्न । किनभने मुख्य कुरा स्क्रिप्ट हो । स्क्रिप्टले माग्यो भने अभिनय गर्छु । नत्र अन्यलाई मौका दिनेछु ।’

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पञ्चायत’ पछि नीता अभिनित कुनै पनि फिल्म आउनेवाला छैन । यसलाई धेरैले नीताले काम पाउन छाडेको भनी टिप्पणी गर्ने गरेका छन् । तर, नीताले व्यस्तताका कारण आएका अफर स्वीकार नगरेको बताइन् ।  ‘कम्पनी दर्ता गर्ने र आफैँ फिल्म बनाउने दौडधुपले अन्य फिल्ममा समय दिन नसकेकी हुँ । यो अवधिमा धेरै स्क्रिप्ट आएका थिए । तर, कुनैबाट पनि सन्तुष्ट हुन सकिन,’ उनले खुलाइन्, ‘बरू आफैं कम्पनी दर्ता गरेर किन राम्रो स्क्रिप्टमा फिल्म नबनाउने भनेर काम सुरु गरेकी हुँ ।’

तिहारपछि फिल्म ‘रियल रिंगेट’को काममा व्यस्त हुने नीताले कम्पनीबाट म्युजिक भिडियोसमेत बनाउने योजना बनाएकी छन् । आफैंले निर्देशन गर्ने भिडियोको काम पनि सुरु हुने उनले बताइन् । जन्मदिनमा नीताले चलचित्र पत्रकार संघको कल्याणकारी कोषलाई २० हजार रुपैंयाँ सहयोग पनि गरेकी थिइन् । बाल कलाकार हुँदै निर्देशक दीपक रायमाझीको फिल्म ‘चाँडै आऊ’बाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी नीताले झन्डै दुई दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् । उनले ‘किसान’, ‘मसान’, ‘नोटबुक’, ‘लेकसाइड’, ‘भुल भुलैया’, ‘धुन’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘लेकसाइड’, ‘निर्भय’ र ‘छ एकान छ’ जस्ता फिल्ममा अभिनय गरेकी छिन्।

 

प्रकाशित: १ आश्विन २०७४ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App