१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

गैरहिन्दूको दसैँ

पर्यटन व्यवसायी तथा लेखक लाक्पा फुटी शेर्पाको घरमा दसैँका बेला कुनै पूजाआजा हुँदैन । दसैँको लामो बिदामा पनि उनी कामकै चटारामा हुन्छिन् । ‘यही बेला ट्रेकिङको सिजन पर्छ,’ उनी भन्छिन्, ‘यो बेला पनि हामी व्यवसायमै व्यस्त हुन्छौँ ।’

असोज–कात्तिक नेपालमा विदेशी पर्यटक धेरै पर्यटक आउने बेला हो । ट्रेकिङका लागि उपयुक्त मौसम भएकाले यसबेला पर्यटन क्षेत्र पनि व्यस्त हुन्छ । दसैँ–तिहारजस्ता चाडपर्व यसै बेला पर्दा जनशक्तिको समस्या भोग्नुपर्ने अनुभव लाक्पा फुटीको छ । ‘दसैँ मान्न सबै घरतिर फर्कन्छन्,’ उनी भन्छिन्, ‘भरिया र अरु मान्छे पाउन गाह्रो हुन्छ ।’ भरियासँगै गाडी र जहाजको व्यवस्थापन पनि सहज हुँदैन । भनेजस्तो सेवा दिन नसक्दा पर्यटकले अनेक गुनासो गर्छन् ।

हिन्दू धर्मावलम्बीले दसैँ मनाइरहँदा तामाङ बस्तीमा भने म्हेनिङ पर्व धुमधाम चलिरहेको हुन्छ । म्हेनिङका लागि सहर र परदेशमा हुनेहरू गाउँ फर्कन्छन् । नयाँ लुगा लगाउने र मीठो खाने अवसर पनि हो म्हेनिङ ।

‘हाम्रोमा ठूलो चाडबाड लागिरहेको छ भन्ने उनीहरू बुझ्दैनन्,’ उनी भन्छिन्, ‘सम्झाउन निकै गाह्रो हुन्छ ।’
यसपटकको दसैँमा उनी व्यवसायबाट फुर्सद मिले रमाइलो गर्ने योजनामा छन् । ‘दसैँ मान्ने साथीले बोलाएका छन्, निम्तो मान्न जान्छु,’ शेर्पाले भनिन् । दसैँमा सबैतिर बिदा हुने भएकाले शेर्पा समुदायले पनि आफ्नै घरमा आफन्तजन बोलाएर भोज गर्ने, घुम्नेलगायत रमाइलो गर्ने गरेको उनी बताउँछिन् । ‘हाम्रो देशको यही विशेषता नै राम्रो हो,’ भन्छिन्, ‘ल्होसारमा हामी हिन्दू साथीलाई बोलाउँछौँ, दसैँमा हामीलाई बोलाउँछन्, जसरी मनाए पनि चाडबाडमा रमाइलो गर्ने नै हो ।’
हिन्दू धर्मावलम्बीले दसैँ मनाइरहँदा तामाङ बस्तीमा भने म्हेनिङ पर्व धुमधाम चलिरहेको हुन्छ । म्हेनिङका लागि सहर र परदेशमा हुनेहरू गाउँ फर्कन्छन् । नयाँ लुगा लगाउने र मीठो खाने अवसर पनि हो, म्हेनिङ । आफ्ना कुल र पितृलाई सम्झने र पूजा गर्ने अवसरका रूपमा तामाङले म्हेनिङ मनाउने गरेको लेखक खोजराज गोले बताउँछन् । म्हेनिङमा तामाङ जातिले खेप्पासुङ, झ्याहो झ्योमो, लक्ष्मी पूजा, छ्योरे, ताफोले जस्ता पूजा गर्ने उनी बताउँछन् । ‘यीबाहेक विभिन्न सांस्कृतिक तथा धार्मिक कार्य म्हेनिङमा हुन्छ,’ उनी भन्छन्, ‘विशेष गरी प्रकृति, कृषि अनि पेसासँग नजिकका सम्बन्ध भएका चलन म्हेनिङसँग जोडिएका छन् ।’
म्हेनिङ चाड मनाउने मौसममै पर्ने भएकाले तामाङको महिना गन्तीको नवौँ महिनाको नाम नै म्हेनिङ नामाकरण गरिएको छ । म्हेनिङको भोजमा राँगाको मासु, चिउरा, दही, केरा खाने चलन रहेको छ । लेखक गोलेले ‘म्हेनिङ, तामाङ पहिचानको एउटा कोशेढुंगो’ पुस्तकमा लेखेका छन्, ‘अष्टमीको दिन राँगा काट्छन् । सोही राति भोज खान्छन् । भोज पनि कुखुरा बास्नुअघि नै उठेर खान्छन् । मासु खाएर हड्डी र केराको बोक्रा भने दोबाटोमा फाल्छन् । केराको पात अधिक प्रयोग गर्छन् ।’
त्यस्तै, तामाङ बस्तीमा म्हेनिङको समयमा हुने धार्मिक कार्यक्रम हो, ञ्युङने । ञ्युङने निराहार मौन व्रत हो । दसैँमा काटमार, खानपिन र रमाइलो चलिरहेको बेला इच्छुकहरू भने सामूहिक रुपमा ञ्युङने बस्ने गर्छन् । गाउँको कुनै धार्मिक स्थल वा गुम्बा र घ्याङमा ञ्युङने आयोजना गरिन्छ । महिला, पुरुष, बालक, वृद्ध सबैले ञ्युङने बस्न पाउँछन् ।
रामेछापकी सानी योञ्जन भक्तपुर बस्छिन् । विगत नौ वर्षदेखि उनी दसैँका तीन दिनसम्म सामूहिक ञ्युङने व्रत स्थलमा हुन्छिन् । ‘घरका अरु परिवार म्हेनिङ मनाउँछन् । म भने ञ्युङनेमा हुन्छु,’ उनले भनिन् । आफ्नो परिवार र समाजको शान्तिको कामना गरी ञ्युङने बस्ने गरेको उनी बताउँछिन् । तीन दिन नखाई नबोली व्रत बसेपछि मनमा शान्ति मिल्ने उनले सुनाइन् । उनी भन्छिन्, ‘पहिलो त आफ्नै मनलाई शान्ति दिनका लागि ञ्युङने बस्छु । मनबाट लोभ, मोह हटाउन सकियोस् भन्ने कामना गर्छु ।’
भक्तपुरमै खेन्पो (गुरु) लामा बोलाएर ञ्युङने छोक्पा आमा समूहले हरेक वर्ष फूलपातीदेखि दशमीको दिनसम्म ञ्युङने व्रतको आयोजना गर्दै आएको छ । फूलपातीको साँझ पूजाआजा गरी ञ्युङने सुरु गरिसकेपछि व्रतालुले नबोली र नखाई बस्नुपर्छ । ञ्युङने अवधिभर व्रतालु लोकेश्वरको पूजा गर्ने र खेन्पोबाट ञ्युङने व्रतसम्बन्धी कथासँगै विभिन्न बौद्ध प्रवचन सुन्छन् । दशमीको बिहान विशेष पूजा गरी ञ्युङने समापन गरिन्छ । हरेक वर्ष ६० देखि ७० जना ञ्युङने बस्ने गरेको सानी लामा बताउँछिन् । ञ्युङने सकिएपछि भने आफन्त भेटघाट र घुमघाम गरी दसैँ बिदा उपयोग गर्ने योजना रहेको उनले सुनाइन् ।
ञ्युङने बसेपछि कैयौँ जन्मका पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास बौद्ध धर्मावलम्बी तामाङ समुदायमा रहेको छ । दसैँका बेला निकै बलि र काटमार पनि हुने भएकाले ती मारिएका प्राणीको समेत उद्धार होस् भन्ने कामनासहित ञ्युङने बसिने लेखक गोलेले बताए ।
धादिङ बैरेनीकी सबिना मियाँ नुवाकोटको एक सरकारी विद्यालय पढाउँछिन् । घटस्थापनाको दिनदेखि स्कुल बिदा भएपछि उनी त्यही दिन काठमाडौं आइपुगेकी छन् । उनले भनिन्, ‘केही किनमेल गरी घर जान्छु । आमा र भाइका लागि जागिर गरेपछि पहिलोपल्ट किनमेल गरिदिँदै छु ।’ यसै वर्ष शिक्षक सेवा आयोग पास गरेर नुवाकोट पोस्टिङ गरिएकी मियाँका लागि दसैँ आराम गर्ने समय हो ।
यो बिदाको अवधिमा परिवार र आफन्तसँग भेटघाटका लागि पनि समय छुट्याएकी छन् । दसैँमा हिन्दू साथीभाइको निम्ता मान्न जाने योजना पनि सबिनाले बनाएकी छन् । भनिन्, ‘सबै साथीभाइ गाउँमा जम्मा हुने समय दसैँ–तिहार मात्र हो । त्यही बेला नै बाल्यकालदेखिका साथीको घर जाने र रमाइलो गर्ने अवसर मिल्छ ।’ आफू मुस्लिम भए पनि अन्य धर्मावलम्बीको चाडबाडप्रति मनैदेखि सम्मान रहेको उनी बताउँछिन् । साथै, गैरमुस्लिम साथीबाट पनि मुस्लिमप्रति सम्मान पाएकी छन् । ‘हामी बौद्ध, हिन्दू साथीहरूसँगै खेल्दै–पढ्दै हुर्कियौँ । त्यसैले उनीहरूको संस्कृतिप्रति सम्मान गर्छु ।’ सबिना भन्छिन्, ‘एक अर्काको चाडबाड सँगै मनाउने परम्पराकै कारण हामी नेपालीबीच मेलमिलाप छ ।’
दसैँ नमाने पनि दसैँको शुभकामना दिने र रमाइलो गर्ने गर्छन्, नेपाली क्रिस्चियनहरू पनि । येसु क्रिस्टमा विश्वास गर्ने उनीहरू दसैँका बेला आफ्ना विश्वासीमाझ प्रार्थनाका कार्यक्रम आयोजना गर्छन् । थापाथली भ्याली चर्चका डिकन दलमर्दन कामी भन्छन्, ‘यस्तो प्रार्थनालाई आत्मिक संगती भन्छौँ । यस्ता संगति कार्यक्रम घरमै वा चर्चमा पनि आयोजना गरिन्छन् ।’ यस्ता संगतिमा परिवार, समाज र देशको शान्तिका लागि येशु क्रिस्टसँग प्रार्थना गर्ने उनले बताए ।
यसपालिको प्रार्थनाको विषय देशमा भइरहेको चुनावसम्बन्धी रहेको डिकन कामीले सुनाए । ‘देशमा स्थानीय, प्रदेश र संघका चुनावबाट असल नेतृत्व चुन्न सकियोस् भनेर हामी प्रार्थना गर्छाैं,’ डिकन कामी भन्छन्, ‘संविधानको सफल कार्यान्वयन र देशको शान्तिको समेत कामना गरी यसपालिको संगतिमा प्रार्थना गर्छाैं ।’
दसैँको लामो बिदामा टाढा रहेका परिवार भेटघाटका लागि समेत क्रिस्चियन विश्वासीहरू जाने गर्छन् । डिकन कामीका अनुसार दसैँको पूजाआजा गर्ने, प्रसाद खाने, टीका लगाउनेबाहेक अरु रमाइलोमा भने क्रिस्चियन पनि सहभागी हुन्छन् । उनले भने, ‘पूजा र टीका नहुने भए पनि एउटा संस्कृतिको रूपमा हामीले दसैँको अवसरलाई आफन्त र साथीभाइसँग रमाइलो गर्ने अवसरको रूपमा भरपूर उपयोग गर्छाैं ।’ आफूले पनि दसैँ मनाउने हिन्दू साथीाई शुभकामना दिने र उनीहरूबाट शुभकामना लिएर रमाइलो गरेको उनले सुनाए ।

प्रकाशित: ७ आश्विन २०७४ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App