१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आगामी चुनाव रणनीतिबारे एमालेमा तीन धार

काठमाडौं- एमालेको चुनावी रणनीति बनाउन बसेको बैठक तीन धारमा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलमा टोली नेताहरूले तीन प्रकारको धारणा व्यक्त गरेका हुन् ।

‘अध्यक्षलाई प्रधानमन्त्री बनाएर जाने, अध्यक्षलाई प्रधानमन्त्री मात्रै नभएर सबै प्रदेशका मुख्यमन्त्रीसमेत तोकेर चुनावमा जानु पर्ने र नेतृत्व तोकेर जाँदा चुनाव परिणाम प्रत्युपादक हुने भन्ने तीन प्रकारको धारणा आएको छ,’ एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले नागरिकसँग भने, ‘सबै समूहका नेताहरूले प्रतिवदेनमाथि छलफल गर्दा तीन प्रकारका धारणा आएको जानकारी गराउनुभएको छ ।’
बैठकमा प्रदेश नं १ बाट शिवमाया तुम्बाहाम्फे, २ बाट सत्यनारायण मण्डल, ३ बाट काशिनाथ अधिकारी, ४ बाट गणेश तिमिल्सिना, ५ बाट दलबहादुर राना, ६ बाट यामलाल कँडेल, ७ बाट भीम रावल तथा मोर्चा सङ्गठनका तर्फबाट महेन्द्रबहादुर पाण्डेले समूहमा भएको छलफलमा उठेका विषयहरू प्रस्तुत गरेका थिए ।
केन्द्रीय कमिटीको आधार ठूलो भएका कारण समूहगत रूपमा छलफल गरेर टोली नेताले छलफलमा उठेको विषयलाई बैठकमा प्रस्तुत गर्ने गरिएको छ ।
बैठकमा एनसेलको पुँजीगत लाभ करमा भएको अनियमितता, कर फछ्र्यौट आयोगले दिएको छुट, नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितताबारेमा पार्टी नेतृत्व किन चुप लागेको भन्दै आलोचना भएको थियो ।
प्रदेश नम्बर ५ बाट दलबहादुर रानाले पछिल्लो समयमा भएका ठूला अनियमितताबारे किन चुप लागेको भन्दै प्रश्न गरेका थिए ।
केन्द्रीय सदस्यहरूले स्थानीय तहको तीन चरणको चुनावमा गुटगत आधारमा टिकट वितरण भएको गुनासो गरेका थिए ।
प्रदेश नम्बर २ समूहबाट बोल्ने क्रममा स्थायी कमिटीका सदस्य मण्डलले जिल्ला अध्यक्षहरुलाई विश्वास गरेर दिँदा धोका भएको दाबी गरेका थिए ।
सचिव प्रदीप ज्ञवालीले प्रतिनिधिसभा र प्रदेशशभा निर्वाचनका लागि ठोस नीति, योजना र जिम्मेवारी बाँडफाँट गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
‘आगामी सङ्घीय र प्रादेशिक निर्वाचनमा पार्टीको स्पष्ट बहुमतसहित सबै तहमा सरकार बनाउने गरी ठोस नीति, योजना र जिम्मेवारी बाँडफाँट गरेर अगाडि बढ्ने कुरामा उहाँहरूको विशेष जोड थियो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई समेटेर एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव पनि सबै समूहबाट प्रस्तुत भएको थियो ।’
बैठक आइतबार ११ बजे बस्नेछ । 

प्रकाशित: ८ आश्विन २०७४ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App