१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धमाधम विधेयक पारित, गणपूरक संख्या नपुगेको आशंका

काठमाडौं- व्यवस्थापिका संसद्को सोमबारको बैठकमा तीनवटा विधेयक पारित भएका छन् । तिनमा विपद् जोखिम न्यूनीकरण, देवानी संहिता र देवानी कार्यविधि संहिता विधेयक छन् ।  ती विधेयक पारित गर्दा तीनैपटक गणपुरक संख्या नपुगेको विषय उठेको थियो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधानको धारा ९४ बमोजिम गणपूरक संख्याको कुरा उठाएका थिए । संविधानको व्यवस्थाबमोजिम गणपुरक संख्या पुग्न सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्य उपस्थित हुनुपर्छ । सो संख्याबमोजिम उपस्थित नभएमा कुनै पनि प्रस्ताव निर्णयका लागि प्रस्तुत हुनेछैन भन्ने संविधानको व्यवस्था छ । हाल संसद्मा पाँच सय ९१ जना सदस्य छन् । गणपूरक संख्या पुग्न १ सय ४८ सांसद उपस्थित हुनुपर्छ ।
बिहान ११ बजे बोलाइएको संसद् बैठक ५५ मिनेट ढिलो गरी बसेको थियो । पहिलो बैठक बसेको केही समयभित्रै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक पारित गर्न प्रस्ताव गरिएको थियो । सभामुखद्वारा विधेयक पारितको प्रस्ताव गर्नासाथ नेमकिपाका सुवालले कोरम नपुगेको कुरा उठाएका थिए । उनले कोरमको कुरा उठाएपछि गणना गर्दा १ सय ६२ सदस्य रहेको भन्दै सभामुखले विधेयक पारित गर्न पुनः प्रस्ताव राखेपछि विधेयक पारित भएको थियो । सुवालले भने १ सय २८ सदस्यलाई एक सय ६२ भनेर ढाँटिएको बताए ।
त्यसपछि बसेको संसद्को दोस्रो बैठकमा देवानी संहिता विधेयक पारित गर्ने प्रस्ताव गरिएको थियो । सो प्रस्ताव गर्दा पनि नेमकिपाका सुवालले कोरमको कुरा उठाएका थिए । गण्ना गर्दा १ सय ५१ जना सांसद उपस्थित भएको भन्दै सभामुखले फेरि विधेयक  पारितको प्रस्ताव गरेकी थिइन्  । तर सुवालले कुल उपस्थित संख्या १ सय २१ रहेकोमा झुक्याएर १ सय ५१ भएको बताएको आरोप लगाए ।
देवानी संहिता विधेयक पारित भएपछि देवानी कार्यविधि संहिता विधेयक पारितको प्रस्ताव गरिएको थियो । त्यति बेला पनि सुवालले पुनः कोरमको कुरा उठाएका थिए । सभामुखले उनको कुरा नसुनी देवानी संहिता विधेयक पारित गर्न प्रस्ताव गरेकी थिइन् । उपस्थित संख्याको बहुमतको समर्थनबाट विधेयक पारित भएको थियो । नेमकिपाका सुवालले ८० जना मात्रै उपस्थित भएको संसद्को बैठकमा देवानी कार्यविधि विधेयक पारित गरिएको भन्दै नाराबाजी गरेका थिए । निरंकुश तन्त्र मुर्दावाद, प्रजातन्त्रको हत्यारा मुर्दावाद, राजाको उत्तराधिकारी मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेकी थिइन् । पछि अर्को बैठक बस्दै नबसी  २० गते १ बजेसम्मका लागि स्थगित भएको छ ।
यसरी कोरम नपु¥याईकन विधेयक पारित गरेको विषयमा प्रमुख प्रतिपक्षी एमालेले सभामुखलाई भेटेर ध्यानाकर्षण गराएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।  संसद्मा कुनै पनि विषयलाई निर्णयार्थ प्रस्तुत गर्दा कोरम नपुगेको आशंकामा कुनै सदस्यले प्रश्न उठाउँछ भने पहिला सदस्यसंख्या गणना गरेपछि मात्रै सभामुखले निर्णयार्थ विधेयक प्रस्तुत गर्नुपर्छ । यसमा गलत नजिर बसाल्ने काम गर्न नहुने भन्दै सभामुखको ध्यानाकर्षण गरिएको ढकालले बताए।

प्रकाशित: १० आश्विन २०७४ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App