१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

पूर्वकुमारीकाे विद्यालय यात्रा

पूर्वकुमारी मतिना शाक्य (बीच) दिदीहरूसँग बिहीबार आफ्नो काकाको घरमा । तस्बिर : तेज महर्जन

तेजनारायण महर्जन
मतिना शाक्य आगामी आइतबारदेखि स्कुल ड्रेसमा ठाँटिएर ब्याग बोकी भोटेबहालस्थित ग्रिनपिस को–एड स्कुलमा जाँदै छन् ।

निधारमा उल्टो चन्द्रमाजस्तो रातो टीका र परम्परागत पहिरनमा देखिँदै आएकी उनका लागि आइतबार नै स्कुलको पहिलो दिन हुनेछ । पहिलो दिन स्कुल जान लागेकी भएपनि शाक्य अरु बालिकाझैँ नर्सरी कक्षामा बस्ने छैनन् । कक्षा सात अध्ययनरत उनले स्कुलमा नयाँ साथी सँगसँगै नयाँ शिक्षक समेत पाउनेछन् ।

जीवित देवी कुमारीका रूपमा रहेकी मतिना गत बिहीबार (महाअष्टमी) देखि विधिवत् पूर्वकुमारी बनेकी हुन् । पूर्वकुमारी बनेपछि आगामी आइतबार उनले स्कुलमा पहिलो पाइला राख्न लागेकी हुन् । 

पूर्वजीवित देवीको स्वागत गर्न स्कुल परिवार पनि आतुर छ । स्कुलले मतिनाको स्वागतकार्यक्रम राखेको छ । 
‘पहिलो दिन भएकाले उनलाई सामान्य स्वागत गर्छौं, कक्षाका साथीसँग परिचय गराउँछाैँ,’ स्कुलका प्रिन्सिपल पेमा योञ्जनले भनिन्, ‘स्कुलमा सहज बनाउन उनलाई सामान्य विद्यार्थीकै व्यवहार गर्नेछौँ ।’

जीवित देवीका रूपमा कुमारीघर रहँदा पनि मतिनाले अध्ययन गरिरहेकी थिइन् । उनलाई पढाउन ग्रिनपिस स्कुलले नै शिक्षक पठाउने गरेको थियो। 

कुमारी घरमा स्कुलमा अध्ययन गराइने पाठ्यक्रम अनुसार नै उनलाई पढाइएको र अन्य विद्यार्थीसरह परीक्षा समेत लिइएको योञ्जनले जानकारी दिइन् । योञ्जनका अनुसार पढाइमा मतिना औसत छन् । उनले औसत ६० देखि ६५ प्रतिशतसम्म अंक ल्याउने गरेकी छन्।

पढाइखर्च अभिभावकको काँधमा 
कुमारी हुँदा उनको पढाइखर्च राज्यबाटै व्यहोरिँदै आएको थियो । अब भनेपढाइखर्च अभिभावकले नै व्यहोर्नुपर्नेछ । पूर्वकुमारीका रूपमा उनले सरकारबाट पाँच हजार र काठमाडौं महानगरपालिकाबाट १० हजार रुपैयाँ भत्ता भने पाउनेछन् ।

कुमारी हुँदा भने उनलाई सरकारले १० हजार र महानगरपालिकाले ४० हजार रुपैयाँ भत्ता दिन्थ्यो । अब यो रकम नयाँ कुमारी तृष्णा शाक्यले पाउनेछन् । 

०६५ मा मतिना कुमारी बन्दा सरकारले ६ हजार र महानगरपालिकाले १५ हजार रुपैयाँ भत्तादिन्थ्यो । दुई वर्षअघि महानगरपालिकाले भत्ता बढाएर ४० हजार पुर्‍याएको हो भने सरकारले यसै वर्ष भत्ता १० हजार पु¥यायो । 
०४६ सालअघि भने कुमारीको पढाइका लागि दरबारमा निवेदन दिने चलन थियो । त्यसबेला दरबारले कुमारी पढाउन सरकारी स्कुलबाट शिक्षक खटाइदिन्थ्यो ।

कुमारीबाट यसरी बनिन् सामान्य बालिका 
यसपटकको इन्द्रजात्रामा समेत रथमा राखी नगर परिक्रमा गराइएकी जीवित देवी कुमारी मतिना महाअष्टमीको अपराह्न १२ बजेपछि पूर्वकुमारी बनेकी हुन् । त्यसको चार दिनपछि गत आइतबार सबै धार्मिक विधि पूरा गरेर उनलाई सर्वसाधारण बालिका बनेको घोषणा गरिएको हो।  

महाअष्टमीका दिन १२ः०२ बजेको साइतमा नयाँ कुमारी तृष्णा शाक्यलाई मतिनाको ठाउँमा प्रतिस्थापन गरिएको हो । त्यसै दिन उनलाई राजकीय सम्मानका साथ कुमारी घरबाट घर लगिएको थियो। 

मतिनालाई लिन इतुम्बहालस्थित घरबाट बाजासहित उनका बुबा, आमा, दिदी, आफन्त र छरछिमेकी कुमारीघर गएका थिए । कुमारी घरबाट बिदा भएकी उनलाई नेवारी परम्पराअनुसार घरमा ‘लसकुस’ (स्वागत) गरी भिœयाइएको थियो ।
‘नौ वर्षअघि हामीले उनलाई कुमारीका रूपमा बिदा गरेका थियौँ, अहिले लक्ष्मीका रूपमा स्वागत ग¥यौँ,’ मतिनाका पिता प्रतापमानले भने । नेवारी समाजमा छोरीलाई लक्ष्मीका रूपमा लिने गरिन्छ।  

घर फर्केपछि पनि धार्मिक नियमअनुसार चार दिनसम्म उनलाई कुमारीकै पोसाकमा विधिवत् पूजा गरेर राखिएको थियो । चार दिनपछि एकादशीका दिन कुमारीघरका निनीहरूले कुमारीको रूपमा बाँधिराखेको कपाल फुकालिदिएपछि उनी सामान्य बालिका भएकी थिइन् । त्यसैदिन सामान्य बालिकाको रूपमा उनी घरबाट बाहिर निस्केर सबभन्दा पहिला कुमारीघर गइन्। 

‘अब उनी सामान्य बालिकाजस्तै हुन्, घरमा हामीले सहज वातावरण बनाइदिएका छौँ,’ प्रतापमानले भने, ‘घर फर्केका दिनदेखि उनी सामान्य नै छन्, सबैसँग घुलमिल गरेकी छन्।’ 

घरमा सहज वातावरण बनाउन उनकी दिदी निजलासहित काकाका छोरीहरू लागिपरेका छन् । पहिलो दिन घरबाट निस्केपछि मतिना न्युरोड र इन्द्रचोक घुमेर फर्केकी थिइन्।

कुमारीघरमा पनि लेखपढ र खेलेर नै हुर्केकी हुनाले उनलाई घरमा समेत खासै असहज नभएको पिता प्रतापमान बताउँछन् । ‘कुमारी हुँदा कुमारीघरबाट बाहिर निस्कन मात्र नपाएकी हुन्, अरु त सामान्य केटाकेटी सरह नै खेल्ने, पढ्ने, कम्प्युटर र मोबाइल चलाउने गर्दै आएकी हुन्,’ प्रतापमानले भने। 

कुमारीघरमा भने बिहान विधिवत् नित्य पूजा हुने गर्छ । कुमारीले पनि दिउँसो १२ बजेदेखि अपराह्न४ बजेसम्म पढ्नुपर्छ । त्यसबेला भक्तजनलाई दर्शन दिइँदैन । अन्य समय खेल्न र भक्तजनलाई दर्शन दिन दिइन्छ । कुमारीका मातापिता र परिवारका सदस्यले भने कुनैपनि बेला भेट्न पाउँछन्।

जीवित देवीबाट सामान्य बालिका भएपछि नेवारी परम्पराअनुसार मतिनाको इही (बेल–विवाह) गर्ने र बाह्राः तयेगु (गुफा राख्ने) तयारीमा उनका पिता लागेका छन् । ‘उमेर पुगेपछि सामान्य नागरिक सहर विवाह हुन्छ,’ बुबा शाक्यले भने, ‘धेरैलाई कुमारी भएपछि विवाह हुन्न, पढ्न पाउँदैनन् भन्ने भ्रम छ, त्यस्तो होइन।’

अहिलेसम्म जीवित रहेका पूर्वकुमारीमध्ये उमेर पुगेर पनि विवाह नभएकी एकजनाबाहेक सबैको विवाह भइसकेको छ । कतिपय पूर्वकुमारीहरूसफ्टवेयर इन्जिनियर, नर्स, शिक्षिकालगायत पेसामा सक्रिय छन्।

यसरी हुन्छ कुमारी छनोट
काठमाडौं दरबार क्षेत्रभित्र पर्ने स्थान लगन र ठँहिटीको बीचमा १८ बौद्ध महाविहार छन् । यी महाविहार बौद्ध सम्प्रदायले बनाएका हुन् । यिनै १८ महाविहारभित्र इटुम्बहाल, समःबहाल लगायत ६ समुदाय छन् । त्यहाँ शाक्य परिवार बसोबास गर्छन् । यिनै शाक्यबाट कुमारी छनोट गरिन्छ ।

कुमारी छनोट गर्दा समुदाय, जन्मकुण्डली, उमेर, पारिवारिक अवस्था, कुमारीको गुण, कुल परम्परा, बाबुआमाको विवाहको अवस्थालगायत हेरिने गुठी संस्थान शाखा कार्यालय काठमाडौंका निमित्त प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए । उनका अनुसार कुमारी छनोटका लागि ६ वटा समुदायका मुख्य व्यक्ति (पञ्चबुद्ध) र राजगुर्जुलाई जिम्मा दिइन्छ । ‘कुमारी छनोट गर्दा धेरै विषयलाई हेरिन्छ,’ रेग्मीले भने, ‘कुमारी हुनका लागि बाबुआमा दुवै शाक्य थरका हुनुपर्छ, आमा–बुबाको तीन पुस्ताले अन्तर्जातीय विवाह गरेका छन् भने उक्त घरकी बालिकालाई कुमारी राख्न मिल्दैन ।’ 
कुमारी छान्ने अन्तिम अधिकार पञ्चबुद्ध र राजगुर्जुलाई दिइन्छ । यी दुई पक्षले छनोट कार्य सकेपछि गुठी संस्थान केन्द्रीय कार्यालयले कुमारी नियुक्त गर्छ । अहिलेकी कुमारी छनोटका लागि गुठी संस्थाले पाँच सदस्यीय समिति बनाएको थियो । समितिले सोहीअनुसार कुमारी छनोट गरेको हो। 

समितिमा तलेजु मन्दिरका मूल पुजारी, जोशी समुदायका नाइके, पञ्चबुद्ध, राजगुर्जु र कुमारी घरका चिताइदारलाई राखिएको थियो । ‘सामान्यतः दुई वर्ष पुगेकी बालिकालाई कुमारी देवीका रूपमा स्थापना गरिन्छ,’ निमित्त प्रमुख रेग्मीले भने, ‘बीचको समयमा कुनै अवरोध भएन भने उनी १२ वर्षकी हुँदासम्म कुमारी देवीको रूपमा रहन्छिन्।’ 

रेग्मीका अनुसार आफ्नी छोरीलाई कुमारी राख्न इच्छुक वा छोरी कुमारी हुन उपयुक्त देखेमा शाक्य परिवारका आमाबाबु कुमारी छनोट समिति र विहारसमक्ष निवेदन दिन्छन् । यसमध्येबाट उपयुक्त गुण भएकी बालिका छनोट गरी समितिले उपयुक्त पूजा, मिति र पुजारीसहित राष्ट्र प्रमुखकहाँ लग्ने चलन छ । राष्ट्र प्रमुखले कुमारी हुने बालिकालाई सुपारी वा पैसा राखेर ‘ग्वय्दां’ चढाउँछ । कुमारी छनोट गर्नुपूर्व विहार र समितिबाट मनोनित भएर आएका बालिकाको चिना राजज्योतिषलाई देखाइन्छ । उनले चिना हेरेर बत्तीस लक्षणयुक्त, राष्ट्रको योगसँग मिल्ने बालिकाको छनोट गर्छन् । यसरी चिना हेराएर सबै कुरा मिल्ने भएपछि कुमारी राख्ने टुंगो हुन्छ । दसैँको अष्टमीका दिन कुमारी परिवर्तन गरिने जानकारी राष्ट्रप्रमुखलाई गराइन्छ।

अष्टमीको दिन कुमारी हुने बालिकालाई तलेजु भित्र लगी पूजा गरिन्छ । पूजापछि बालिकालाई कुमारी घर ल्याइन्छ । कुमारी घरमा कुमारी भइरहेकी बालिका पहिला आसनमा बस्छिन्, अनि उनलाई पूजा गरेपछि उनले नयाँ कुमारी हुने बालिकालाई आफूले लगाइरहेको नागमाला दिई आसनबाट झर्छिन् । त्यसपछि नयाँ कुमारीलाई आसनमा राखी पूजा गरिन्छ । सोही दिनबाट नयाँ कुमारी विधिवत् पूजा सुरु हुन्छ। 

 

प्रकाशित: २० आश्विन २०७४ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App