‘बिर्सेर पनि विदेश जान्नँ’

शनिबार, २१ असोज २०७४, ०९ : ५२ शिक्षा रिसाल  | @RisalShiksha


माओवादी द्वन्द्वका बेला पति पक्राउ परेपछि झापा जलथलकी कुमारी उप्रेतीको काँधमा तीन छोराछोरीको जिम्मेवारी आइलाग्यो । मुलुकमै बसेर दैनिक गुजारा गर्न गाह्रो भएपछि उनले बिदेसिने निधो गरिन् ।

गाउँघरबाट फाट्टफुट्ट रूपमा महिला विदेश जान थालेका थिए । त्यही मेसोमा उप्रेती पनि गाउँकै एजेन्टमार्फत ०५४ मा खाडी मुलुक ओमन पुगिन्, कुमारी श्रेष्ठ बनेर ।

गाउँघरबाट फाट्टफुट्ट रूपमा महिला विदेश जान थालेका थिए । त्यही मेसोमा उप्रेती पनि गाउँकै एजेन्टमार्फत ०५४ मा खाडी मुलुक ओमन पुगिन्, कुमारी श्रेष्ठ बनेर ।

नागरिकता समेत आफूसँग नभएकी उप्रेतीलाई एजेन्टले कुमारी श्रेष्ठको पासपोर्टमा उनको फोटो टाँसेर उडाइदिएका थिए, सात समुद्रपारि अन्जान मुलुकमा । घरेलु कामदारका रूपमा ओमन भित्रिएकी कुमारीले त्यहाँ पाउनुसम्मको दुःख र यातना पाइन् ।

त्यसबेला २५ हजार रुपैयाँ एजेन्टलाई बुझाएर ओमन पुगेकी उनले दैनिक १८–१९  घन्टा काम गर्नुपथ्र्यो । भोक, प्यास, निद्रा र थकान बिर्सिएर रातदिन खट्दा पनि उनले घरमालिकलाई खुसी पार्न सकिनन् ।

घरमालिकले उनलाई यातना दिन थाले । कुट्ने, भुत्ल्याउने गर्न थाले । उप्रेती घरेलु हिंसाको सिकार भइन् । ‘सँगै काम गर्ने अरु चारजना भए पनि उनीहरू मलाई सहयोग गर्दैनथे,’ उनी भन्छिन्, ‘उल्टै कुरा लगाएर यातना बढाउने काम गर्थे ।’

उनलाई घरमालिकले लात्ताले र भाँडाले समेत हान्ने थाले । ‘पारिवारिक जिम्मेवारी सम्झेर यातना नै सहेरै भए पनि म त्यहीँ बसेँ,’ उनी भन्छिन् । सहनै नसक्ने यातना र अत्याचार बढेपछि भने उनले काम गरिरहेको घरबाट भाग्ने निधो गरिन् ।  

‘काम गराउने तर खान समेत नदिने भएपछि भाग्ने सोच बनाएँ,’ उनी भन्छिन् । उनलाई घरमालिकले मुछेर बचेको फाल्न तयार खानेकुरा मात्र दिन्थे । घरमा सम्पर्क गर्न पनि पाउँदिनथिन् । ‘कहिलेकाहीँ ट्वाइलेटमा गएर फोन गर्र्थें,’ उनी भन्छिन् । एक दिन उनी र अर्की एक नेपाली महिला फोहोर फाल्ने निहुँमा भागेर नेपाली दूतावासको शरणमा पुगे । त्यहाँबाट उनले आफ्नी बहिनीलाई फोन गरिन् । बहिनीकै सहायताले उनी नेपाल फर्कन सफल भइन् ।

०००

उप्रेती बिदेसिँदा महिला खासै विदेश जाँदैनथे । उनी कुनै मेनपावर एजेन्सीमार्फत गएकी थिइनन् । उनले ओमनसम्म पुग्न अपनाएको तरिका गैरकानुनी थियो । तर यसबारे उनी भने बेखबर थिइन् । ‘एजेन्टले गाउँका महिलालाई लैजाँदै थियो,’ उनी सम्झिन्छिन्, ‘टन्न कमाइ हुन्छ भनेपछि आस नलाग्ने कुरै भएन ।’

उनको नागरिकता माइतीमै थियो । पासपोर्ट बनेकै थिएन । एजेन्टका लागि भने यो कुनै ठूलो कुरा भएन । सबैथोक नक्कली बनाएर उनलाई एजेन्टले ओमन उडाइदिए ।

पैसा कमाएर जीवन बदल्ने सपना बोकेर विदेशी भूमिमा घरेलु कामदार बन्न पुगेकी कुमारीले नेपाल फर्केपछि भने मानसिक र सामाजिक यातना खेप्नुप¥यो । पैसा कमाउन नसकी नेपाल फर्किएपछि गाउँका मान्छेले कुरा काट्न थाले । वैदेशिक रोजगारीमा महिला जाने चलन भर्खरै सुरु भएको बेला थियो त्यो । त्यसैले धेरैले उनको चरित्रमाथि प्रश्न उठाए ।

कुमारीमाथिको मानसिक र सामाजिक यातानाको सिकार बनिन्, उनकी छोरी समेत । उप्रेतीकी १७ वर्षीया छोरी आमालाई गरिएको सामाजिक अवहेलनाकै कारण डिप्रेसनमा गइन् र एकदिन झुन्डिएर आत्महत्या गरिन् ।

वैदेशिक रोजगारीले कुमारीको सपना त साकार पार्न सकेन नै परिवारका सदस्यलाई समेत सामाजिक यातना भोग्न बाध्य पा¥यो । तर, उप्रेतीले हिम्मत हारेकी छैनन् । माओवादी द्वन्द्व सकिएपछि पति र उनी एक भएका छन् । हाल उनका पति मिस्त्री काम गर्छन् । उनले भने मौरीपालन गरिरहेकी छन् ।

आफ्नो जीवनलाई सामान्य बनाउँदै गएकी उप्रेतीले वैदेशिक रोजगारीले दिएको घाउ भने बिर्सन सकेकी छैनन् । ओमनमा पाएको यातनाकै कारण अहिले बेलाबेला उनको ढाड दुग्छ । यातनाकै कारण उनलाई पाठेघर खस्ने समस्या समेत भयो । उप्रेतीका लागि वैदेशिक रोजगारी दुःखको कालरात्रि बराबर भयो । ‘जसोतसो जीवन चल्दै छ, लाखै कमाई हुन्छ भने पनि अब त म विदेश जान्नँ,’ उनी भन्छिन् ।

०००

झापाकी अनु मोक्तान ६ वर्षअघि घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी थिइन् । केही महिनाअघि मात्र नेपाल आउन सफल भएकी उनले त्यहाँ धेरैखाले मानसिक यातना खेपिन् ।

त्यहाँ उनले भाँडा माझ्ने, खाना बनाउने, लुगा धुने, घर सफा गर्नेलगायत काम गर्नुपथ्र्यो । घरको काम सकिएपछि घरमालिककी छोरीको घरमा समेत गएर काम गर्नुपथ्र्यो । 

जति काम गरे पनि उनले तलब पाइनन्, न त घर फर्कन नै पाइन् । ‘तेरा बाआमा मरेका हैनन्, किन चाहियो पैसा ? भन्दै मलाई थुनेर राख्थे, मोबाइल चलाउन दिँदैनथे,’ उनले साउदीमा पाएको यातना सम्झेर भक्कानिइन् । एकजना नेपालीको सहयोगमा लिएको मोबाइल समेत साहुनीले चलाउन नदिएको उनी बताउँछिन् ।

दुई कक्षासम्म मात्र अध्ययन गरेकी मोक्तान ठूलो परिवारमा जन्मिएकी थिइन् । तीन दाई र दुई दिदीको बिहे भएपछि उनले बाआमालाई सुख होला भनेर विदेश जाने निधो गरेकी थिइन् । तर, उनको वैदेशिक रोजगार यात्रा समेत कहालीलाग्दो बन्यो ।

सुरुमा गएको घरमा चरम यातना पाउन थालेपछि उनी भागेर अर्को घरमा काम गर्न थालिन् । ‘त्यहाँ पनि सजिलो भएन, बिरामी हुँदा पनि काम गर्नैपर्ने,’ उनी भन्छिन्, ‘उनीहरूका बच्चाले धेरै काम लगाउने र कुट्ने गर्थे ।’ पैसा कमाउन गएकी उनी यातना मात्र पाउन थालेपछि भागेर नेपाली दूतावास पुगिन् । दूतावासकै पहलमा उनी नेपाल फर्केकी हुन् ।

०००

एक वर्षअघि साउदी अरबबाटै फर्किएकी मोरङकी ४१ वर्षीया कविता तामाङ सुरुमा तीन वर्षको भिसामा गएकी थिइन् । ‘एक्जिट’ अनुमति नपाउँदा पाँच वर्ष साउदी अरबमै बस्न बाध्य भइन् । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका श्रीमान् एउटा हात गुमाएर फर्किए । हात गुमाएका उनी मानसिक रूपमा विक्षिप्त भएका थिए । पैसा कमाउन गएका श्रीमान्को यस्तो अवस्थाले तामाङको परिवारमा थप संकट निम्तियो ।

आर्थिक अभावलाई टार्न तामाङ आफैँ विदेश जाने निधोमा पुगिन् । ऋण लिएर मलेसिया गएका श्रीमान्ले पैसा कमाउन नसक्दा उनीमाथि ऋणको भारी थियो । त्यसलाई चुक्ता गर्ने सपना पाल्दै कविता पुगिन्, साउदी अरेबिया । तमाम यातना सहेर बल्लबल्ल नेपाल फर्केकी उनका छोरा फेरि वैदेशिक रोजगारीमै होमिएका छन् ।

कतारमा रहेका छोरा एयरपोर्टमा हाउसकिपिङको काम गर्छन् । तर, अहिलेसम्म पैसा पठाउन सकेका छैनन् । ‘फोन गरेर म यहाँ बस्नै सक्दिनँ भन्छ,’ उनी भन्छिन्, ‘बाध्यताले नै उसले पनि त्यहाँ काम गरिरहेको छ ।’

वैदेशिक रोजगारीमा गए पनि तामाङको परिवारको आर्थिक हैसियत बढ्न सकेन । ऋणको भारी कम भएको छैन । उनी अहिले गाउँमै कुखुरा पालेर बसेकी छन् । बाँच्न पाउनु नै आफ्ना लागि ठूलो उपलब्धिजस्तो लाग्न थालेको छ उनलाई ।

०००

दुई लाख रुपैयाँ खर्च गरेर भारत हुँदै कञ्चनपुरकी सीता लामिछाने १३ वर्षअघि लेबनान पुगेकी थिइन् । घरेलु कामदारका रूपमा गएकी उनी तीन वर्ष जसोतसो काम गरेर फर्किइन् । फर्कने बेला उनले चार महिनाको तलब पाइनन् । तलब नै माया मारेर उनी स्वदेश फर्कन बाध्य भइन् ।

घरको आर्थिक अवस्था सुधार्न लेबनान पुगेकी उनले त्यहाँ चरम यातना पाइन् । नेपाल फर्कन खोज्दा पनि उनलाई फर्कन दिइएन । अन्ततः आफैँले पाँच सय डलर दिएर टिकट काट्न लगाई उनी नेपाल फर्किन् । कतिपल्ट नेपालबाट टिकट काटिदिन्छौँ भन्दा पनि उनलाई घरमालिकले अनुमति दिएनन् । ती दिन सम्झँदा उनलाई कैदी भएर बसेजस्तो लाग्छ ।

‘अब कहिल्यै विदेश जान्नँ भनेर बल्लबल्ल नेपाल फर्किएँ, अब मलाई विदेश जानुछैन,’ लामिछाने भन्छिन् । अहिले उनी किराना पसल चलाउँछिन् । कुनै यातनाविनै जीवन चलेकै छ । अचेल उनी समय निकालेर महिलालाई विदेश जाँदाका जोखिमबारे सचेतना दिने काम पनि गर्छिन् ।

०००

उप्रेती, मोक्तान, तामाङ र लामिछानेजस्तै वैदेशिक रोजगारीमा जाँदा यातना खेप्नेहरू अहिले गाउँगाउँमा भेटिन्छन् । सबैको आकर्षण बनेको वैदेशिक रोजगारीका अँध्यारा पाटा धेरै छन् । राम्रो लगाउने र मीठो खाने सपना बोकेर वैदेशिक रोजगारीमा गएका धेरै नेपाली त्यही सपनाको भारीले च्यापिने गरेका छन् ।

नेपाली अर्थतन्त्रलाई रेमिट्यान्सले धानिरहेको भए पनि त्यसले समाजमा पारेको नकारात्मक प्रभाव र वैदेशिक रोजगारीका पीडाबारे बिरलै बहस हुने गर्छ । वैदेशिक रोजगारीमा जाने महिलाको स्थिति त अझ भयावह छ ।

विशेषगरी असंगठित तवरले दलालमार्फत घरेलु कामदारका रूपमा खाडी मुलुक पुग्ने महिला हिंसाको सिकार हुने गरेका छन् । अशिक्षा, बेरोजगारी र स्रोतको असमान वितरणलगायत कारण ग्रामीण भेगका धेरै महिला दलालमार्फत विदेश पुग्छन् र यस्ता हिंसामा फस्छन् । त्यसबाट निस्कन उनीहरूलाई पूरै जीवन लाग्छ ।

घरेलु कामदारका रूपमा विदेशमा यातना भोगेर आउने महिलाको संख्या धेरै रहेको वैदेशिक रोजगारीमा हिंसा भोगेर आउने महिलाका लागि कार्यरत संस्था पौरखी नेपालकी मञ्जु गुरुङ बताउँछिन् । उनले डेढ दशकदेखि वैदेशिक रोजगारका समस्याबारे काम गरिरहेकी छन् ।

गुरुङका अनुसार महिलाले मानसिक र शारीरिक दुवै खाले पीडा भोग्ने गरेका छन् । कतिपय भने मानसिक समस्याले ग्रस्त भएर आउँछन् । यौन शोषणमा पर्नेको अवस्था सबैभन्दा नाजुक हुने गर्छ । मालिकले बलात्कार गरेर कतिपय घरेलु कामदार महिलालाई गर्भवती बनाएका घटना पनि छन् । वैदेशिक रोजगारीमा जानेमध्ये हरेक १० जनामा दुई नेपालीले कुनै न कुनै खाले यातना भोगिरहेको पौरखीकी गुरुङ बताउँछिन् ।

०००

गुरुङका अनुसार अचेल हरेक दश नेपालीमध्ये तीनले वैदेशिक रोजगारीका लागि प्रक्रिया सुरु गरिरहेका हुन्छन् । वैदेशिक रोजगारीमा गएका १० मध्ये दुई विभिन्न खाले पीडामा परेका हुन्छन् ।

पौरखी नेपालका अनुसार कतिपय महिलालाई एयरपोर्टमा आउँदाआउँदै प्रसूति व्यथा लागेर अस्पताल पु¥याउनुपर्ने अवस्था समेत छ । खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला घरेलु तथा यौन हिंसाको सिकार हुने गरेका छन् । नबुझीकन धेरै पैसा कमाउने लोभले दलालको पछि लागेर अवैध रूपमा विदेश जानेले दुःख पाउने गरेको गुरुङ बताउँछिन् ।

वैदेशिक रोजगारीमा यातना खेप्नेमध्ये कतिपयले छोटो समयका लागि आफ्नो स्मरणशक्ति समेत गुमाउने गरेका छन् । सरकारी बेवास्ताले वैदेशिक रोजगारीका समस्या समाधान हुन सकेका छैनन् । श्रम सम्झौता नभएका मुलुकमा पनि नेपाली महिला कामका लागि गएका छन् ।

‘माइती दह्रो भयो भने घरकाले हेप्न सक्दैनन् भन्ने उखान जस्तै राज्य बलियो भए अरुले हेप्न सक्दैनन्,’ उनी भन्छिन्, ‘जुन ठाउँमा राज्यको उपस्थिति हुनुपर्ने हो, त्यही कमजोर भएपछि यस्तै समस्या आइरहन्छन् ।’

केही वर्षअघि लिबियामा द्वन्द्व हुँदा त्यहाँका नेपालीलाई उद्धार गर्न भारतलाई गुहार्नुपरेको थियो । वैदेशिक रोजगारीमा जाने महिला कामदारले आफ्नो अधिकार सुरक्षित गर्न सकेका छैनन् ।

वैदेशिक रोजगारका लागि जानेले बुझेर सबै कागजात हेरी मात्र जानुपर्ने गुरुङको सुझाव छ । आफू नै बलियो भयो र आवश्यक सबै जानकारी पाउन सक्यो भने मात्र समस्यामा पर्दा के गर्ने भन्ने थाहा हुने गुरुङ बताउँछिन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...