५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तानविरुद्ध श्रीलंकाको क्लिन स्विप

दुबई– अफ स्पिनर दिलरुवान परेराले ५ विकेट लिएपछि पाकिस्तानमाथि ६८ रनको विजय हासिल गरेको श्रीलंकाले दुई खेलको टेस्ट शृंखला २–० ले क्लिन स्विप गरेको छ ।
परेराले ९८ रन दिएर ५ विकेट लिएपछि ३ सय १७ रनको कठिन लक्ष्य पछ्याएको पाकिस्तानले दुबई रंगशालामा २ सय ४८ रन जोड्दा सबै विकेट गुमायो । १ सय १२ रन बनाएका असद सफिकले कप्तान सरफराज अहमदसँग छैटौं विकेटका लागि १ सय ७३ रनको साझेदारी गर्दै पाकिस्तानको आशा जीवित राखे पनि जित दिलाउन सकेनन् । असद र सरफराजको साझेदारी टुटेपछि श्रीलंका जिततर्फ लम्किएको थियो ।
पकिस्तानले युनाइटेड अरब इमिरेट्स (युएई) मा टेस्ट शृंखला गुमाएको यो पहिलो हो । अबुधावीमा सम्पन्न पहिलो टेस्टमा पनि पाकिस्तान २१ रनले पराजित भएको थियो । पछिल्लो सात वर्षदेखि युएईलाई घरेलु मैदान बनाएको पाकिस्तानले यसअघिको ९ शृंखलामध्ये ५ मा जित र ४ टेस्ट शृंखला बराबरीमा चित्त बुझाएको थियो ।
२००९ मा लाहोरमा श्रीलंकाको टोली चढेको बसमाथि आतंककारी हमला भएपछि पाकिस्तानले युएईलाई घरेलु मैदान बनाउँदै आएको छ । २००७ मा दक्षिण अफ्रिकासँग पराजित भएपछि पाकिस्तानले घरेलु मैदानमा हारेको पनि यो पहिलो हो । पाकिस्तानको टेस्ट इतिहासमा ह्वाइट वास भएको यो दोस्रो पटक हो ।
केही महिनाअघि भारतसँग ३–० ले शृंखला गुमाएको श्रीलंकाका कप्तान दिनेश चण्डीमलले टिमको मिहिनेतले जित सम्भव भएको बताए । ‘अभ्यास सत्रमा उनीहरूले मन, मुटु लागएर खेले,’ श्रीलंकाका कप्तान चण्डीमलले भने, ‘भारतविरुद्धको शृंखला निकै पीडादायी रह्यो र त्यसबाट हामीले धेरै सिक्यौं । खेलाडीहरूले यस शृंखलामा खेलयोजनालाई राम्रोसँग कार्यान्वयन गरे । आज दिलरुवान र रंगना हेराथले हाम्रो जिम्मेवारी पूरा गर्नेमा हामी विश्वस्त थियौं ।’
पाकिस्तानका कप्तान अहमदले शृंखला गुमाएकोमा पछुतो माने । उनले भने, ‘हाम्रा लागि यो शृंखला दुखद रह्यो । दुवै खेलमा हामी झीनो अन्तरले पराजित भयौं । हामीले राम्रो क्रिकेट खेल्न सकेनौं, त्यसैले हामीले शृंखला गुमाउनुप¥यो ।’
नवौं विकेटका रूपमा सुरुंगा लकमलले सफिकलाई स्पेलमा कुशल मेन्डिसमार्फत क्याच गरेपछि पाकिस्तानको सम्भावना कमजोर बनेको थियो । २ सय ५३ मिनेट क्रिजमा बिताएका सफिकले १० चौका प्रहार गरे पनि पुनः एक पटक पाकिस्तानलाई हारबाट जोगाउन चुके । गत वर्ष व्रिसबेनमा अस्ट्रेलियाविरुद्ध पनि उनी १ सय ३७ रन बनाएर अन्तिम विकेटका रूपमा आउट भएका थिए ।
पाकिस्तानले १९८–५ को स्थितिबाट पाँचांै तथा अन्तिम दिन सुरु गरेको थियो । पाँचौं दिनको शुरुआत गर्दा सफिक ८६ र अहमद ५७ रन बनाएर क्रिजमा थिए । अन्तिम दिनमा पाकिस्तानलाई जितका लागि थप १ सय १९ रन आवश्यक थियो । श्रीलंकाका दुई बलरलाई दबाबमा पनि राखेका थिए । तर अन्ततः परेराले अहमदलाई फाइन लेगमा नुवान प्रदीपमार्फत क्याच गराउँदै दुईको साझेदारी तोडेका थिए । अहमदले १ सय ३० बलमा पाँच चौका प्रहार गरे । त्यसपछि सफिकले परेराको बलमा एक रन जोड्दै शतक पूरा गरे । परेराकै बलमा दिमुथ करुणारत्नेले क्याच छुटाएपछि सफिकले जीवनदान पाएका थिए । परेराले मोहम्मद आमिर (४) लाई एलबिडब्लु आउट गर्दै पाँच विकेट पूरा गरे । यासिर शाह (५) र वाहब रियाज (१) लाई हेराथले क्रमशः निरोशन डिकवेला र चण्डीमलमार्फत क्याच गरे ।
दिमुथ करुणारत्नेले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै १ सय ९६ रन बनाएपछि पहिलो इनिङमा ४ सय ८२ रन बनाएको श्रीलंकाले २ सय २० रनको अग्रता लिएको थियो । पाकिस्तानले पहिलो इनिङमा २ सय ६२ रन मात्र जोड्न सकेको थियो ।

प्रकाशित: २५ आश्विन २०७४ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App