१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मिलेर अघि बढ्न राष्ट्रपतिको आग्रह

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दललाई मिलेर अघि बढ्न आग्रह गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा दीपावली तथा छठ पर्वका अवसरमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपतिले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गरेर राष्ट्रय एकता र सद्भाव अझ बलियो बनाउन दलहरु अग्रसर हुने विश्वास व्यक्त गरिन्।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि पहिलो पटक संविधानसभा र प्रदेशसभाको निर्वाचन हुन गइरहेको भन्दै राष्ट्रपतिले सबै दल मिलेर निर्वाचन सम्पन्न गराउन लाग्नुपर्नेमा जोड दिइन् । ‘राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गर्नुभएको छ,’ कार्यक्रममा सहभागी भएपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘उहाँले पार्टीबीच एकता हुँदै जानुलाई लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक पक्षका रुपमा लिनुभएको छ।’

कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले आसन्न निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न दलहरु मिलेर अग्रसर हुने विश्वास राष्ट्रपतिले व्यक्त गरेको बताए । ‘सबै शक्ति मिलेर निर्वाचन सम्पन्न गरी संक्रमणकाल टुंगोमा पु¥याउन राष्ट्रपतिले दलहरुलाई आग्रह गर्नुभएको छ,’ उनले पत्रकारसँग भने, ‘उहाँको चासो निर्वाचन शान्तिपूर्णरुपमा होस् र संक्रमणकाल छिटो अन्त्य होस्, मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढोस् भन्ने छ।’

राष्ट्रपतिले राष्ट्रिय एकताबाट मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सबै पार्टीले ध्यान दिनुपर्ने र आसन्न निर्वाचन सबै पार्टी र सरकार मिलेर स्वच्छ निष्पक्षरुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी थिए ।

 

प्रकाशित: ३१ आश्विन २०७४ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App