१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रविधि

स्मार्ट टेलिकमले ल्यायो फोरजी

काठमाडौं – निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी¬) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी हालसम्म कै उच्चगतिको फोरजी सेवा सञ्चालन गर्न लागेको जानकारी गराइयो।

‘हामीले भोलि (आइतबार) देखि फोरजी सेवा सञ्चालनमा ल्याउन लागेका छौं, स्मार्ट टेलिकमका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले भने, ‘हामीले सफ्ट लन्चका रुपमा काठमाडौं र पोखरामा फोरजी सुरु गर्दैछौं ।’ 
स्मार्ट टेलिकमले ल्याउन लागेको फोरजी हालसम्मकै उच्च गतिको हुने राजभण्डारीले दाबी गरे । उनका अनुसार स्मार्टले सञ्चालन गर्न लागेको फोरजी १० मेगाहर्जमा ७० एमबी प्रतिसेकेन्ड हुनेछ । ‘हाम्रो सेवालाई नेपाली टेलिकम क्षेत्रको त्रुटिरहित, गुणस्तरीय र इन्टरनेटको अद्भुत आनन्द दिने सेवाका रुपमा अघि बढाउन प्रतिबद्ध छौं,’ राजभण्डारीले पत्रकारमाझ भने, ‘हामीले दिने फोरजी मुलुककै अहिलेसम्मको तीव्र गतिको हुनेछ।’

यसअघि नेपाल टेलिकम र एनसेलले फोरजी सेवा सञ्चालनमा ल्याइसकेका छन् । स्मार्ट टेलिकम फोरजी सञ्चालनमा ल्याउन तेस्रो दूरसञ्चार कम्पनी बनेको छ। 

फोरजी सञ्चालनका लागि प्राविधिक रुपमा सम्पूर्ण तयारी पूरा भइसकेको र हाल एक महिनाको लागि परीक्षणका रुपमा सञ्चालन गर्न लागेको कम्पनीले जानकारी गरायो । एक महिनाको परिक्षणकालपछि व्यावसायिक सुरुवात गर्ने जनाएको छ । व्यावसायिक थालनीसँगै स्मार्टले फोरजी सेवालाई काठमाडौं, पोखरासहित नेपालगन्ज, चितवन र वीरगन्जमा सुरु गर्ने भएको छ।  

फोरजी सुरुवातसँगै स्मार्टले अफरसमेत घोषणा गरेको छ । उसले जुनसुकै नेटवर्कभित्र प्रतिसेकेन्ड एक पैसामा कल गर्न सकिने जनाएको छ । त्यस्तै, एक महिनाका लागि भाइबर र ह्वाट्स एपमा निःशुल्क कल गर्न सकिने छ । स्मार्टले ल्याएको अर्को अफरमा एक जिबी डाटा दुई सय ३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सकिनेछ भने एक सय ४५ रुपैयाँमा सात सय ५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । ८५ रुपैयाँमा पाँच सय एमबी डाटा सात दिनसम्म र १५ रुपैयाँमा ७५ एमबी डाटा एक दिनका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएका छ।   

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ ७ गते फोरजी सञ्चालन गर्न अनुमति दिएको थियो । प्राधिकरणले असार १५ गतेदेखि फोरजी सञ्चानमा ल्याउन समयसीमा तोके पनि स्मार्टले तोकिएभन्दा ढिलो गरी फोरजी सञ्चालनमा ल्याएको हो।  
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस रिपोर्ट अनुसार स्मार्ट टेलिकम बजार हिस्सा पाँच प्रतिशत ओगट्दै तेस्रो ठूलो दूरसञ्चार कम्पनीका रुपमा रहेको छ । कम्पनीका अनुसार हाल यस कम्पनीले देशका ३५ जिल्लाका करिब १५ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

२०६५ वैशाखमा स्थापना भएको स्मार्टले २०७० वैशाखमा प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवा सञ्चालनको अनुमतिपत्र पाएको थियो। 

कम्पनीका अनुसार तीन करोड चुक्ता पुँजी भएको स्मार्ट टेलिकममा हाल सात अर्ब लगानी रहेको छ भने थप डेढ अर्ब रुपैयाँ लगानी थप्ने योजना छ । यस कम्पनीमा काजाकस्तान कम्पनीको ८० प्रतिशत र नेपाली व्यवसायीको २० प्रतिशत लगानी छ । जस अनुसार लाल साहु होल्डिङको ५० प्रतिशत, कोस्बो इन्भेस्टमेन्ट लिमिटेडको३० प्रतिशत र स्क्वायर नेटवर्कको २० प्रतिशत सेयर छ।  

यसअघि नेपाल टेलिकम र एनसेलले फोरजी सेवा सञ्चालनमा ल्याइसकेका छन् । नेपाल टेलिकमले गत पुस १७ गतेबाट काठमाडौं उपत्यका र पोखराका क्षेत्रमा फोरजी सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी, जेठ १८ गते काठमाडौं उपत्यका, नगरकोट, बनेपा र धुलिखेलबाट फोरजी सञ्चालनमा ल्याएको एनसेलले आफ्नो फोरजी सेवा विस्तार गर्दै मुलुकका १९ प्रमुख सहरमा पुर्‍याइसकेको छ। 

मुलुकमा नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमबाहेक अन्य तीन दूरसञ्चार कम्पनीहरू युनाइटेड टेलिकम युनाइटेड (युटिएल), एसटिएम टेलिकम, र नेपाल स्याटेलाइट सञ्चालनमा छन् ।

प्रकाशित: १२ कार्तिक २०७४ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App