१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थापालाई युइएफएको छात्रवृत्ति

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर कुमार थापाले युरोपेली फुटबल महासंघ (युइएफए) को प्रतिष्ठित युइएफए एमआइपी कोर्स गर्न पाउने भएका छन्। 

युइएफए एक्जुकेटिभ मास्ट र फर इन्टरनेसनल प्लेयर्स कोर्सका लागि छानिने थापा एसियाबाटै एक्लो हुन् । अन्तर्राष्ट्रिय पूर्वखेलाडीको सशक्तीकरणका लागि उनीहरूलाई प्रशासन र व्यवस्थापनमा पोख्त बनाउने उद्देश्यका साथ युइएफएले कोर्स गराउन लागेको हो । दुईवर्षे कोर्सका लागि थापालगायतका विभिन्न देशबाट छानिएका अन्तर्राष्ट्रिय पूर्वखेलाडीहरूले स्विट्जरल्यान्डको नियोन, फ्रान्सको पेरिस, बेलायतको लन्डन, स्पेनको बार्सिलोना, नेदरल्यान्ड्सको एम्सटरडम, जर्मनीको डर्टमन्ड र अमेरिकाको न्युयोर्क भ्रमण गर्नेछन्। 

युइएफएको छात्रवृत्ति पाए पनि थापाले यातायात तथा खाने बस्ने व्यवस्था आफैं मिलाउनुपर्छ ।

फ्रान्सको युनिभर्सिटी अफ लिमोगेस र बेलायतको युनिभर्सिटी अफ लन्डनले संयुक्त रूपमा सञ्चालन गर्ने कोर्सका लागि विश्वभरबाट २५ जना अन्तर्राष्ट्रिय पूर्वखेलाडी छानिएका छन् । त्यसमा थापाले कोलो टाउरे, गाइज्का मेन्डिएटा, म्याक्सवेल शेरर, क्याबेलिनो एन्ड्राडे, गिल्बर्टो सिल्भालगायतका पूर्व सुपरस्टारसँग कोर्स गर्नेछन् । यही कोर्सको पहिलो ब्याचमा बार्सिलोनाका पूर्वस्टार इरिक एबिडाल, स्विट्जरल्यान्डका अन्तर्राष्ट्रिय पूर्वखेलाडी प्याट्रिक मुलर, बोरुसिया डर्टमन्डका पूर्वस्टार सेबास्टिन केहललगायतले सहभागिता जनाएका थिए। 

‘युइएफए एमआइपी मैदानमा टिमलाई सफलता दिलाएका खेलाडीलाई मैदानबाहिरबाट फुटबल अघि बढाउन पोख्त बनाउने कोर्स हो,’ मनाङ मस्र्याङ्दी क्लब र सशस्त्र प्रहरी बलको एपिएफबाट व्यावसायिक फुटबल खेलेका थापाले भने, ‘खेलाडीका रूपमा जति राम्रो भए पनि खेल्न छोडेपछि व्यवस्थापनमा त्यो क्षमता खेलाडीमा नहुन सक्छ । त्यसैले युइएफएले यो कोर्सको अवधारणा ल्याएको हो । सफल खेलाडीलाई सफल प्रशासक र सफल व्यवस्थापकमा रूपान्तरण गर्ने यो कार्यक्रममा छानिएकोमा निकै खुसी छु।’

फुटबल विश्लेषक नवीन पाँडेले कोर्सका लागि २७ हजार युरोबराबरको छात्रवृत्ति पाएकोमा थापालाई बधाई दिए । फुटबलकर्मीहरूलाई शिक्षित गर्नुपर्नेमा जोड दिँदै पाँडेले भने, ‘नेपाली फुटबलको विकासमा यस्तो अवसरले ठूलो सहयोग पुग्नेछ । फुटबललाई माया गर्ने हामी सबैले आआफ्नो ठाउँबाट  व्यक्तिगत प्रयासमै पनि धेरै गर्न सक्छौं । थापाले पाएको यो अवसरले हामी नेपाली पनि अन्तर्राष्ट्रिय समुदायसँग प्रतिस्पर्धा गर्न सक्छौं भन्ने प्रमाणित भएको छ।’

पाँडेले आफूलगायतका केही साथीहरू मिलेर थापाको हवाई टिकटको व्यवस्था मिलाएको जानकारी गराउँदै उनलाई जर्मनीको बायर्न म्युनिख क्लबमा विशेष व्यवस्था गरेको बताए । साथमा थापाको सहयोगका लागि काठमाडौं जिल्ला खेलकुद विकास समितिको एउटा खाता खोलेको जानकारी गराउँदै उनले आर्थिक सहयोग गर्न फुटबलप्रेमीमाझ आह्वान गरे। युइएफएको छात्रवृत्ति पाए पनि थापाले यातायात तथा खाने बस्ने व्यवस्था आफैं मिलाउनुपर्छ । कोर्सका लागि शुक्रबार स्विट्जरल्यान्डको नियोन जाने तयारीमा रहेका थापालाई अखिल नेपाल फुटबल संघ, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्लगायतका संस्थाले कुनै सहयोग नगरेको उनले बताए । थापा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हुन्। 

काठमाडौं जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बद्री भट्टराईले कोर्समा थापालाई सफलताको शुभकामना व्यक्त गरे। 

प्रकाशित: २२ कार्तिक २०७४ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App