१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

शंकटमा युडिटिसीको भविश्य

काठमाडौं- केही महिनाअघि आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको खेलका लागि हङकङ उडेको नेपाली टोलीका लागि भ्रमण सुखद हुन सकेन । तर तिब्र गतिका बलर करण केसीको प्रदर्शनले दर्शकको मन जित्यो । निकै अनुसासित बलिङ गरेका उनले प्रतियोगितामै उत्कृष्ट लयमा रहेका ब्याट्सम्यान अंशुमन रथलाई पवेलियनको बाटो देखाएका थिए । त्यसअघि पञ्चकन्या तेजले एभरेष्ट प्रिमियर लिगको उपाधि जित्दा पनि करणले टोलीमा महŒवपूर्ण योगदान गरेका थिए । भविष्यका लागि पनि राष्ट्रिय जर्सीमा आफ्नो स्थान सुरक्षित गरेका करण पोखराबाट उदाएका खेलाडी हुन् ।
शहरी विकाश ट्रेनिङ सेन्टर(युडिटिसी), जहाँ उनले आफ्नो कला र सिप निखारेका थिए । युडिटिसी पोखराको मुटुमा छ । जहाँ अहिले प्रदेश तथा संघीय सभाको मन्त्रीहरुका लागि आभास गृह बनाउने तयारी भइरहेको छ । शहरको मध्यभागमा रहेकाले पनि त्यहाँ मुख्य मन्त्रीलगायत अन्य प्रदेश मन्त्रीका सरकारी निवास बनाउन सबैको आँखा गाडिएको छ । पोखरा महानगरपालिका स्रोतका अनुसार ‘यसअघि बनेका भौतिक संरचना (स्टाफ क्वार्टर, क्यान्टिन, होस्टेल, अभ्यास कक्ष, आदी)ले पनि यो स्थानलाई पहिलो रोजाईमा राखेको छ ।’ जिल्ला विकास कार्यालय पनि चुनाव पछि मुख्यमन्त्रीको कार्यालय स्थापना गर्न यसलाई सर्वोत्तम विकल्प मान्छ ।
राष्ट्रिय टोलीका प्रतिभाशाली बलर करण यसै मैदानबाट क्रिकेटरका रुपमा हुर्किएका हुन् । युडिटीसीमै भर्खरै पोखराको पहिलो प्रिमियर क्रिकेट प्रतियोगिता माछापुच्छ«े क्रिकेट लिग भएको थियो । त्यसअघि राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता र यु–१९ राष्ट्रिय प्रतियोगिता पनि यो मैदानले आयोजना गरिसकेको छ । यही मैदानले दृष्टिविहीन क्रिकेट खेलाडीहरुका लागि पनि प्रतियोगिता गरिसकेको छ । दृष्टिविहीन राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना विश्वकप क्रिकेटमा सहभागिता जनाउँदैछ ।
स्याङ्जा, तनहुँ, लमजुङ, बाङलुङ, म्याग्दी तथा कास्की जिल्लाका क्रिकेट खेलाडीको प्रतिभा निखार्न वा अभ्यास गर्न यो मैदान ‘हब’का रुपमा स्थापित भएको थियो । पोखरामा भएको अर्को एकमात्र क्रिकेट मैदान पोखरा रंगशाला हो । रंगशालाको जग्गाको स्वामित्वलाई लिएर क्रिकेट संघ र जिल्ला खेलकुद विकास समितीबीच विवाद जारी छ । रंगशालाको पिच क्रिकेट खेल्नका लागि उपयुक्त पनि छैन ।
युडिटिसी मैदानमा करणले पछिल्लो समय क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका थिए । ‘पहिले यहाँ मैले अभ्यास गर्थे । पछि यही क्रिकेट ऐकेडेमी सञ्चालन गर्ने सोच बनाए । यसमा मैले धेरै समय, पैसा र मिहिनेत लगाएको छु । एकेडेमी पनि अहिले राम्रो चलिरहेको छ । खेलाडीको संख्या बढ्दो क्रममा छ,’ नियमित हुने वर्षाका कारण इन्डोर सुविधासहित उच्च स्तरको एकेडेमी निर्माण गर्ने योजनामा रहेका बलिङ अलराउन्डर करणले थपे, ‘तर, सरकारी संरचना बनाउन यो जग्गा प्रयोग हुने भएपछि हाम्रो सबै योजना र यहाँ अहिलेसम्म गरेका सबै मिहिनेत व्यर्थ हुने भयो । जसले हामीलाई धेरै निराश बनाएको छ ।’
‘बेलायतबाट फर्किएपछि मैले कास्की जिल्ला क्रिकेट संघलाई यो मैदान क्रिकेट प्रयोजन( क्रिकेट एकेडेमी स्थापना गरी नियमित प्रतियोगिता गराउन)का लागि मात्र प्रयोग आग्रह गरे । तर, उनीहरुले लगानी गर्न मानेनन् । नियमति क्यालेन्डर नभएको भन्दै उनीहरु पन्छिए,’ बेलायतको केन्टस्थित ब्ल्याकहेल्थ क्लबमा अभ्यास गरेर फर्किएका पोखरा क्षेत्रका कप्तान दीपेश खत्रीले भने । पछि दीपेशकै नेतृत्वमा उक्त मैदानको मर्मत गरेर खेल्न योग्य बनाइयो । तर दीपेश र कास्की क्रिकेटबीचको मनमुटावका कारण मैदानमा भाडामा दिन बन्द भयो । लामो समयपछि माछापुच्छ«े क्रिकेट क्लबले १ लाख ५० हजार रुपैयाँ तिरेर भाडामा लिँदै क्रिकेट लिग सञ्चालन ग¥यो ।
स्थानिय विकास प्रशिक्षण केन्द्रका निर्देशक कृष्ण चन्द्र ढकालले सरकारको निर्णयमा मैदानको भविश्य भर पर्ने बताए । ‘मैदान भाडामा दिने हाम्रो कुनै नीति छैन । त्यस्तो कुनै कानुन छैन । यसको भविश्य क्याबिनेटले निर्णय गर्छ,’ निर्देशक भण्डारीले थपे ।
पछिल्लो घटनाक्रमबाट निराश बनेका करणले त्यहाँ क्रिकेट एकेडेमी चलाएर पोखरामा युवा खेलाडी उत्पादन गर्नेसपना मर्न नदिन सबै प्रयास गरिरहेका छन् । ‘केही गरु भनेर सब प्रयास गरँे । हेर्दा हेर्दै सबै हातबाट फुत्किदैछ । सरकार सहयोगी बन्न सक्छ  । तर म सरकारसँग लड्न सक्दिन ।’
‘नजिकिदो प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा राजनीतिक दल खेलकुद पूर्वाधार विकाससहितको घोषणा पत्र लिएर चुनावी मैदानमा होमिएका छन् । तर सञ्चालनमा रहेको क्रिकेट मैदानको कुनै विकल्प नदिई सरकारी भवन बनाएर खेल क्षेत्रको विकास हुन सक्दैन,’ उनी गुनासो गर्छन ।

प्रकाशित: २५ कार्तिक २०७४ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App