१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तारेभिरमा मन्त्रीको चुनाबी घरदैलो

सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत (दायाँबाट दोस्रो)। फाइल तस्विर

काठमाडौं—सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गोकर्णेश्वर महादेव मन्दिर र पञ्चकन्याको पूजा गरी चुनावी घरदैलो अभियान शुरु गरेकी छिन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसबाट काठमाडौँ क्षेत्र नं. ३ की उम्मेदवारसमेत रहेकी उनले आज बिहान गोकर्णेश्वर मन्दिर र पञ्चकन्याको पूजा गरी गोकर्णेश्वर नगरपालिका–३ तारेभिरबाट घरदैलो अभियान शुरु गरेकी हुन्।

उपत्यकाभित्रै भए पनि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको दुर्गम गाउँ भएकाले विकास निर्माण र रोजगारीका दृष्टिले तारेभिर पछि परेको स्थानीयवासीको गुनासो थियो। चुनावी अभियान शुरु गर्नुहुँदै मन्त्री बस्नेतले उपत्यकाभित्रै भए पनि गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आफू राजनीतिमा लागेको बताए।

'बेरोजगार रहेका युवालाई युवा स्वरोजगार कोषबाट सहकारीमार्फत रु दुई लाख दिएर उद्यम गर्ने व्यवस्था गरिएको छ, मन्त्रालयले यो कार्यक्रमलाई अझ सहज बनाउने योजना बनाएको छ', उनले भने।

वाम गठबन्धनमा आबद्ध दलले उपत्यकाका दुर्गम गाउँलाई मत बैंकका रुपमा प्रयोग गरेर जनतालाई धोका दिने गरेको मन्त्री बस्नेतको आरोप थियो। गरिबको दल भनी नेपालका कम्युनिष्ट पार्टीले गरिबीमाथि नै राजनीति गरिरहेको उनले आरोप लगाए।

कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति एवम् गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले निकुञ्जसँग जोडिएका नगरपालिकाका वडामा विशेष विकास निर्माणको योजना ल्याउने गृहकार्य भइरहेको जानकारी दिए।

चुनावी अभियान शुरुवात समारोहमा क्षेत्र नं ३ को प्रदेशसभा (क) का उम्मेदवार छिरिङदोर्जे लामा र प्रदेशसभा (ख) का बिमल ठकुरी, काँग्रेस गोकर्णेश्वर नगर समिति सभापति श्रीकृष्ण ज्योति, क्षेत्रीय सचिव सुशील सिम्खडा लगायतले उपत्यकाकै दुर्गम गाउँलाई सहज रुपमा विकास निर्माण गर्न सक्ने नीति निर्धारण गर्न प्रदेशसभा र प्रतिनिधिसभामा काँग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए।

 

प्रकाशित: २९ कार्तिक २०७४ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App