१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पेरू छनोट हुने अन्तिम टोली

लिमा- न्युजिल्यान्डमाथि २–० को विजय हासिल गर्दै पेरूले १९८२ पछि पहिलो पटक बुधबार (नेपाली समयअनुसार बिहीबार बिहान) विश्वकप २०१८ को टिकट काटेको छ । जेफर्सन फार्फान र क्रिस्टियन रामोसको गोलमा ओसियानाको प्रतिनिधि न्युजिल्यान्डमाथि अन्तरमहादेशीय प्लेअफमा विजय हासिल गरेपछि पेरू अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने अन्तिम टोली बनेको हो ।
पेरूको छनोटपछि रूस विश्वकपमा खेल्ने सबै ३२ टोलीको टुंगो लागेको छ ।
पेरूलाई विश्वकप इतिहासमा पाँचौं तथा पछिल्लो ३५ वर्षमा पहिलो पटक छनोट गराउन बिहीबार फार्फानले २७औं मिनेटमा अग्रता दिलाएपछि रामोसले ६५औं मिनेटमा अर्को गोल गरेका थिए ।
‘यो हाम्रा लागि अत्यन्तै भावनात्मक सफलता हो । हामीले पेरूको फुटबलमा अर्को एउटा सुनौलो इतिहास बनाएका छौं,’ विश्वकपलाई छानिएको खुसीमा रोइरहेका मिडफिल्डर क्रिस्टियन कुइभाले भने, ‘हामीले लामो समयदेखि विश्वकप छनोटमा असफलता भोग्दै आएका थियौं । सानो बालक हुँदादेखि मलाई पेरू विश्वकपमा छनोट भएको हेर्ने रहर थियो । आज आफै खेलाडी हुँदा त्यो पूरा भएको छ । अब हामी केही दिन मजाले यसको खुसी मनाउने छौं ।’
अन्तरमहादेशीय प्लेअफको शनिबार वेलिङ्टनमा सम्पन्न पहिलो लेग गोलरहित बराबरीमा टुंगिएपछि लिमाको इस्टेडियो नेसनलमा बिहीबार भएको दोस्रो लेग निर्णायक बनेको थियो ।
घरेलु मैदानमा सम्पन्न निर्णायक खेलमा सफलता हासिल गरेपछि पेरूका राष्ट्रपति पेड्रो पाब्लो कुस्जिन्स्कीले ट्विटरमा लेखेका छन्, ‘हामीले विश्वकपमा फेरि खेल्न ३५ वर्षभन्दा लामो प्रतीक्षा गरेका थियौं । हामीलाई यो खुसी दिएकोमा मैदानका लडाकूहरूलाई धन्यवाद छ ।’
फिफा विश्ववरीयताक्रमको १ सय २२औं स्थानमा रहेको न्युजिल्यान्ड तेस्रो पटक विश्वकपलाई छानिने लक्ष्यसहित लिमा भ्रमणमा निस्केको थियो । न्युजिल्यान्डले यसअघि १९८२ र २०१० को विश्वकप खेलेको थियो ।
‘मलाई टोलीप्रति गर्व छ । सबैले हाम्रा खेलाडीमाथि गौरव गर्नुपर्छ । किनकि केटाहरूले निकै राम्रो गरिरहेका छन् । आज उनीहरूले निकै माथिल्लो स्तरको फुटबल खेलेका थिए,’ न्युजिल्यान्डका प्रशिक्षक एन्थोनी हड्सनले भने, ‘हामी यहाँ एउटा ठूलो लक्ष्य लिएर आएका थियौं । यस्तो बेला हाम्रा महत्वपूर्ण खेलाडीहरू घाइते थिए । त्यसैले छनोट हुन नसके पनि मलाई मेरा केटाहरूको प्रदर्शनमा पूर्ण रुपमा सन्तुष्टि छ ।’

प्रकाशित: १ मंसिर २०७४ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App