१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आचारसंहिता नमान्नेलाई कारबाही गर्न आयोगलाई सुझाव

काठमाडौं- पूर्वनिर्वाचन आयुक्त, पूर्व प्रशासक तथा नागरिक समाजका अगुवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार क्रममा विभिन्न पार्टीको उम्मेदवार तथा नेताले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोगले कुनै कारबाही नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

आचारसंहिता उल्लंघन, बढ्दो असुरक्षा, झन्झटिलो मतपत्र र अपर्याप्त मतदाता शिक्षाप्रति चिन्ता ।

उम्मेदवारमाथि शृंखलाबद्ध रुपमा भएका बम आक्रमणका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले सुरक्षा व्यवस्था बलियो बनाउन सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा पूर्व निर्वाचन आयुक्त, पूर्व प्रकाशक र नागरिक समाजका अगुवासँग निर्वाचन आयोगले आइतबार अन्तरक्रिया गरेको थियो । ‘निर्वाचन आचारसंहिता पालना गराउनेलगायतका विषयमा आयोगले आवश्यक निर्णय गर्ने संवैधानिक हैसियत पाएको हुँदा संवैधानिक दायित्वअनुसारको कार्य गरी सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक छ,’ अन्तरक्रिया कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले भने ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले अहिलेको मुख्य विषय सुरक्षा भएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । उनले भने, ‘सुरक्षाको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण आवश्यक छ ।’ बितेको एक सातामा मात्र दर्जनभन्दा बढी ठाउँमा उम्मेदवारमाथि बम आक्रमण भएको छ । ‘निर्वाचन व्यवस्थापनको जिम्मा निर्वाचन आयोगको भए तापनि निर्वाचनको महाअभिया सफल तुल्याउनु हामी सबैको जिम्मेवारी हो,’ कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने ।
अर्का पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बनाएका तीनवटा मतपत्रका कारण मतदाता दोधारमा परेको बताए । ‘यो दोधारमा रहने अवस्था अन्त्य गर्न र मतपेटिका सुरक्षित रुपमा राखेको छ भन्ने प्रत्याभूति मतदाता र उम्मेदवारलाई दिलाउन आवश्यक छ,’ उप्रेतीले भने ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यले निर्वाचन प्रचारप्रसारको शैलीमा सुधार आए पनि बदलिँदो समयअनुसार आचारसंहिता परिमार्जन गर्ने बेला भइसकेको बताए । यस्तै पूर्व मुख्य सचिव डा. विमल कोइरालाले राजनीतिक दलहरुलाई आचारसंहिता पालनाको दायराभित्र ल्याउन आयोग डराउन नहुने बताए । प्राध्यापक कृष्ण खनालले आफ्ना गतिविधि प्रविधिमैत्री बनाई छिटो छरितो रुपमा कार्य सम्पादन गर्न आयोगलाई सुझाव दिए । यस्तै, पूर्वनिर्वाचन आयुक्त डा. रामभक्त ठाकुरले निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा आयोगलाई अडान लिन सुझाए ।
कार्यक्रममा नागरिक समाजका अगुवाहरु प्रा.डा. नोवलकिशोर राई, डा. चन्द्रकान्त ज्ञवाली, दामोदर गौतम, गणेशकुमार मण्डल, कमलेश अग्रवाल, डा. उद्धव प्याकुरेल र डा. इन्द्र अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न र मतदता शिक्षा प्रभावकारी बनाउन आयोगलाई आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न नागरिक समाजलगायत सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘हामी सबै मिलेर निर्वाचन सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्छ ।’ उनले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा आएका सुझावलाई निर्वाचन आयोगले गम्भीरतापूर्वक लिने बताए ।
अन्तरक्रिया कार्यक्रममा आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त यादवका साथै आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह सहभागी थिए ।

प्रकाशित: ४ मंसिर २०७४ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App